माङसेबुङ–६ स्थित साबिक बाझो–६ (टोल स्तरीय) महिला लुङ्गी फुटबल टिम ।

उमेर ढल्केका आमाहरू पुराना जोस र तन्दुरुस्तीका साथ उत्रन्छन् मैदानमा

सजन राई
माङसेबुङ ।

नेपाली खेलकुदको क्षेत्रमा फुटबलको लोकप्रियता गाउँदेखि सहरसम्म व्याप्त छ । तर, पूर्वी नेपालको इलाम जिल्लास्थित धार्मिक तथा पर्यटकीय क्षेत्र माङसेबुङमा खेलिने फुटबलको एउटा स्वरूपले भने अचेल जोसुकैलाई आकर्षित गर्ने गरेको छ । त्यो हो ‘महिला लुङ्गी फुटबल प्रतियोगिता’ ।

सामान्यतया हाफपेन्ट र भेस्ट अर्थात् जर्सीमा मैदान उत्रिने खेलाडीहरू देखिरहेका दर्शकका लागि परम्परागत पोशाक ‘लुङ्गी’ बेरेर फुटबल मैदानमा उत्रिएका महिलाहरूको खेल हेर्नु आफैँमा एउटा फरक र रोमाञ्चक अनुभूति हो । इलामको माङसेबुङ गाउँपालिकामा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगिताहरूमा अचेल यो विधा मुख्य आकर्षणको केन्द्र बन्ने गरेको छ । मैत्रीपूर्ण खेलको रूपमा महिलाहरू लुङ्गी लगाएर मैदानमा फुटबल खेल्न उत्रन्छन् । यो खेल एउटा रमाइलो प्रतियोगिता मात्र होइन, यसले स्थानीय मौलिक पहिचान, पुराना पुस्ताको खेलप्रतिको भोक, शारीरिक तन्दुरुस्ती र पुस्तान्तरणको सन्देशसमेत बोकेको छ ।

माङसेबुङ–६ का टोलस्तरीय युवा तथा खेलकुद समितिका अध्यक्ष रत्नकुमार राईका अनुसार यो प्रतियोगिताको आफ्नै विशिष्ट नियम र महत्व छ । साबिकका वडाहरूलाई मिलाएर बनाइएको टोल स्तरीय फुटबल प्रतियोगितामा अन्य थुप्रै विधाहरू समावेश हुन्छन्, जसमध्ये महिला लुङ्गी फुटबल अग्रपंक्तिमा आउँछ । छिमेकी जिल्ला र पालिकाहरूमा पनि लुङ्गी खेलको आयोजना हुने गरे पनि माङसेबुङ–६ ले भने यसमा एउटा नयाँ र सकारात्मक नियम भित्र्याएको छ– उमेरको सीमा । अन्य ठाउँमा उमेरको पावबन्दी नहुने भए पनि यहाँ विशेष गरी ३० वर्षभन्दा माथिका महिलाहरूका लागिमात्र यो खेल आयोजना गरिन्छ । ‘हाम्रोमा मुख्य महिला फुटबल प्रतियोगिता पनि आयोजना हुन्छ । त्यहाँ खेल्न सक्ने योङ उमेरका र ऊर्जावान खेलाडीहरूले सहभागिता जनाउँछन् । जसका कारण उमेर ढल्केका वा शारीरिक रूपमा भर्खरका खेलाडी सरह दौडिन नसक्ने महिलाहरूले खेल्ने अवसर पाउँदैनथे,’ उनी भन्छन्, ‘तर, उहाँहरूमा खेलप्रतिको इच्छा भने मरेको हुँदैन । जसलाई खेल्न मन छ तर मुख्य टिममा पर्न सक्दैनन्, उनीहरूलाई समेट्न हामीले यो विधा ल्याएका हौँ । पुरुषतर्फ भेट्रान खेल भए जस्तै महिलातर्फ हामीले यो लुङ्गी खेल राखेका हौँ ।’

यसले गर्दा प्रतियोगिताको रौनक त बढेको छ नै, मैदानमा पुराना महिला खेलाडीहरूको पुरानो जोस र उत्कृष्ट प्रदर्शन फेरि हेर्न पाइने अवसर मिलेको छ । डिजिटल दुनियाँ र सामाजिक सञ्जालमा हराइरहेको नयाँ पुस्ताका लागि गाउँघरका आमा र दिदीहरूले मैदानमा देखाएको यो उत्साह फरक र प्रेरणाको स्रोत बनिरहेको छ ।
माङसेबुङ खेलकुदका लागिमात्र होइन, वार्तमान किरात धर्मगुरूपत्नी साँबा पवित्रहाङमा लिङ्देनको जन्मभूमिको रूपमा पनि प्रख्यात छ । माङसेबुङ–५ स्थित आत्मा पवित्र हक्चात् यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङका अनुसार गुरुआमाको शुभ जन्मोत्सवमा हरेक वर्ष यहाँ ‘पवित्रहाङमा गोल्डकप’ आयोजना हुने गर्दछ । यो राष्ट्रियस्तरको महिला गोल्डकपको फाइनलको दिन वर्षेनी लुङ्गी महिला फुटबल प्रतियोगिता गराउने परम्परा नै बसिसकेको छ । ‘गुरुआमाको नाममा खेलाउँदै आएको महिला गोल्डकपलाई अझ बढी रोमाञ्चक र जनमुखी बनाउन हामीले लुङ्गी फुटबलको सुरुवात गरेका हौँ,’ अध्यक्ष आङबुहाङ भन्छन् ‘यसको मुख्य उद्देश्य भनेको स्थानीय पहिचान झल्काउनु र दर्शकलाई एउटा अर्गानिक (मौलिक) खेलको स्वाद दिनु हो ।’ यो खेलले महिलाहरूमा अभूतपूर्व उत्साह र प्रेरणा थपेको उनको बुझाइ छ । उनी भन्छन्, ‘यो खेल विशेष गरी रमाइलोका लागि हो र यसले महिलाहरूको स्वास्थ्यमा पनि ठूलो टेवा पुर्याउँछ ।’

‘पवित्रहाङमा गोल्डकप’ को पछिल्लो संस्करणमा लुङ्गी फुटबल प्रतियोगिता प्रतिष्पर्धा पनि निकै रोचक रहेको थियो । थामेन्दिङ आमा समूह र कृषि महिला समूहबीच भएको अन्तिम भिडन्तमा कृषि महिला समूह विजेता बन्न सफल भयो । विजेता टोलीले नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पा¥यो भने उपविजेता टोलीले नगद ५ हजार रुपैयाँमा चित्त बुझायो । यो पुरस्कार राशि भन्दा पनि मैदानमा उनीहरूले पाएको सम्मान र आत्मसन्तुष्टि निकै ठूलो थियो ।
हाफपेन्ट लगाएर मैदानमा कुद्नु र एउटा निश्चित घेरा भएको लुङ्गी बेरेर बलको पछि दौडिनुमा आकाश–जमिनको फरक छ । तर, यही अप्ठ्यारोभित्र लुकेको मजा नै यो खेलको सुन्दरता हो । माङसेबुङ–६ स्थित साबिक बाझो–६ (टोल स्तरीय) महिला लुङ्गी फुटबल टिमकी कप्तान मन्जु राई यसपटकको प्रतियोगिता जितेपछि निकै प्रफुल्ल छिन् । अघिल्लो वर्ष दोस्रो स्थानमा चित्त बुझाएको उनको टोली यस वर्ष प्रथम हुन सफल भयो र नगद २० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । ‘जर्सी लगाएर खेलेजस्तो सजिलो त पक्कै हुँदैन लुङ्गीमा । तर, यो खेलमा एउटा छुट्टै अनुशासनमा बसेर खेल्नुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘लुङ्गी सम्हाल्दै बल नियन्त्रणमा लिनु र गोल गर्नुको मजै बेग्लै छ । यो खेल हेर्दा खेलाडी मात्र होइन, दर्शकहरू पनि निकै उत्साहित हुन्छन् ।’

मन्जुका अनुसार यो खेल १ दिनको मनोरञ्जन मात्र होइन, यसले आउने पुस्तालाई खेलकुदमा लाग्ने प्रेरणा प्रदान गर्नुका साथै उमेर ढल्किँदै गएका महिलाहरूलाई शारीरिक रूपमा स्वस्थ रहन मद्दत पु¥याउँछ । अचेल उनीहरूको टोली टोलस्तरीय खेलमा मात्र सीमित छैनन्, निमन्त्रणा आएमा गाउँबाहिर अन्य क्षेत्रमा गएर समेत खेल्ने गरिएको उनी बताउँछिन् ।

फुटबल भन्ने बित्तिकै फिफा र एन्फाका नियमहरू, फल, कार्ड र अफसाइडको परिकल्पना गरिन्छ । तर, भौगोलिक बनोट र खेलको प्रकृतिअनुसार नेपालका गाउँघरमा खेलका नियमहरू फरक हुने गर्छन् । माङसेबुङ–६ का स्थानीय रेफ्री कुमार राईका अनुसार भौगोलिक कठिनाइका कारण सबै ठाउँमा अन्तर्राष्ट्रिय नियम हुबहु लागू गर्न असम्भव हुन्छ । कतिपय ठाउँमा ७ साइड खेल खेल्दा अफसाइड नहुने र डिबक्स भित्रबाट थ्रो गर्न नपाइने स्थानीय नियम बनाइएका हुन्छन् । ९ साइड र ११ साइड खेलमा मात्र फिफा र एन्फाको नियम कडाइका साथ लागू गरिन्छ ।

लुङ्गी फुटबलको हकमा भने ‘भेट्रान’ खेलको नियम लागू गरिने रेफ्री राई बताउँछन् । तर, यसमा पनि आयोजकले आफ्नो सहजता अनुसार केही ‘बिनियम’ (स्थानीय नियम)हरू परिमार्जन गर्न सक्छन् । आयोजकले खेल सुरु हुनुअघि माइन्युट गरेर बनाएको नियमका आधारमा खेल सञ्चालन हुन्छ । ‘युवाहरूको खेलमा जस्तो लुङ्गी फुटबलमा ‘टाइट गेम’ खेलाइँदैन । खेलाडीहरूको उमेर र लुङ्गीको असहजतालाई ध्यानमा राखेर साना–तिना गल्तीहरूलाई हामी रेफ्रीहरूले ‘एड्भान्टेज’ नै दिने गर्छौँ,’ राई भन्छन्, ‘यस खेलको अर्को सुन्दर पक्ष के हो भने, खेल अवधिभर जुनसुकै बेला खेलाडी बाहिर निस्कन र पुनः मैदान पस्न (रोलिङ सबस्टिच्युसन) पाउने व्यवस्था प्रायः गरिएको हुन्छ ।’ यो खेल खेलाउँदा रेफ्रीहरूलाई कुनै मानसिक दबाब वा प्रेसर नहुने उनी बताउँछन् । ढुक्कले खेलाउन पाइने उनको अनुभव छ । मैदानमा खेलाडीहरू पनि जित–हारको तनावबिना, हाँस्दै र रमाइलो गर्दै खेल्ने रेफ्री राई बताउँछन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्