कुर्सी एउटै, खिचातानी अनेक !
विराटनगर ।
कोशी प्रदेशको सत्ता यतिबेला एउटा यस्तो प्रयोगशाला बनेको छ, जहाँ विकासका सूत्रहरूभन्दा सत्ता टिकाउने र ढाल्ने नयाँ–नयाँ खेलहरूको मात्रै परिक्षण भइरहेका छन् । देशका लागि प्रदेश संरचनाको काम नभएको भन्दै केन्द्रीय राजनीतिक वृत्तमा खारेजीको बहस चलिरहँदा कोशीमा भने फेरि मौजुदा सरकार ढालेर अर्को सरकार गठनको जोडघटाउ सुरु भएको छ । ८ वर्षको इतिहासमा कोशी प्रदेशका लागि अहिलेको दौडधुप साकार हुँदा १०औँ प्रदेश सरकार र १९ औँ पटकको मन्त्रिपरिषद् हेरफेरको शृंखला हुनेछ ।
कोशी प्रदेशसभा स्थापना भएको ८ वर्ष ५ महिना पुग्यो । स्थापना हुनु अघि जब मुलुक सङ्घीय संरचनामा प्रवेश गर्यो, आम नागरिकमा आशा थियो, अब सिंहदरबारको अधिकार गाउँ–गाउँमा पुग्नेछ । तर, कोशीको यो ८ वर्षे सत्ताको सतरञ्ज खेलले भन्छ, यहाँ सिंहदरबारको अधिकार होइन, काठमाडौँको रिमोट कन्ट्रोल र नेताहरूको मन्त्री बन्ने भोकमात्रै आइपुग्यो । यो अवधिमा ९ पटक सरकार गठन भयो भने मुख्यमन्त्री पदमा भने ६ जनाले मात्रै पालैपालो बाजी मारे । यसको अर्थ हो, कोशीमा कुर्सी एउटै छ । पात्रहरू पनि तिनै हुन्, तर उनीहरूबीचको खिचातानीले ८ वर्षमै ९ पटक सरकार फेरिने बाध्यता सिर्जना भयो ।
कोशीको पछिल्लो सत्ता संकटको केन्द्रमा नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी । पछिल्लो समय फेरि सरकार फेरिने चर्चा चल्नुको पछाडि कांग्रेसभित्रकै शक्ति संघर्ष मुख्य जिम्मेवार भएको कांग्रेसकै नेताहरू बताउँछन् । स्रोतका अनुसार पूर्वमुख्यमन्त्री केदार कार्कीले पुनः शक्तिमा आउन आफ्नै दलका संसदीय दलका नेता उद्धव थापालाई विस्थापित गरेर दलको नेता फेर्ने भित्री योजना बुनेका थिए । कार्कीले कांग्रेसका असन्तुष्ट सांसद र केन्द्रीय नेताहरूसँग बारम्बार गोप्य भेटघाट गर्दै संसदीय ‘कू’ को कसरत गरिरहेको उनकै दलका नेताहरू बताउँछन् ।
यसअघि पनि विद्रोही उपनाम पाउँदै मुख्यमन्त्री बन्न सफल भएका कार्की यसपटक भने आफ्नै दलभित्रको अविश्वासका कारण रोकिएका छन् । त्यसो त असार ३२ को निर्णायक भनिएको बैठकमा कांग्रेसकै मन्त्रीहरू अनुपस्थित भइदिएपछि कार्कीको योजना तासको घरझैँ भताभुङ्ग भयो । यसले कांग्रेसलाई मात्र कमजोर बनाएन, बरु एमाले–नेकपालाई वामपन्थी ध्रुवीकरणको नयाँ कार्ड खेल्ने सुनौलो बाटो खुल्ला गरिदियो । अहिले उद्धव थापा स्वयं गठबन्धन टुटिसकेको बताउँछन् । उनले सञ्चारकर्मीहरूसँग भने, ‘असार सकिँदै गर्दा ७ बुँदे सहमति अनुसार सरकारमा पालो आइसकेको थियो, तर बीचैमा गठबन्धन टुट्यो ।’
कांग्रेसभित्रको यही विग्रहलाई माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले नयाँ रणनीतिक अवसरको रूपमा लिएका छन् । आङ्बोले अब देशैभर वामपन्थी सरकार बन्ने सम्भावना रहेको बताएका छन् । उनले भने, ‘अब कग्रेसको विद्रोहको अर्थ छैन, एमाले र नेकपाको संयुक्त सरकार बन्दा कांग्रेस स्वतः प्रतिपक्षमा जान्छ ।’ तर, यो सत्ता फेरबदलको खेलप्रति नेकपाभित्रै पनि गम्भीर असन्तुष्टि छ । युवा नेता रन्जित तामाङले सामाजिक सञ्जालमा टिप्पणी गर्दै भनेका छन्, ‘१८ महिनामा सरकार फेर्नु सुशासनको उपहास र सङ्घीयतालाई जोक बनाउनु हो ।’ तामाङका अनुसार यस्तो अस्थिरताले यो प्रदेश संरचना चाहिँदैन भन्ने शक्तिहरूलाई मात्र बल पुर्याउँछ । उनी प्रश्न गर्छन्, ‘के हाम्रो राजनीति केवल १८–१८ महिने मन्त्री जागिरका लागि मात्रै हो ?’
राजनीतिको यो दाऊपेचको खेललाई कांग्रेसका पूर्वप्रदेश सदस्य सूर्यर्माराज राईले व्यङ्ग्यात्मक शैलीमा चित्रण गरेका छन् । उनी भन्छन्, ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमीतिर भनेको यही हो ।’ राईका अनुसार कोशीको सत्ता फेरबदल कुनै राष्ट्रिय आवश्यकता नभएर बरु यो कांग्रेसभित्रको जुँगाको लडाइँ र बेमौसमी बाँसुरी मात्र हो । ‘पुराना पार्टीहरूको यो चरित्रले कुनै पनि घटनाबाट चेत पाएको देखिँदैन,’ उनी भन्छन्, ‘यो खेलले आगामी निर्वाचनमा ठूलो धक्का लाग्नेछ र यो आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्ने आत्मघाती गोल बाहेक केही होइन ।’
आज देशमा एउटा यस्तो पङ्क्ति तयार भएको छ, जसले प्रदेश संरचना खारेज गर्नुपर्छ भन्दै संघीयता विरुद्ध बहसको कागजका टुक्राहरू फालिरहेका छन् । यसको टड्कारो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हो, जसले आफ्नो महाधिवेशनबाटै प्रदेश खारेजीको एजेन्डा पारित गरिसकेको छ । पुराना दलहरू यसको विरोध त गर्छन्, तर कोशीमा उनीहरूले गरिरहेको हर्कतले रास्वपाकै एजेन्डालाई मलजल पुर्याइरहेको छ ।
कोशीको यो राजनीतिक यात्राले एउटा तीतो यथार्थ उजागर गरेको छ । ९ वटा सरकार बन्नु मात्र ठूलो कुरा होइन, बरु सत्ता टिकाउन मुख्यमन्त्रीहरूले अपनाएको किस्ता–किस्तामा मन्त्री नियुक्त गर्ने घातक प्रवृत्तिका कारण मन्त्रिपरिषद् पुनर्गठनको संख्या १९ औँ पटक पुग्न लाग्नु लोकतन्त्रकै उपहास हो ।
मुख्यमन्त्रीहरूले आफ्नो कुर्सी बचाउन र दलहरूबीचको भागबण्डा मिलाउन जुन किस्ताबन्दीमा मन्त्री नियुक्तिको खेल खेले, त्यसले नीति र विकासलाई ओझेलमा पारिदिएको छ ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।