कमल, झापा । कमल गाउँपालिकाले नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा घरदैलोमै उपलब्ध गराउने उद्देश्यका साथ आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–०७, रंगपुर मा ल्याब सेवा शुभारम्भ गर्ने तयारी पूरा गरेको छ। उक्त सेवा २०८३ साल श्रावण १२ गते, मंगलबार बिहान १०:०० बजे देखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ। कमल गाउँपालिकाका अध्यक्ष हुकुम सिंह राई ले ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने नागरिकलाई पनि सहर सरह गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने दीर्घकालीन सोचका साथ स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राख्दै आउनुभएको छ। सोही अभियान अन्तर्गत कमल नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गरेपछि अब कमल–०७, रंगपुरमा अत्यावश्यक ल्याब सेवा विस्तार गरी स्थानीय नागरिकलाई आफ्नै गाउँबाट सेवा उपलब्ध गराउने व्यवस्था गरिएको हो। यस सेवाको सञ्चालनसँगै अब कमल–०७ लगायत आसपासका वडाका सेवाग्राहीहरूले सामान्य तथा आवश्यक प्रयोगशाला परीक्षणका लागि टाढाका अस्पताल वा निजी ल्याबमा धाउनुपर्ने बाध्यता धेरै हदसम्म हट्ने विश्वास गरिएको छ। स्थानीय स्तरमै रगत तथा अन्य आवश्यक ल्याब परीक्षण सहज रूपमा उपलब्ध हुँदा रोगको समयमै पहिचान, छिटो उपचार, नागरिकको समय र आर्थिक खर्चमा कमी आउने तथा स्वास्थ्य सेवाप्रतिको पहुँच अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। ल्याब सेवा शुभारम्भ कार्यक्रम को अवसरमा कमल नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. फुलक चन्द्र लावती को नेतृत्वमा निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिनेछ। शिविरमा विशेषज्ञ चिकित्सकबाट बिरामीहरूको स्वास्थ्य परीक्षण, परामर्श, आवश्यक उपचार तथा चिकित्सकको सिफारिसअनुसार आवश्यक ल्याब परीक्षण सेवा प्रदान गरिनेछ। विशेष गरी ज्येष्ठ नागरिक, महिला, बालबालिका, दीर्घरोगी तथा आर्थिक रूपमा विपन्न वर्गका नागरिकहरू यस शिविरबाट प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। कमल गाउँपालिकाले पछिल्ला वर्षहरूमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य संस्थाहरूको भौतिक पूर्वाधार सुधार, अत्याधुनिक स्वास्थ्य उपकरण व्यवस्थापन, दक्ष स्वास्थ्यकर्मी परिचालन, विशेषज्ञ सेवा विस्तार तथा आधारभूत स्वास्थ्य सेवा केन्द्रहरूमा आवश्यक सेवाहरू थप गर्ने कार्यलाई निरन्तर अघि बढाउँदै आएको छ। गाउँपालिकाको दीर्घकालीन लक्ष्य प्रत्येक नागरिकले आफ्नै वडाबाट आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको छ। यसै सन्दर्भमा अध्यक्ष हुकुम सिंह राई ले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएकाले भौगोलिक दूरीका कारण कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नहुने बताउनुभयो। उहाँले कमल गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थाहरूमा चरणबद्ध रूपमा आवश्यक उपकरण, ल्याब सेवा, विशेषज्ञ चिकित्सकीय सेवा तथा स्वास्थ्य पूर्वाधारको थप विस्तार गर्दै जाने नीति लिइएको जानकारी दिनुभयो। गाउँपालिकाका अनुसार प्रयोगशाला सेवा सञ्चालनपछि रक्त परीक्षण, रगतको समूह, हेमोग्लोबिन, सुगर, युरिन परीक्षण लगायत आवश्यक आधारभूत ल्याब परीक्षणहरू स्थानीय स्तरमै उपलब्ध गराइनेछन्। यसले रोगको प्रारम्भिक पहिचान, समयमै उपचार तथा स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ। उक्त ल्याब सेवा शुभारम्भ कार्यक्रम तथा निःशुल्क स्वास्थ्य शिविर २०८३ साल श्रावण १२ गते, मंगलबार बिहान १०:०० बजे आधारभूत स्वास्थ्य सेवा केन्द्र, कमल–०७, रंगपुर मा आयोजना हुनेछ। कार्यक्रममा गाउँपालिका अध्यक्ष, जनप्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, बुद्धिजीवी, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीय सेवाग्राहीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कमल गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, स्वास्थ्य शाखा ले सम्पूर्ण स्थानीयवासी तथा सेवाग्राहीहरूलाई कार्यक्रममा उपस्थित भई नवप्रारम्भ गरिएको ल्याब सेवा तथा निःशुल्क स्वास्थ्य शिविर बाट लाभ लिन हार्दिक अनुरोध गरेको छ। गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँचलाई नागरिकको घरदैलोसम्म विस्तार गर्दै “स्वस्थ कमल, समृद्ध कमल” निर्माण गर्ने आफ्नो अभियानलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्