दमक ।

नेपाल कम्युनिष्ट पार्टीका नवनियुक्त ३ जना लुम्बिनी प्रदेश मन्त्रीले मंगलबार शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेकपाको कोटाबाट दाङका इन्द्रजित थारूले आर्थिक मामिला तथा योजना मन्त्रालय, रोल्पाका दीपेन्द्र पुन ‘सिजल’ले स्वास्थ्य मन्त्रालय र बर्दियाकी कृष्णाकुमारी थारूले कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रीको जिम्मेवारी पाएका हुन् ।

गत साउन ९ गते एमाले र नेकपाबीच केन्द्रीयस्तरमा भएको ३ बुँदे सहमतिअनुसार एमालेबाट मुख्यमन्त्रीमा चेतनारायण आचार्यले १ भदौमा प्रदेशसभाबाट विश्वासको मत पाएका थिए ।

सहमतिका आधारमा नेकपाबाट सिफारिस भएका ३ जनालाई मुख्यमन्त्री आचार्यले मन्त्री पदमा नियुक्त गरेका हुन् ।

जसपाका मन्त्रीलाई २४ घण्टे स्पष्टीकरण

यसैबीच लुम्बिनी प्रदेश सरकारमा जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय समितिको निर्णय विपरित समावेश भएका २ मन्त्री र एक सांसदलाई जसपा नेपालले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जसपा नेपालको केन्द्रीय निर्णयविपरित सन्तोषकुमार पाण्डेय र भण्डारीलाल अहिर क्रमशः सामाजिक विकास मन्त्री र आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रीका रूपमा नियुक्त भएका छन् । उनीहरुसहित २४ घण्टे स्पष्टीकरण सोधिएकीमा हेमा बेलबाँसे (केसी) रहेकी छन् ।

पाण्डेय रुपन्देही ३ (१) बाट निर्वाचित हुन् भने अहिर बाँके २(१) बाट निर्वाचित हुन् । बेलबाँसे समानुपातिक सांसद हुन् ।

यसअघि पार्टी निर्णयविपरित ४ जना जसपा नेपालका सांसदले एमालेका मुख्यमन्त्री चेतनारायण आचार्यलाई विश्वासको मत दिएका थिए । तिनीहरुमा पाण्डेय, अहिर, बेलबासे र आदेशकुमार अग्रवाल छन् । १ हप्ताअघि ४ सांसदलाई ७ दिने स्पष्टीकरण सोधिएकोमा अग्रवालले बाहेक अन्यले स्पष्टीकरण बुझाएका छैनन् ।

जसपा नेपालका ५ सांसदमध्ये अम्बिका काफ्लेले भने केन्द्रीय निर्देशन पालना गरेकी थिइन् । उनी जसपा नेपालकी केन्द्रीय कार्यकारिणी सदस्य पनि हुन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्