पाँच वर्षपछि मुलुकको प्रधानमन्त्री बन्ने योजनासहित देश दौडाहा गरिरहेका हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी आफ्नै गृह प्रदेशभित्र विवादमा फस्दै गएको छ । गत निर्वाचनमा एमाले र नेकपाजस्ता संगठित शक्तिलाई पछाडि पार्दै कोशीमा तेस्रो भएको उक्त पार्टीको नेतृत्व र कतिपय नेताका कारण धरानमा सांस्कृतिक तथा साम्प्रदायिक द्वन्द्वको खतरा निम्तिएको बताइन्छ ।

खासगरी लिम्बु समुदायको आस्थाको केन्द्र मानिने विजयपुर (दरबार) गढी क्षेत्रमा राई समुदायले जग्गा ओगटेर भौतिक संरचना निर्माण र हस्तक्षेपयुक्त गतिविधि बढाएपछि झडपको खतरा बढेको हो ।

धरान उपमहानगरपालिकाको वडा नम्बर १४ मा पर्ने उक्त क्षेत्रमा पछिल्लो समय राई समुदायले सांस्कृतिक चिन्ह ‘वाबो’ गाडेको छ । त्यस्तै लिम्बुहरूको संस्कृतिसँग जोडिएका पुराना संरचना भत्काएर नयाँ संरचना बनाइँदै गरेको समेत बुझिएको छ । श्रम संस्कृति पार्टीमा आवद्ध केही नेताको अगुवाईमा भइरहेका यस्ता गतिविधिले आफूहरूको आस्थामाथि प्रहार गरेको लिम्बुहरूको बुझाइ छ । 

‘यो क्षेत्रले मूलतः लिम्बुहरूको पहिचान बोकेको छ,तर राई समुदायले पनि मिसिएर लामो समयदेखि यसै क्षेत्रमा पूजापाठ र मेला गर्दै आएका छन्’, किरात याक्थुङ चुम्लुङका एक पदाधिकारी भन्छन्,‘उनीहरूले पूजापाठ र मेला गर्दैमा लिम्बु समुदायलाई पनि कुनै समस्या हैन,लिम्बु समुदायले बनाएका पुराना ऐतिहासिक संरचना भत्काएर आफ्नो समुदायको संरचना खडा गर्न थालेपछि मात्रै समस्या उत्पन्न भएको हो ।’ 

बूढासुब्बा र दन्तकाली मन्दिरसमेत पर्ने उक्त क्षेत्रमा ‘सांस्कृतिक सम्बन्ध बलियो होस्’ भनेरै राई समुदायलाई पनि लिम्बु समुदायले उँधौली र उँभौलीमा पूजापाठ तथा मेला गर्न दिएको ती पदाधिकारीले बताए । ‘तर अहिले त बास दिएको पाहुनाले घर नै कब्जा गरेर लालपुर्जा आफ्नो बनाउन खोजेको जस्तो भयो,यो समस्याको जड श्रम संस्कृति पार्टीमा आवद्ध केही नेता हुन्’,ती पदाधिकारीले थपे । 

०७४ सालमा पनि एडिबीले ऐतिहासिक संरचना भत्काएर ठूलो पानी ट्यांकी बनाउन खोजेको थियो । त्यतिबेला सेना र प्रहरीसमेत परिचालन गरिएको,गोली चल्ने अवस्था आएको, तर लिम्बु समुदायले सशक्त प्रतिकार गरेपछि उक्त परियोजना अगाडि नबढेको ती पदाधिकारी बताउँछन् । उनले सुनाए, ‘ऐतिहासिक संरचनासँग लिम्बु समुदायको गहिरो आस्था जोडिएको छ, त्यतिबेला गोली खान तयार भएर जोगाएका संरचना अहिले राई समुदायले भत्काएपछि कसरी सहन्छन् र !’

केही दिनयता राई समुदायको अगुवाई गरेका श्रम संस्कृति पार्टीका केही नेता र लिम्बु समुदायका अगुवाहरूबीच चरणबद्ध रूपमा छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको बुझिएको छ । उता, श्रम संस्कृति पार्टीले चिम्ने डाँडामा किनेको भनिएको जग्गा पनि विवादमा परेको छ । धरान उपमहानगरको मेयर हुँदा चन्दा उठाएर ‘श्रम संस्कृति पार्क’ बनाएका हर्क साम्पाङले वडा नम्बर २० स्थित चिम्ने डाँडामा ‘सिलाम साक्मा पार्क’ बनाउने भन्दै २८ कठ्ठा जग्गा १४ करोडमा किनेको विषय पार्टीकै नेताहरूले सार्वजनिक गरिसकेका छन् । तर रोचक के छ भने, ७ करोड पनि नपर्ने उक्त जग्गालाई साम्पाङको समूहले किन १४ करोडमा किन्यो ? आरोप लागेको छ । स्थानीय स्रोतका अनुसार वडा नम्बर २० मा प्रतिकठ्ठा चार लाखदेखि मोल शुरु हुन्छ । ‘यो वडामा सबैभन्दा बढी मूल्य पर्ने जग्गा भनेको प्रति कठा २० लाखसम्म हो’, स्रोत भन्छ, ‘तर चिम्ने डाँडामा त्यति पर्दैन,त्यो क्षेत्र पुरै भिरालो र थुम्को मात्र छ।’ 

साम्पाङको समूहले प्रतिकठ्ठा २० लाख तिरेर किनेको भए पनि २८ कठ्ठाको पाँच करोड ६० लाख पर्न आउँछ । तर १४ करोड किन तिरियो ? यहीँनेर गडबडीको आशंका छ । स्थानीय स्रोत भन्छ, ‘जग्गा बेच्ने मान्छेले ७ करोडमा बेचेको हुँ भन्छ, साम्पाङ र उनका मान्छेले १४ करोडमा किनेका हौँ भन्छन्,हिसाबको तालमेल नै मिलेन, केही गडबडी पक्का छ।’ 

साम्पाङ समूहले त्यहाँ ‘सिलाम साक्मा पार्क’ बनाउन कति चन्दा उठायो भन्ने हिसाब देखाउन नसक्दा जनतामा आशंका सिर्जना भएको देखिन्छ । कुनै बेला साम्पाङकै टिममा रहेर काम गरेका र अहिले अलग रहेका निनाचन्द्र राईले ‘बाफ रे बाफ’ भन्दै लगाएको आरोपलाई समेत अपारदर्शी चन्दा संकलनले बल पुर्‍याएको छ । उनले भनेका छन्, ‘बाँदर कुद्ने भीरलाई १४ करोड भनेर कसैले पत्याउँछ ? यो त बाफ रे बाफ नै हो ।’

जनाअस्था बाट साभार

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्