कमल ।

झापाको कमल गाउँपालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप तथा सरसफाइ प्रवद्र्धन र खोप कार्यक्रमबारे २ दिने गोष्ठी सुरु गरेको छ ।

गोष्ठीमा बुधबार गाउँपालिकाभित्र सञ्चालन भइरहेको खोप कार्यक्रमको प्रगति, सूक्ष्मयोजना, सरसफाइ प्रवद्र्धन तथा आगामी कार्यक्रमका विषयमा बृहत् छलफल भएको थियो ।

गोष्ठीलाई सम्बोधन गर्दै कमल गाउँपालिका अध्यक्ष तथा कमल गाउपालिका खोप समन्वय समितिका अध्यक्ष हुकुमसिंह राईले राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, शिक्षा क्षेत्र तथा समुदायका सबै सरोकारवालाबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए ।

कार्यक्रममा कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार ढकालले राष्ट्रिय खोप कार्यक्रमको प्रभावकारी कार्यान्वयन, नियमित खोप सेवाको पहुँच विस्तार तथा सरसफाइ प्रवद्र्धनमा सबै सरोकारवालाको भूमिका महत्वपूर्ण रहेको बताए ।

गत आ.व.मा सञ्चालन भएका कार्यक्रमको प्रगति, उपलब्धि, चुनौती तथा आगामी कार्यदिशाका विषयमा गोष्ठीका सहभागीलाई स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत बालकृष्ण भण्डारीले सहजीकरण गर्दैछन् ।

साथै, आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि खोप कार्यक्रमको विस्तृत योजना तथा सूक्ष्मयोजना निर्माणका लागि गोष्ठी प्रभावकारी हुने स्वास्थ्य शाखा प्रमुख दिपक दाहालले बताए ।

बिहीबार सम्पन्न हुने सो गोष्ठीमा कमल गाउँपालिकाअन्तर्गत रहेका ८८ वटै स्वास्थ्य संस्थाका प्रमुख तथा खोपकर्मी सहभागी छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्