एआई निर्मित काल्पनिक तस्वीर ।

कोशीमा दुर्घटनामा परि ४ वर्षमा १६६७ को मृत्यु, ३१ हजार घाइते

दमक ।

सडक यात्रा हो कि मृत्युको पासो ? कोशी प्रदेशका सडकहरू यतिबेला यात्रु र चालकका लागि ‘ज्यानमारा’ साबित हुँदै गएका छन् । चौडा बन्दै गरेका राजमार्ग र गाउँ–गाउँ पुगेका सडक विकासका सूचक होइन, जिन्दगी सिध्याउने कसाईखाना जस्ता देखिन थालेका छन् । विगत ४ वर्षको तथ्याङ्कमात्रै हेर्ने हो भने कोशी प्रदेशका १४ जिल्लामा सवारी दुर्घटनाको यस्तो डरलाग्दो रूप देखिन्छ, जसले सिङ्गो प्रदेशलाई नै स्तब्ध बनाएको छ ।

यहाँ पछिल्लो ४ वर्षमा मात्रै १ हजार ६ सय बढी जनाले सडककै कारण ज्यान गुमाएका छन् भने ३१ हजारभन्दा बढी मानिस रक्ताम्मे भएर अस्पताल पुगेका छन् । सडकमा दिनहुँ बगिरहेको यो रगत र आमाबाबुको आँसुले राज्यको सडक सुरक्षा र चालकको चेतनालाई गम्भीर कठघरामा उभ्याइदिएको छ ।

आर्थिक वर्ष ०७९/८० देखि आर्थिक वर्षको ०८२/८३ सम्म कोशी प्रदेशका १४ जिल्लामा सवारी दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या १६६७ पुगेको हो । ४ वर्षमा दुर्घटनामा परि ३१ हजार ६११ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोशीमा ठूला सवारी साधनभन्दा पनि दुई पांग्रे र साना सवारीसाधन धेरैजसो दुर्घटनामा पर्ने र त्यसमा सवारको मृत्यु हुनेगरेको तथ्याङ्क रहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कोशी प्रदेश प्रहरीका अनुसार आर्थिक वर्ष ०७९/८० मा कोशी प्रदेशका १४ जिल्लामा तीन हजार ५१० वटा सवारी दुर्घटना भएका थिए । जसमा ४१२ जनाले ज्यान गुमाए भने ५ हजार ६०७ जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष आर्थिक वर्ष ०८०/८१ मा ३ हजार ५६३ वटा सवारीसाधन दुर्घटना भएका थिए । जसमा ३९७ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ६ हजार ७६ जना घाइते भएका छन् । यस्तै, आर्थिक वर्ष ०८१/८२ मा कोशी प्रदेशमा ५ हजार ५२६ सवारी दुर्घटना हुँदा ४१८ जनाले ज्यान गुमाए भने ९ हजार २४१ जना घाइते भएको कोशी प्रदेश प्रहरीको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्षको ०८२/८३ मा कोशीमा ६ हजार ४१२ वटा सवारी दुर्घटना भएका छन् । जसमा ४४० जनाले ज्यान गुमाएका छन् भने १० हजार ६८७ जना घाइते भएको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्षको ०८२/८३ मा सुनसरीमा सबैभन्दा धेरै १२० जनाले ज्यान गुमाएका छन् भने २ हजार ४३५ घाइते भएका छन् । यो आर्थिक वर्षमा ताप्लेजुङमा ५, उदयपुरमा ५०, इलाममा ११, खोटाङमा ८, पाँचथरमा १३, संखुवासभामा १३, ओखलढुंगामा ४, झापामा ७७, मोरङमा ११६, सोलुखुम्बुमा ७, तेह्रथुममा २, धनकुटामा ९ र भोजपुरमा ६ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएको प्रहरी तथ्याङ्क छ ।

पछिल्लो अढाई वर्षदेखि निर्माणाधीन पूर्वपश्चिम राजमार्ग विस्तारका कारण दुर्घटना जोखिम पनि बढेको प्रहरीको भनाइ छ । यद्यपि निर्माणाधीन राजमार्गका कारण सवारीको गति कम हुँदा केही ठूला दुर्घटना नभएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्रसिंह थापा बताउँछन् । ‘राजमार्ग विस्तारको क्रममा हुँदा सवारीको गति कम भएको छ । यसले दुर्घटना घटाएको छ । तर, दुर्घटना जोखिम कायम छ,’ उनले भने, ‘सडकमा राखिएका संकेत चिह्न भत्किएको र च्यातिको कारण स्पष्ट छैनन् । यसले दुर्घटना निम्त्याउन सक्छ । यो निर्माण कम्पनी र आयोजनाले राख्नुपर्छ । यस्ता संकेत नभएको ठाउँमा हामीले समन्वय गरेर राख्न लगाइरहेका छौँ ।’

नेपाल प्रहरी कोशी प्रदेश कार्यालयबाट उपलब्ध तथ्यांक ।

सडक दुर्घटना न्यूनीकरणमा सबैभन्दा धेरै चालकको चेतनामा निर्भर हुने उनी बताउँछन् । कोशी प्रदेशमा ठूलाभन्दा पनि दुई पांग्रे सवारीसाधनको दुर्घटनादर उच्च रहेको उनको भनाइ छ । चालकको लापरवाहीका कारण पनि दुर्घटना हुने गरेको प्रहरी वरिष्ठ उपरीक्षक थापा बताउँछन् । ‘ठूला भन्दा पनि साना र दुई पांग्रे सवारी बढी दुर्घटना हुन्छ । अधिकांश दुर्घटना चालकले लापरवाही गरेर सवारी चलाउँदा दुर्घटना हुन्छ,’ उनले भने, ‘धेरैजसो दुर्घटना लागूपदार्थ सेवन र मादक पदार्थ सेवनका कारण हुने गरेको देखिन्छ । मादक पदार्थ त गन्ध आउँछ र यात्रु र अन्यले पनि प्रश्न गर्छन् । लापसेमा त गन्ध पनि नआउने भएका कारण दुर्घटना बढेको छ । हामीले अहिले लापसे पनि जाँच गरिरहेका छौँ । प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर लापसेका लागि किट ल्याएर जाँच गरिरहेको अवस्था छ ।’
कतिपय दुर्घटना इन्जिनियरिङ बिना नै डोजर लगाएर बनाइएका सडकका कारण पनि हुने गरेको उनको भनाइ छ । केही दुर्घटना यान्त्रिक गडबडीका कारण पनि हुने गरेको उनले बताए । दुर्घटना न्यूनीकरणमा प्रहरीले निरन्तर काम गरिरहेको र यसका लागि चालक पनि सचेत हुनुपर्ने उनको भनाइ छ । ‘हामीले त दुर्घटना न्यूनीकरणमा सचेतनाका कार्यक्रम, स्वास्थ्य परीक्षण, सवारीको यान्त्रिक जाँच, यात्रुका लागि सचेतनाका कार्यक्रम गरिरहेका छौँ,’ उनी भन्छन्, ‘दुई पांग्रे र निजी सवारी साधनलाई पनि जनचेतनाका कार्यक्रम गरिरहेकै हुन्छौँ । तर, दुर्घटना हामीले चाहेर मात्र न्यूनीकरण हुँदैन । चालकलाई गाह्रो भएको छ भने पनि जवरजस्ती सवारी चलाइरहेको हुन्छ । मलाई गाह्रो भएको छ रिफ्रेस भएपछिमात्रै चलाउँछु भन्ने चेतना पनि हुन जरुरी छ ।’

दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीले पनि काम गरिरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक होमप्रसाद अधिकारी बताउँछन् । सीमित जनशक्ति भए पनि त्यसलाई परिचालन गर्दै सडक दुर्घटना न्यूनीकरणका काम गरिरहेको उनको भनाइ छ । तीव्र गतिका कारण हुने दुर्घटना रोक्न पछिल्लो समय पहाडी जिल्लामा टाइमकार्ड लागू गरिएको उनको भनाइ छ । यस्तै तराइका जिल्लामा सिटी र अटो चालकको लागि क्युआर कोड राखिएको उनले बताए ।

यसले बिना सवारी चालक अनुमति पत्र चलाउने प्रवृत्तिलाई निरुत्साहित बनाउने उनी बताउँछन् । ‘सवारी चालक अनुमति प्राप्त व्यक्तिले सिटी र अटो चलाएमा मात्र दुर्घटना कम हुन्छ । यसलाई सिस्टममा ल्याएर क्युआरकोड दिएपछि लाइसेन्स प्राप्त चालकको मात्र भेरिफाइड हुन्छ । यसले गर्दा लाइसेन्स नभएका छुटिन्छ र कारबाही गर्न सहज हुन्छ,’ उनले भने, ‘यात्रुको सामान हरायो भने पनि क्युआरकोडमार्फत पत्ता लगाउन सहज हुन्छ । क्युआर कोड राख्दै चालकको तीनपुस्ते खुल्ने विवरण राखेका छौँ ।’

यस्तै, प्रदेश र स्थानीय तहसँग समन्वय गरेर सडकमा सिसी क्यामेरा राख्ने तथा सचेतनाका कार्यक्रम गर्ने काम पनि भइरहेको उनले बताए । ‘हिट एण्ड रनलाई रोक्न ठाउँठाउँमा सर्भिलेन्स क्यामेरा जडानको काम पनि गरेका छौँ,’ उनले भने, ‘चालकहरूलाई प्रशिक्षण र सचेतनाका कार्यक्रमहरू पनि गर्दै आएका छौँ । दुर्घटनाको डेमो देखाएर चालक र यात्रुलाई सचेत गराउने कार्यक्रमहरू पनि गरिरहेका छौँ ।’

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्