काठमाडौं ।

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आगामी दिनमा पार्टीलाई क्रान्तिकारी समाजवादी पार्टीका रूपमा विकास गरिने बताएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीसँगको पार्टी एकतापछि समायोजन प्रक्रिया सुरु हुन लागेका बेला आयोजित साविक जसपा नेपालतर्फको केन्द्रीय समितिको बैठकमा विषय प्रस्तुत गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । ‘अब एक दुई थान मन्त्रीका लागि विचार नमिल्ने, मुद्दा नमिल्ने शक्तिहरुसँग सत्ता सहकार्य हुँदैन । बिगतका ती कदम पार्टीका लागि घातक भएका छन् । वैचारिक, नीतिगत र संगठनात्मक रूपमा भएका गत्ली सच्याएर संगठन, संघर्ष र प्रशिक्षणले लैस भएको क्रान्तिकारी समाजवादी पार्टीका रूपमा अगाडि जान्छौँ,’ यादवले भने, ‘अब पार्टीलाई परिमार्जन गर्दै जनसंघर्षको बाटोबाट अगाडि बढ्ने हो । जनजीविकाका सवाललाई लिएर पार्टी आन्दोलित हुन्छ । सँगसँगै अब आउने स्थानीय तह निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीमा पनि लाग्छ ।’

बुधबार सुरु भएको पार्टी बैठकमा १३ बुँदे खाका प्रस्तुत गर्दै यादवले साउन तेस्रो हप्ताभित्रै बृहत् मोर्चाबन्दीसहितको आन्दोलनको खाका सार्वजनिक गरिने बताए । तर, मोर्चामा कुन–कुन घटक समावेश हुने बारे भने यादवले खुलाएनन् । ‘राष्ट्रिय सवालहरुको नेतृत्व गर्दै जनतालाई गोलबन्द गरेर अगाडि बढ्ने,’ उनले भने ।

बिहीबारसम्म चल्ने बैठकमा लोसपासहितको पार्टी समायोजन प्रक्रियामा २५१ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरिएको छ । जसमा ३३ प्रतिशत महिला र २० प्रतिशत युवाको अनिवार्य सहभागिता सुनिश्चित गरिने उल्लेख छ ।
प्रस्तुत खाका बारे केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरु भएको छ ।

२५१ केन्द्रीय समिति बनाउने प्रस्ताव

नयाँ केन्द्रीय समितिमा संरक्षक १, पार्टी अध्यक्ष १, सह अध्यक्ष १, वरिष्ठ नेता १, उपाध्यक्ष ५ (१ महिला अनिवार्य), महासचिव ३ जना (१ महिलो अनिवार्य), उपमहासचिव (१ जना महिला अनिवार्य), सचिव ७ जना (२ महिला अनिवार्य), कोषाध्यक्ष १ पदाधिकारी रहने प्रस्ताव छ ।

केन्द्रीय कार्यकारिणी समितिमा पदाधिकारी रहने भनिएको छ । केन्द्रीय सचिवालयमा अध्यक्षसहित बढीमा ९ जना रहने प्रस्ताव गरिएको छ ।

१२१ जनाको सल्लाहकार समिति बनाउने प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्