चामत्कारिक जनमतसहित सरकार बनाएको रास्वपा पूर्वघोषित १०० कार्यसूचीको समीक्षामै असफल भएपछि मन्त्रिमण्डल फेरबदलको तयारी भइरहेको छ ।
उता पार्टी केन्द्र र संघीय सरकारको अवस्था देखेर प्रदेश तथा जिल्ला र नगर कमिटी तिरका कार्यकर्ता सामाजिक सञ्जालमै आक्रोश र असन्तुष्टि पोखिरहेका छन् । सिंहदबार छेवैमा रहेको ललितपुर जिल्ला यो निराशामा सबैभन्दा धेरै प्रभावित भएको पाइएको छ । चितवन महाधिवेशनमा उपसभापति बन्न खोजेकी ललितपुर–३ की सांसद तथा डा. तोसिमा कार्कीलाई सबै मिलेर हराइदिए ।
अघिल्लो चुनावमा नेकपाकी चर्चित नेतृ पम्फा भुसालसंग प्रतिष्पर्धा गरेकी कार्कीले ५२ प्रतिशत मत ल्याएकी थिइन् यसपटक पनि आफ्नै क्षेत्रमा राम्रो मत ल्याएकी कार्कीलाई न पार्टी, न सरकार भनेजस्तो भएपछि सामाजिक सञ्जालबाट हेल्थ टिप्स दिएर जनतालाई आफ्नो महत्व र भूमिकाको अवस्था प्रष्ट्याइरहेकी छन् ।
एक जना मन्त्री ललितपुरलाई चाहियो भन्दै केही कार्यकर्ताले माग गर्दा सभापति लामिछानेले ७७ सदस्यीय मन्त्रिपरिषद् बनाउन सकिएला र भन्दै फर्काएको चर्चा छ ।
ललितपुर ठेगाना भएकी सुम्निमा उदासलाई सञ्चारमन्त्री बनाउन लागेको चर्चा पनि भित्रभित्रै फैलिएको छ भने पूर्व सञ्चारमन्त्री जगदिश खरेल पनि मन्त्री बन्ने गरी चितवनमा आफूलाई महामन्त्रीबाट ब्याक गराइएको भन्दै माहोल बनाइरहेका छन् । ललितपुरले एउटा मन्त्री पाउने पक्का रहेको समानुपातिक सांसद प्रभा कार्कीले भनेपछि स्थानीय कार्यकर्ता झस्किएका छन् ।
गाउँ नफर्किन भन्दै बुद्धरत्नलाई फोन
रास्वपा जिल्ला सभापतिसमेत रहेका ललितपुर १ का सांसद बुद्धरत्न महर्जनलाई वर्षा परेलगत्तै आपत आइलागेको छ । निर्वाचन क्षेत्रका ग्रामीण वस्तीहरूमा वर्षा लाग्नासाथ बिजुली, मोटरबाटो र मोबाइल नेटवर्कले काम नगर्ने अवस्था छ ।
यो अवस्था भजाएरै चुनाव जितेका महर्जनलाई यो वर्ष झरीमा नेटवर्क र बत्ती गयो भने गाउँ नफर्कनु भन्दै कार्यकर्ता र मतदाताले फोन गरेका छन् । महर्जनले संसद भवनबाहिर सहकर्मीहरूसंग मोबाइल देखाउँदै जगदीशले चाहेको भए गर्न सक्थे तर वास्ता नदेखाएको पीर पोख्ने गरेका छन् ।
ललितपुरका सांसदलाई रित्तो बजेटको विषयमा पनि जनता र कार्यकर्ताले गुनासो पोख्न थालेका छन् । संघीय सरकारले १५ जेठमा बजेट प्रस्तुत गरेपछि अहिलेसम्म सांसदहरूले आफ्नो क्षेत्रमा यति बजेट ल्याइयो भन्दै सार्वजनिक गर्न सकेका छैनन् ।
(जनआस्था साप्ताहिकको साउन ६ गते बुधबारको अंकमा प्रकाशित)

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।