जनयुद्धको बन्दुकदेखि पूर्वाञ्चलको कप्तानीसम्म
ताप्लेजुङको दुर्गम गाउँ सुरुमखिमका ६ वर्षे बालक राजन लिम्बू साथीहरूसँग गाउँमा सुत्लीको जाली बुनेर र झुम्रोको बल बनाएर भलिबल खेल्थे । ठूला मान्छेहरूले खेलेको ठाउँमा बल टिपेर बुझाउन पाउँदा मात्रै पनि उनको अनुहारमा खुसीको मुस्कान छाउँथ्यो । तिनै ‘बल बोय’ राजन पछि देशको राजनीति परिवर्तनको युद्ध मैदानमा मात्र होमिएनन्, पूर्वी नेपालको भलिबल क्षेत्रमा १ दशकभन्दा बढी समय कप्तान बनेर एकछत्र राज गरे । जनमुक्ति सेनाकै रूपमा क्याम्पमा जंगल फाँडेर भलिब कोर्ट बनाएर खेल्न राजनले युद्धमै नयाँ नाम पाए, ‘कमरेड मुस्कान’ । उनको यही नाम अहिले भलिबल क्षेत्रमा चम्किलो छ ।
बाल्यकालको ‘सुत्ली नेट’ बनाएर खेलेका राजन
२०४५ साल फागुन १४ गते सुरुमखिम–७, सिद्धिङ्वा ताप्लेजुङमा बुबा श्रीप्रसाद र आमा राम मायाको जेठो छोराका रूपमा जन्मिएका राजनको बाल्यकाल सामान्य र पहाडी संघर्षपूर्ण परिवेशमा बित्यो । ४ भाइ र १ बहिनीमध्ये सबैभन्दा जेठा उनी ४ कक्षामा पढ्दादेखि नै बिहानै उठेर जातोमा मकै पिस्ने, निफोन्ने र खाना बनाउने जिम्मेवारी सम्हाल्थे । बुबा–आमा बिहानै काममा जाने भएकाले घरायसी काम सघाउँदा उनी ६ वर्षको उमेरमा मात्रै स्कुल भर्ना हुन पाएका थिए ।
घरबाट २० मिनेटको पैदल दूरीमा रहेको बुरुमखिम प्राथमिक विद्यालयमा कक्षा ५ सम्मको अध्ययन गर्दा नै उनमा भलिबलको रस बसिसकेको थियो । ‘हामी आफैँ सुत्लीको जाली बुनेर नेट बनाउँथ्यौँ अनि झुम्रोको डल्ला बनाएर भलिबल खेल्थ्यौँ,’ उनी भन्छन्, ‘स्कुल समयपछि र टिफिनमा गाउँले र शिक्षकहरू खेलेको हेर्न पाइन्थ्यो । हामी उहाँहरूले हानेको बल टिपेर ल्याउने काम गथ्र्यौँ । बल टिप्न पाउँदा मात्रै पनि असीम आनन्द मिल्थ्यो ।’
उनको परिवारमा बुबा र २ जना काकाहरू फुटबल र भलिबलका अब्बल खेलाडी थिए । पहाडी भूगोलमा फुटबल मैदानको अभाव र पारिवारिक माहोलका कारण उनले सानैमा भलिबललाई नै आफ्नो मुख्य खेल बनाए । बुरुमखिम प्राविमा पढ्दा टोलीमा मान्छे नपुग्दा कहिलेकाहीँ खेल्न पाउने राजन, १ घण्टाको दूरीमा रहेको बालकल्याण मावि पुगेपछि भने शिक्षकहरूसँग नियमित खेल्न थाले । त्यहीँ शिक्षक चन्द्रनारायण चौधरीले उनको प्रतिभा देखेर सधैँ लिफ्टरको भूमिका दिए ।
युद्ध मैदानदेखि ब्यारेकको खेलसम्म

२०६१ सालमा कक्षा ७ मा पढ्दै गर्दा राजन माओवादी जनयुद्धतर्फ आकर्षित भए । कम्युनिस्ट विचारको पारिवारिक पृष्ठभूमि र गाउँमा सोझासाझा भरियाहरूलाई फटाहाहरूले लुटेको दृश्यले उनको बालमस्तिष्कमा विद्रोहको बीउ रोपेको थियो । ‘थर्पुबाट नुन र चामल बोकेर फर्कँदै गर्दा लुटेराका नाइकेलाई माओवादीले भाटे कारबाही गरेको देखेँ । यसले मलाई झनै प्रभावित बनायो,’ राजन भन्छन्, ‘२०६१ फागुन महिनामा बाटोमै भारी छाडेर पार्टीको सम्पर्कमा हिँडेँ । पछि एरिया इन्चार्जलाई भेटेपछि मिलिसिया हुँदै १ महिनाको सैन्य तालिम लिएर जनमुक्ति सेनामा आबद्ध भएँ ।’ उनले जनयुद्धकालमा जनमुक्ति सेनाको नयाँ जिम्मेवारी मात्रै पाएनन्, आफ्ने नयाँ नाम पनि पाए, ‘कमरेड मुस्कान’ । अहिले उनी खेल क्षेत्रमा राजनभन्दा मुस्कान नामले परिचित छन् ।
भोजपुरको घोडेटार, इलाम सदरमुकाम र मोरङको रमितेको भीषण भिडन्तमा मृत्युलाई नजिकैबाट जितेर फर्किएका उनी युद्ध मैदानमा मात्र होइन, ब्यारेकभित्र पनि भलिबलमै रमाउँथे । २०६२ मा पाँचथरको ओयाम, संखुवासभाको ताम्कु र भोजपुरको तिलखर्कमा उनले जनमुक्ति सेना र सर्वसाधारण सम्मिलित आन्तरिक टुर्नामेन्टहरू खेले ।
२०६३ को शान्ति सम्झौतापछि मोरङको टाडीस्थित १ नम्बर डिभिजन (रत्न शकुन्त ब्रिगेड) क्याम्पमा पुग्दा उनले बसाइ व्यवस्थापनभन्दा पहिले भलिबल कोर्ट बनाए । ‘क्याम्पमा बिजोग तरिकाको बसाइ थियो, तर खेल्न भने मरिहत्ते । हामीले बस्ने ठाउँ राम्रो नबनाई पहिले जंगल फाडेर र खाल्डो पुरेर भलिबल कोर्ट बनाइहालेका थियौँ । अनि २–३ वटा बल ल्याएर खेल्न थाल्यौँ,’ उनी भन्छन् ।
पछि जनमुक्ति सेनाभित्र प्रकाश राई र विकराल राईको नेतृत्वमा पीएलए स्पोट्र्स क्लब गठन भयो । व्यावसायिक प्रशिक्षण पाएपछि राजन १ नम्बर डिभिजनका कप्तान बने । लिब्रो (डिफेन्स) पोजिसनबाट खेल्ने उनी २०६६ को राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै ‘बेस्ट डिफेन्स’ चुनिए ।
टोलीको आवश्यकतामा ‘अलराउन्डर’ र एक दशकको प्रादेशिक कप्तानी

स्वेच्छिक अवकाश लिएपछि खेलकुदलाई नै निरन्तरता दिने निर्णयका साथ उनी मैदानमा फर्किए । पूर्वाञ्चल टिममा सेटरको कमी भएपछि डिफेन्स खेल्ने राजन आवश्यकताअनुसार सेटर बने । ०७० मा दार्जिलिङको प्रतियोगितामा सेटरको भूमिकामा खेलेर टोलीलाई विजेता मात्र बनाएन्न, स्वयं ‘बेस्ट प्लेयर’ घोषित भए ।
छैटौँ राष्ट्रिय खेलकुद (२०६८) पीएलएबाट, सातौँ (२०७३) पूर्वाञ्चलबाट, आठौँ (२०७५÷७६) र नवौँ (२०७९) राष्ट्रिय खेलकुद प्रतियोगिता प्रदेश १ को कप्तान भएर खेलेका राजनले नेपाल भलिबल संघका तेस्रोदेखि दशौँ संस्करणसम्म लगातार सहभागिता जनाए ।
उनको खेलप्रतिको समर्पण कतिसम्म थियो भने २०७१ सालमा विवाहको दिन साँझ ५ बजे नै परिवारको सहमति लिएर भोलिपल्ट ताप्लेजुङमा हुने पूर्वकै ठूलो पुरस्कार राशीको खेल खेल्न हिँडेका थिए ।
राष्ट्रिय टोलीमा नपरेको तीतो अनुभव
मैदानमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै पनि राजनले कहिल्यै नेपाल राष्ट्रिय भलिबल टोलीको बन्द प्रशिक्षणसम्म पनि स्थान पाएनन् । यसमा उनको गहिरो दुःखेसो छ । ‘राष्ट्रिय टोलीबाट खेल्ने ठूलो इच्छा थियो । जुन बेला म एकदमै फर्ममा थिएँ, त्यो बेला टोलीमा पर्नेभन्दा म उत्कृष्ट छु भनेर धेरैले भन्थे,’ राजन भन्छन्, ‘तर मलाई चाप्लुसी गर्न आएन । आफ्नै कलाले परिन्छ जस्तो लाग्थ्यो, तर नेपालको खेलकुदमा राजनीति र चाप्लुसी हाबी रहेछ ।’
दमकको साख फर्काउने राजन

२०७५ सालमा दमकमा स्थायी रूपमा बसाइँ सरेपछि उनले झापा र दमकको भलिबलको साख फर्काए । इन्जिनियर तथा भलिबल खेलाडी प्रेम बास्तोलाको साथ पाएर हिमावी स्कुलको धुलो र हिलो हटाउँदै झापाको भलिबल पुनर्जागरण गरे । पछिल्लो ४–५ वर्षको अवधिमा मात्रै दमक नगरलाई ४० देखि ४५ वटा ट्रफी दिलाउन उनी सफल भए ।
खेल जीवनबाट नवौँ राष्ट्रिय खेलकुदपछि सन्यास घोषणा गरे पनि उनी विगत १४–१५ वर्षदेखि निरन्तर प्रशिक्षकको भूमिकामा छन् । हाल सिरिजंगा गाउँपालिका ताप्लेजुङका भलिबल प्रशिक्षक रहेका राजनले विराटनगर, मिक्लाजुङ, केराबारी, फालेलुङ, आठराई, त्रिवेणीलगायतका स्थानमा सयौँ खेलाडी तयार पारिसकेका छन् ।
खेल मैदानबाहेक राजनको अर्को पहिचान ‘सामाजिक अभियन्ता’ पनि हो । भलिबल खेलाडी वा तिनका परिवारलाई कडा रोग लाग्दा उनी सामाजिक सञ्जालमार्फत सहयोग अभियान चलाउँछन् । कोरोना महामारीका बेला साथीकी छोरीको क्यान्सर उपचारका लागि सुरु गरेको अभियानबाट अहिलेसम्म ४–५ जना खेलाडीको उपचारमा लाखौँ रुपैयाँ सहयोग जुटाइसकेका छन् । ‘पारदर्शी हिसाब सार्वजनिक गर्ने भएकाले मानिसहरूले विश्वास गरेर सहयोग पठाउनुहुन्छ । भलिबलमा लागेर म एकदमै खुसी छु,’ राजन भन्छन्, ‘विदेश जाने सोच कहिल्यै आएन । नेपालमा खेल क्षेत्रमा टिकिरहन गाह्रो छ, तर परिवारको ठूलो साथले गर्दा म यहाँसम्म आइपुगेँ ।’


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।