दमक ।
फ्रान्सलाई ६–४ को गोल अन्तरले हराउँदै इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रोस्थान पक्का गर्न सफल भएको छ ।
मियामी स्टेडियममा आइतबार बिहानको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै उसले आफूलाई तेस्रो स्थानमा कायम राखेको हो ।
इङ्ल्यान्डको जितमा बुकायो शाकाले ह्याट्रिक पूरा गरे । पहिलो हाफमा दुई गोल गरेका शाकाले खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।
खेलको तेस्रो मिनेटमा राइसले गोल गर्दै इङ्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको १८औं मिनेटमा कोन्शाले हेडरमार्फत गोल गर्दै इङ्ल्यान्डको अग्रता २–० कायम गरेका थिए भने लगत्तै ३७औं मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इङ्ल्यान्ड पहिलो हाफमै ४–० को फराकिलो गोलअन्तरमा पुगेको थियो ।
दोस्रो हाफमा भने फ्रान्सले लगातार ३ गोल फर्काएको थियो । खेलको४८औँ मिनेटमा कप्तान किलियन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल फर्काएका थिए ।
त्यस्तै ब्राडली बारकोलाले ५४औँ मिनेटमा र कप्तान एमबाप्पेले ६६औँ मिनेटमा गोल गर्दै खेललाई ४–३ को स्थितिमा पु¥याए । खेलको ८७औं मिनेटमा इङ्ल्यान्डले पाएको पेनाल्टीको अवसर सदुपयोग गर्दै अग्रता ५–३ कायम गरेको थियो । दोस्रो हाफको इन्जुरी समयमा उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सलाई खेलमा फर्काउन प्रयास गरे । तर, अन्तिम समयमा जुड बेलिंघमले गोल गर्दै इङ्ल्यान्डलाई ६–४ को जित दिलाए ।

फ्रान्सका कप्तान किलियन एमबाप्पेले आइतबारको खेलमा गरेको २ गोलसँगै उनी विश्वकप २०२६ को सर्वाधिक गोलकर्ताको सूचीमा पहिलो नम्बरमा छन् । एम्बापेले यस विश्वकपमा हालसम्म सर्वाधिक १० गोल गर्न सफल भएका हुन् । अर्जेन्टिनाका लियोनल मेसी ८ गोलसहित एम्बापेलाई पछ्याइरहेका छन् ।
यससँगै एमबाप्पेले तीन विश्वकपमा २२ गोल गरेर नयाँ कीर्तिमान बनाएका हुन् । यसअघि २१ गोल गरेका मेसीसँग यो कीर्तिमान रहेको थियो । यद्यपि सर्वाधिक गोलकर्ताका लागि मेसीसँग अझै अवसर छ । अर्जेन्टिनाले फाइनलमा स्पेनसँग भोलि खेल्दैछ ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।