एमालेमा पार्टी पुनर्गठनको बहस चर्को भएको बेला अध्यक्ष केपी ओलीले नेताहरूलाई हैसियत देखाइदिने बताएका छन् । असार २२ गते सोमबार प्रवास कमिटीका नेताहरूसमेत पुनर्गठनको पक्षमा खुलेपछि ओली झनै आक्रोशित देखिए ।
सातै प्रदेश, राजधानी विशेष, जनसंगठन, पार्टी विभागहरू र प्रवास कमिटी सबैतिर ओलीको बहिर्गमनका पक्षमा नेताहरूले खुलेर कुरा राखेको एक पदाधिकारीले बताए । देशभरको माहोल पक्षमा नदेखिएपछि ओली गालीगलौजमा समेत उत्रन लागेको नेताहरूको निश्कर्ष छ ।
‘मैले योजना आयोगको सदस्य बनाएँ, अरु जिम्मेवारी पनि दिएँ तर अहिले उसले मेरैविरुद्ध बोल्यो,’ जनसंगठनहरूको संयुक्त भेलामा पार्टी पुनर्गठन र ओलीको बहिर्गमन हुनुपर्छ भनेर बोलेका केन्द्रीय सदस्य मीनबहादुर शाहीबारे ओलीले गुण्डुमा भनेका छन्, ‘कहिले झलनाथ, कहिले ईश्वरतिर लागेको अवसरवादीले मलाई कतिलाई कारवाही गर्नुहुन्छ भनेर प्रश्न गर्ने ?’ मीनबहादुरजस्तै अरु नेताका हकमा पनि ओली चर्को सुनिएको नेताहरूले बताए् । पुथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल र राजन भट्टराईप्रति ओली झन् आगो बनेको भन्ने श्रोतका अनुसार कार्यदलको प्रतिवेदनलाई जसरी पनि विवादित बनाउन रामबहादुर थापा बादललाई ओलीले निर्देशन दिएका छन् । ‘प्रतिवेदन महासचिव शंकर पोखरेलले लेखिरहनुभएको छ, मंगलबार बेलुकासम्म सक्ने र त्यसमाथि छलफल गर्ने तय भएको छ ।’ एमालेका एक सचिव भन्छन्, ‘त्यही प्रतिवेदनउपर छलफल गर्न बिहीबार सचिवालय बैठक बोलाइएको छ ।’
फागुन २१ को निर्वाचनमा भएको लज्जास्पद हारको समीक्षा र पार्टी पुनर्गठनका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा बनेको कार्यदलले छुट्टै प्रतिवेदन लेखेर सकिन लागेको छ । प्रतिवेदनमा सर्वसम्मति जुट्ने सम्भावना ओलीकै कारण न्यून रहेको महासचिव शंकर पोखरेलले नेताहरूलाई बताएका छन्् । ‘बादल कमरेड, महेशजी र भानुजीको फरक मत आउला, अरुको त्यस्तो रहन्न, प्रदेश इञ्चार्जमध्ये केहीले ओलीको भाषा बोल्छन् कि भन्ने छ तर जे जस्तो परिस्थिति आए पनि पार्टी पुनर्गठन हुनुपर्छ, यही नेतृत्वबाट अब अगाडि जान सकिन्न ।’
शंकर पोखरेललगायतका नेताहरूलाई विदेशीको इशारामा चलेको, पैसा खाएको, बिकेको जस्ता आरोप ओलीले गुण्डुमा जाने जो कोहीसँग लगाउन थालेको भनी एमाले नेताहरूले महासचिवको ध्यानाकर्षण गराएका छन् । ‘जो जाँदा पनि उहाँले शंकरसहितका नेतालाई देखाइदिन्छु मात्र भन्नुहुन्छ, खाली अपमान र गाली गर्नुहुन्छ,’ हालै गुण्डुमा ओलीलाई भेटेका एक नेता भन्छन्, ‘आफू नभए पार्टी चल्न सक्दैन जस्तो गर्नु हुन्छ, रिसले मुर्मुरिएर जे पनि बोल्न थाल्नुहुन्छ ।’ २५ गतेको सचिवालय बैठकले कार्यदलको प्रतिवेदन पास गर्ने छनक पाएका ओली जसरी पनि माहोल बिथोल्नतिर लागेको बुझिएको छ ।
‘मेरो अध्यक्षतामा बैठक बसेर मलाई नै कमजोर बनाउँछु भनेका होलान्,’ ओलीले भनेका छन्, ‘धेरै चुरफुर गर्दा के हुन्छ केहीले देखे, अरुले पनि देख्नेछन् ।’ विष्णु पौडेलको नाम नलिई ओलीले अरु नेताहरूको पनि त्यस्तै हालत हुने चेतावनी दिएको बताइन्छ । ‘कसको के छ मलाई थाहा छैन र ? लोभीहरूले केसम्म गरेका छन् ? मसँग एउटा कुरा गर्ने, उता गएर अर्को कुरा गर्ने ?’ एमाले सचिव खगराज अधिकारीको नामै लिएर ओलीले भनेका छन्, ‘दोग्ला कुरा गर्दा के हुन्छ, थाहा पाउला !’
सचिवालय बैठकबाट केन्द्रीय कमिटीको बैठक बोलाउने र त्यहीँबाट बहुमत सावित गर्ने रणनीतिमा ओली रहेका छन् । नेताहरूका अनुसार ओलीले केन्द्रीय सदस्यहरूलाई एक–एक फोन गर्ने र भेट्ने रणनीति लिएका छन् तर धेरैजसोले बीचबीचको कुरा गरेका कारण ओली उत्साहित हुन नसकेको एक सचिवले बताए । उनका अनुसार विष्णु, पृथ्वी, शंकरलगायतका नेताहरूलाई कारवाही गरेर भए पनि जोगिने दाउमा ओली रहेका छन् ।
निर्वाचन समीक्षानिम्ति गठित कार्यदलको प्रतिवेदनमा बहुमत सदस्यको हस्ताक्षर गराएर भए पनि कार्यान्वयनमा लैजाने र त्यही प्रतिवेदनका आधारमा ओलीलाई हटाउने रणनीतिमा शंकर पोखरेल लगायतका नेताहरू रहेका छन् । विष्णु पौडेल पक्राउ परेपछि पार्टी पुनर्गठनको विषय सकिने ओलीले सुनाएका थिए तर झन् आक्रामक रूपमा शंकर पोखरेल अगाडि बढेको गुण्डुनिकट स्रोतले जानकारी दिएको छ ।
जनाअस्थाबाट

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।