दमक । दमक ८ की रमा तिवारीको हत्यामा प्रहरीभन्दा पहिला युट्युबर र फेसबुक पेज सञ्चालकले एउटा निष्कर्ष निकाले– हत्यारा उनका ब्वाइफ्रेन्ड ! सामाजिक सञ्जाल प्रयोगकर्ता र युट्युबका कन्टेन्ट क्रिएटरहरू रमाको घरमै पुगेर केरकार गर्दै प्रहरीभन्दा पहिल्यै ती व्यक्तिलाई हत्यारा सावित गरिदिए । लाग्छ, ती सामाजिक सञ्जाल प्रयोगकर्ता र युट्युबर नै कानूनी मान्यताप्राप्त आधिकारिक अनुसन्धान अधिकृत हुन् । उनीहरूलाई प्रहरीको अनुसन्धानको निष्कर्षभन्दा पहिला आफ्नो मनगढन्ते र भ्रामक निष्कर्ष सुनाउन यति हतार भयो कि, भ्यूज र डलरको खेतीका लागि एउटा निर्दोषको जिन्दगी बर्बाद बनाउन उनीहरूले कति पनि हिचकिचाएनन् । ती कथित डिजिटल अनुसन्धानकर्ताहरूका कारण नै ‘रमाका ब्वाइफ्रेन्ड’ भनिएका ती व्यक्तिले समाजमा अनावश्यक र हदैसम्मको दुःख पाए । मानसिक प्रताडना भोगे र प्रहरीको हिरासतसम्म पुग्न बाध्य भए । तर, पछि प्रहरी अनुसन्धानले निचोड भने बिल्कुल अर्कै निकाल्यो । रमाको हत्या गर्ने व्यक्ति उनका ब्वाइफ्रेन्ड नभई अर्कै व्यक्ति थिए ।
युट्युब र सामाजिक सञ्जालमा आएका यस्ता गलत, भ्रामक र उत्तेजक कन्टेन्ट र विवरणले अनुसन्धान नै गिजोलिने र वास्तविक अपराधी उम्किने खतरा पैदा भएपछि जिल्ला प्रहरी कार्यालय झापा विज्ञप्ति निकाल्न नै बाध्य भयो । तिवारी हत्या प्रकरणको अनुसन्धानलाई लिएर सञ्चार माध्यम र सामाजिक सञ्जालमा अतिरञ्जित समाचारहरू सम्प्रेषण भइरहेको भन्दै अनुसन्धानका संवेदनशील तथ्यहरू आधिकारिक स्रोतबाट पुष्टि नगरी अनुमानका भरमा प्रकाशन तथा प्रसारण नगर्न सञ्चार माध्यम, सञ्चारकर्मी तथा सर्वसाधारणमा अनुरोध गर्दै प्रहरीले चेतावनीयुक्त विज्ञप्ति जारी गरेर संवेदनशीलता जोगाउन अपिल गर्नु परेको थियो ।
गत १६ जेठमा दमक नगरपालिका–१० स्थित रतुवा खोलामा बोरामा पोको पारिएको, सडेर दुर्गन्धित अवस्थामा २१ वर्षीया रमा तिवारीको शव फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार जेठ १३ गते राति करिब ११ बजे नै शारीरिक सम्पर्कका लागि पैसाको लेनदेनमा विवाद हुँदा रमाको हत्या भइसकेको थियो । रमाको शव भने हत्या भएको ३ दिनपछि अर्थात् १६ जेठमा बोरामा पोको पारेको अवस्थामा फेला परेको थियो । शव सडेर दुर्गन्धित भइसकेको हुनाले पहिचान र क्लू पहिल्याउन प्रहरीलाई निकै सावधानीपूर्वक र सूक्ष्म ढंगले अघि बढ्नुपर्ने आवश्यकता थियो । तर, प्रहरीले प्राविधिक अनुसन्धान सिध्याउनु र घटनास्थलको प्रमाण सुरक्षित गर्नु अगावै युट्युब र फेसबुकमा एउटा अलग्गै समानान्तर अदालत खडा भइसकेको थियो र फैसला नै सुनाइसकिएको थियो ।
बिना कुनै तथ्य र प्रमाण अनुमानका भरमा रमाका ब्वाइफ्रेन्ड भनिएका व्यक्तिलाई शतप्रतिशत हत्यारा किटान गर्दै सामाजिक सञ्जालमा उनको तस्बिर, व्यक्तिगत विवरण र चरित्रहत्या गर्ने खालका भिडियोहरू भाइरल बनाइए । पत्रकारिताको न्यूनतम मर्यादासमेत नभएका कयौँ युट्युबर र सामाजिक सञ्जाल प्रयोगकर्ताले शोकमा डुबेको परिवारको घरमै क्यामरा बोकेर पुगे । उनीहरूले अनुसन्धानकर्ता प्रहरी र फैसला सुनाउने न्यायाधीशको शैलीमा केरकार गरे । यता इलाका प्रहरी कार्यालय दमकले भीडको उत्तेजना र सामाजिक सञ्जालको न्यारेटिभको दबाबमा नपरि प्राविधिक र सूक्ष्म अनुसन्धान जारी राख्यो । अन्ततः हत्यारा रमाका ब्वाइफ्रेन्ड नभई भारत बिहारको अररिया ग्रामपञ्चायत घर भइ हाल दमक–५ मा बस्दै आएका ३३ वर्षीय राकेशकुमार पण्डित भएको तथ्य बाहिर आयो ।
प्रहरीभन्दा अघि सामाजिक सञ्जालमा हत्यारा अर्कै भएको भन्दै व्यापक भ्रम फैलाइएका कारण वास्तविक अपराधी प्रमाण नष्ट गरेर भाग्ने र सिङ्गो अनुसन्धान प्रक्रिया नै पथभ्रष्ट हुने गम्भीर खतरा पैदा भएको थियो । यसले अनुसन्धानमा अहोरात्र खटिएका अधिकारीहरूलाई समेत चरम मानसिक हैरानी दिएको थियो ।
पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक उत्तम सुवेदी अहिले अनुसन्धानमा देखिएको चुनौतीमध्येको सबैभन्दा ठूलो चुनौती नै सामाजिक सञ्जाल भएको बताउँछन् । सामाजिक सञ्जालले बनाइदिएको भ्रमको मानसिकताअनुसार बसेका आम जनतालाई प्रहरीले गरेको वास्तविक र तथ्यपरक अनुसन्धान पछि फरक पर्दा बुझाउनै गाह्रो हुने उनको अनुभव छ ।
यस्तो अवस्थामा जनताले प्रहरीको निष्कर्षलाई नमान्ने, सडकमा विरोध गर्ने र कुनै पनि हालतमा कन्भिन्स हुन नसक्ने अराजक अवस्था देखा पर्ने उनी बताउँछन् । ‘अहिले अनुसन्धानमा देखिएको चुनौतीमध्येको सबैभन्दा चुनौती सामाजिक सञ्जाल हो । समाजिक सञ्जाले बनाइदिएको भ्रमको माइनसेटअनुसार बसेका जनतालाई प्रहरीले गरेको अनुसन्धान फरक प¥यो भने, नमान्ने विरोध गर्ने र कन्भिन्स हुन नसक्ने अवस्था देखा पर्छ,’ उनले भने, ‘अर्कोतर्फ समाजिक सञ्जालमा ब्याप्त हुँदा कताकता प्रहरीको अनुसन्धान अधिकृत पनि प्रभावित भएको देख्छु ।
सामाजिक सञ्जालको दुष्प्रभावमा कहिलेकाहीँ परेको देखिन्छ । सरकारी वकिलदेखि अदालत पनि प्रभावित भएको देखिन्छ । समग्रमा भन्दा सामाजिक सञ्जाललले अनुसन्धानमा एक प्रकारले गरेको हस्तक्षेपले नराम्रो र नकारात्मक नतिजातर्फ उन्मुख भइरहेको छ । यस बारेमा सबै सचेत हुनुपर्छ ।’
त्यस्तै, पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल पनि सामाजिक सञ्जालका कारण अनुसन्धान प्रक्रिया र अनुसन्धानकर्ताको मनोविज्ञानमा गम्भीर क्षति पुगिरहेको स्वीकार्छन् । सामाजिक सञ्जालले आफैँ अनुसन्धान अधिकृत जस्तै बनेर पहिले नै अपराधी घोषणा गरिदिँदा, पछि वैज्ञानिक प्रमाणका आधारमा प्रहरीले ल्याएको फरक निष्कर्ष आउने बित्तिकै आम मानिसमा प्रहरीको अनुसन्धानमाथि नै ठूलो अविश्वास पैदा गराइने उनी बताउँछन् ।
सामाजिक सञ्जालका कारण अनुसन्धान अधिकृतहरूमा एकप्रकारको त्रास उत्पन्न हुन्छ र कतिपय अवस्थामा त किन झमेलामा पर्ने, अनुसन्धान नै नगर्ने हो कि भन्ने जस्तो डरमा समेत पर्ने गरेको उनी बताउँछन् । ‘सामाजिक सञ्जालका कारण धेरै चुनौती थपिएको छ । सामाजिक सञ्जालले अनुसन्धान अधिकृत जस्तै गरिदिँदा पछि प्रहरीको अनुसन्धान फरक आयो भने प्रहरीको अनुसन्धानमा अविश्वास बढाउने काम गर्छ । अगाडि नै सामाजिक सञ्जालमा आउँदा प्रहरी अनुसन्धान पनि गिजोलिन सक्छ,’ उनले भने, ‘घटना एउटा हुन्छ सामाजिक सञ्जालमा अर्कै प्रकारले दिँदा जनता अर्कै प्रकारले डाइभड हुन्छन् । अनुसन्धान अधिकृतलाई पनि गलत गरिरहेको छु कि भन्ने दबाब सृजना गर्ने डर हुन्छ । यसले अनुसन्धान अधिकृतको आत्मविश्वास पनि कमजोर बनाउन सक्छ । अनुसन्धान अधिकृतलाई त्रास हुन्छ । यसरी आउँदा अनुसन्धान नै नगर्ने हो कि भन्ने डर पनि बनाउँछ ।’
पत्रकार आचारसंहिता र कानुनलाई हातमा लिएर गरिने यस्ता गैरजिम्मेवार मिडिया ट्रायल र सामाजिक सञ्जालको गिजलोका कारण कञ्चनपुरकी बालिका निर्मला पन्तजस्ता धेरै संवेदनशील घटनामा प्रहरी आजसम्म सही निष्कर्षमा पुग्न सकेको छैन । भलै, दमककी रमाको हत्याको घटनामा झापा प्रहरी भीडको प्रभावमा नपरि सत्य बाहिर ल्याउन सफल भयो, तर हरेक पटक प्रहरीले यस्तो दबाब झेल्न सक्ने अवस्था रहँदैन ।
त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका उपप्राध्यापक ऋषिकेश दाहाल आजको डिजिटल मिडियाको सबैभन्दा कुरूप पाटो समाजमा रहेको मिडिया साक्षरताको कमीलाई मान्छन् ।
‘समाजिक सञ्जालको प्रभावले उत्पादन र उपभोगको संस्कार विकास गरेको छ । समाचार बनाउने प्रक्रिया पूरा नगरी सामग्री उत्पादन गर्न सक्ने अवस्था बन्यो । त्यस्तोमा कसैले गरेका काम राम्रो त हुन्छ तर सबैले राम्रो काम गर्न सक्दैन । सामाजिक सञ्जालबाट असाध्यै छिटो प्रवाह हुन्छ । मनिटाइज चाहिँ पछिल्लो समय चर्चित शब्द बनेको छ । मनिटाइज गर्नका लागि सेन्सेशनल सामग्री उत्पादन गर्ने प्रक्रिया अगाडि बढेको छ । समाजमा मिडिया साक्षरताको तह एकदमै कमजोर छ ।
कुनै स्थापित मिडियाबाट सम्पादनको प्रक्रिया पूरा भएर आएको समाचार सामग्री र व्यक्तिले सामाजिक सञ्जालमा उत्पादन गरेको सामग्री अन्तर छ भन्ने बुझाइ छैन,’ उनले भने, ‘समाजले दुवैलाई पत्रकारको रूपमा हेर्छ । सामाजिक सञ्जालका इन्फ्लोइन्सर र कन्टेन्ट क्रिएटर र समाचार कक्षमा समाचार आचारसंहिता पालना गर्ने पत्रकारमा आजको दिनमा केही पनि फरक छैन । त्यसले गर्दा समाजले सबैलाई पत्रकारको रूपमा हेरेको छ । त्यसको असर समाचार कक्षमा मिहिनेत गरेर सबै प्रक्रिया पूरा गरेर तयार गरेको सामग्रीभन्दा अलिक सेन्सेसनल हेडलाइन राखेर सामाजलाई तरंगित बनाउने खालका सामग्रीको व्यापक विस्तार भएको छ । मिडिया सारक्षरता नहुँदा सबैलाई असर गरेको छ ।’
यसरी सामाजिक सञ्जाल प्रयोगकर्ता नै अनुसन्धान अधिकृतजस्तो हुँदा प्रहरी अनुसन्धानमा नै प्रभाव पार्न सक्ने उपप्राध्यापक दाहाल बताउँछन् । ‘प्रहरीले अनुसन्धान गर्नु अगाडि नै सामाजिक सञ्जालले निचोड निकाल्ने र घटनाको अनुसन्धान गरेको जस्तो गरेर देखाउने प्रवृत्ति छ । त्यो नै अहिलेको सबैभन्दा ठूलो समस्या हो,’ उनले भने, ‘यसले पत्रकारितालाई त प्रभाव पार्छ नै अनुसन्धानलाई पनि प्रभावित पार्छ । समाजमा एक किसिमको फ्रेमिङ गर्ने काम सोसल मिडिया इन्फ्लोइन्सरले गरिरहेका छन् । उनीहरुले भोलि यसले कति असर पर्छ भन्ने सोच्दैनन् । उनीहरुले भिजिटर कति आउँछन् भन्नेमात्र सोच्छन् । यसले अनुसन्धानलाई पनि प्रभावित पार्ने अवस्था आएकोे छ ।’
मिडिया कुराकानीका सम्पादक रविराज बराल कतिपय सञ्चार माध्यम र कन्टेन्ट क्रियटरको कभरेज व्यवसायिक मर्यादा र पत्रकार आचारसंहिताविपरीत रहेको बताउँछन् । ‘आधिकारिक स्रोतबाट पुष्टि नगरी अनुमानका भरमा सामग्री सम्प्रेषण गर्दा अनुसन्धान प्रक्रियामा प्रतिकूल असर पर्न सक्छ । प्रहरीले यो कुरा यही घटनामा पनि स्पष्ट पारेको छ । यस्ता अड्कलबाजीले समाजमा भ्रम फैलाउँछन् । झन् शोकमा रहेका परिवारका सदस्यको गोपनीयता र संवेदनशीलताको ख्याल नगरी घरमै पुगेर अन्तर्वार्ता लिनु व्यावसायिक मर्यादाविपरीत हो,’ उनले भने, ‘अनुसन्धान नसकिँदै आफैँ न्यायाधीश बनेर फैसला सुनाउने प्रवृत्तिले समाजमा अनावश्यक त्रास र आक्रोश मात्र सिर्जना गर्छ । त्यसैले, यस्ता गम्भीर मुद्दामा अपुष्ट सूचना प्रबाहलाई रोक्नु तथा पीडित परिवारको पीडाप्रति संवेदनशील हुनु जिम्मेवार पत्रकारिता हो ।’


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।