Oplus_131072

दमक । पूर्वीतराई सुनसरीको कप्तानगञ्जबाट फैलिएको द्वन्द्वले नेपालको तराईका जिल्ला शान्त बनेको छ । सुनसरीको देवानगन्ज गाउँपालिका(३ कप्तानगन्जमा आइतबार राति भएको झडपमा दुई जनाको ज्यान गएपछि यसले उग्ररूप लिएको छ । दुई समूहबीचको तनाबका कारण कप्तानगञ्ज अझै शान्त बन्न सकेको छैन भने सिराह, धनुषालगायत स्थानमा पनि प्रदर्शन भइरहेको छ । प्रहरीसँग झडप भएपछि स्थानीय प्रशासनले कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको छ ।
प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुर उपमहानगरपालिकाभित्र कर्फ्यू आदेश जारी गरेको छ।

प्रशासनले बिहीबार दिउँसो साढे ३ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको हो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनकपुरधाम उपमहानगरपालिकासबै भाग, लक्ष्मीनिया गाउँपालिका र नगराईन नगरपालिका क्षेत्रका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको बताए ।

सुनसरीको तनाव मधेशका जिल्लामा सर्दा सिरहा पनि तनावग्रस्त बनेको थियो । बुधबारदेखि नै बढेको प्रदर्शनले बिहीबार झनै उग्र रूप लिएको छ ।

बिहानदेखि प्रदर्शन बढेपछि बिहीबार दिउँसोबाट सिरहामा कर्फ्यु लगाइएको छ । प्रदर्शनकारी बिहानैदेखि गोलबजारसहितका स्थानमा आगजनी र तोडफोडमा उत्रिएका छन् ।

सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना घाइते भएका छन् । बिहानैदेखि भएको प्रदर्शनमा मोटरसाइकलमाथि आगजनीसहितका घटना बढेका छन् ।

यस्तै, सिरहाको लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको छ ।

जिल्ला प्रशासन कार्यालय, सिरहाले जारी गरेको विज्ञप्ति अनुसार दिउँसो ४ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी भएको हो ।

यसअघि पूर्व–पश्चिम राजमार्गको पूर्व तर्फ गोलबजार नगरपालिका–३ को कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोक, उत्तरतर्फ गोलबजार–६ सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ को क्षेत्रमा कर्फ्यू जारी गरिएको थियो ।

प्रशासनले अर्को सूचना जारी गर्दै लहान क्षेत्रमा पनि कर्फ्यू आदेश जारी भएको जनाएको छ।

प्रशासनका अनुसार लहान नगरपालिकाको पूर्वपश्चिम राजमार्गको पूर्वतर्फ बलान खोलासम्म, पश्चिमतर्फ सरस्वति खोला (बाटिका होटल पश्चिम) सम्म र दक्षिणतर्फ पूर्व–पश्चिम राजमार्गको ५०० मिटर क्षेत्रसम्म वरिपरिको क्षेत्रमा कर्फ्यू लगाइएको बताएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मधेशका सांसदहरूले गृहमन्त्री सुधन गुरुङको भूमिका माथि प्रश्न उठाएका छन् । सभापति रवि लामिछानेसँगको भेटमा मधेशका सांसदहरूले गृहमन्त्रीको शैलीप्रति गुनासो गरेका हुन् ।

सुनसरीबाट सुरु भएको पछिल्लो घटनाक्रममा गृहमन्त्री गुरुङले सम्बन्धित क्षेत्रका सांसदहरूसँग छलफल समेत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

यस्तै, वालेन्द्र शाह बालेन प्रधानमन्त्री भएपछि पहिलोपटक बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा राष्ट्रिय, अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा चुनाैतीका बारेमा छलफल भएको छ । 

सिंहदरबारमा बिहीबार बसेको परिषद्को बैठकमा सुरक्षा चुनाैतीको विश्लेषण गर्दै आगामी रणनीतिबारे छलफल भएको रक्षासचिव केदारनाथ शर्माले बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिए । 

उनका अनुसार शान्ति सुरक्षा कायम गर्ने विषयमा प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय गरेर अगाडि बढ्ने निर्णय बैठकमा भएको छ । बैठकमा सुनसरी घटनाको समीक्षा गर्दै स्थिति सुधार गर्ने उपायबारे छलफलसमेत छलफल भएको छ । 

यसैगरी बैठकमा विपद् प्रतिकार्य, राहत र उद्धारको काम तदारुकताका साथ गर्नेबारे पनि निर्णय भएको शर्माले जानकारी दिए । 

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्