दमक ।

जनता समाजवादी पार्टी, नेपालले पार्टी समायोजन बारे छलफल गर्न र सरकारको १०० दिन बारे समीक्षा गर्न केन्द्रीय समन्वय समितिको बैठक डाकेको छ ।

भोलि आइतबार (३ साउन)का लागि जसपा नेपालको पार्टी कार्यालय बालकुमारीमा डाकिएको बैठकमा पार्टी समायोजन, सरकारको १०० दिनको समीक्षा र सरकारले तयारी थालेको संविधान संशोधनको विषय बारे छलफल हुने पार्टी स्रोतले जनाएको छ ।

जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच पार्टी एकता भएसँगै जसपा नेपाल विभाजन बारेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले समायोजनको कार्य अगाडि बढेको थिएन । पार्टी विभाजन गर्ने अशोक राई पक्षलाई सर्वोच्चले अवैध ठहर गरेसँगै जसपा नेपालको समायोजन प्रक्रिया अगाडि बढ्न लागेको हो ।

एकतापछिको पार्टी दर्ता प्रयोजनका लागि हाल जसपा नेपाल र लोसपाबाट ५२ जना सदस्य रहने गरी केन्द्रीय समन्वय समिति बनाइएको छ । दुवै पार्टीतर्फका केन्द्रीय समिति यथावत रहेको हुँदा पार्टी समायोजनको प्रक्रिया टुङ्ग्याउने बारे बैठकमा छलफल हुने केन्द्रीय समन्वय समिति सदस्य लाक्पा शेर्पाले जानकारी दिए ।

पार्टी समायोजना प्रक्रियासँगै दुवै दलबाट मिलाएर पदाधिकारीसहितको केन्द्रीय समिति गठनलगायत पार्टीको प्रदेश र जिल्ला संरचना निर्माण गर्नेगरी तयारी बैठक डाकिएको हो ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले दुवै पार्टीका शीर्ष नेताहरूसँग आवश्यक आन्तरिक छलफल सकेर पार्टी समायोजनका लागि बैठक डाकेको बताइएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्