सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलन पूर्व–पश्चिम (महेन्द्र) राजमार्गसम्म फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्गको एक खण्डमा समेत अनिश्चितकालीन कर्फ्युआदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय, सुनसरीले आज साँझ जारी गरेको आदेशमा राति ९ बजेदेखि अर्को सूचना जारी नभएसम्म सो क्षेत्रमा कर्फ्यु लगाइएको छ । जसअनुसार इनरुवा नगरपालिका–३ र ६ को सिमाना पर्ने घोपली टोलदेखि पश्चिमतर्फ कोशी ब्यारेज पुलसम्म तथा महेन्द्र राजमार्गको उत्तर–दक्षिण दुवैतर्फ पाँचसय मिटर क्षेत्रभित्र कर्फ्यु लगाइएको छ ।
गएराति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। आज दिनभर सुनसरीका विभिन्न स्थानमा प्रदर्शन भएको थियो ।
प्रदर्शनकारीले लौकही, भोक्राहा र इनरुवा क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेका थिए। केही स्थानमा सवारीसाधन र सार्वजनिक सम्पत्तिमाथि आक्रमण हुन सक्ने जोखिम बढेपछि प्रशासनले राजमार्ग क्षेत्रमा समेत कर्फ्यु लगाएको हो ।
यसअघि बिहान ७ बजेदेखि जिल्ला प्रशासन कार्यालयले देवानगञ्ज र हरिनगर गाउँपालिकाका प्रमुख बजार क्षेत्रमा कर्फ्यु लगाएको थियो। राजमार्गमा रोकिएका यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई सुरक्षा व्यवस्थासहित क्रमिक रूपमा गन्तव्यतर्फ पठाउने तयारी भइरहेको प्रशासनले जनाएको छ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।