विकास, समृद्धि र सामाजिक न्यायको पक्षमा सदैव अग्रसर रहने एक इमानदार र कर्मठ जनप्रतिनिधिको नाम हो, नवीन लिम्बू । उनी अहिले इलाम माङसेबुङ गाउँपालिका–४ को वडाध्यक्ष छन् । साधा जीवन र जनताको असल प्रतिनिधिका रूपमा आफूलाई चिनाउन चाहने उनी हक्की स्वभावका छन् । वडाबासीलाई आइपर्ने जुनसुकै समस्यामा दिनरात नभनी सेवामा हाजिर हुने लिम्बू रुचाइएका जनप्रतिनिधि हुन् । नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित लिम्बूले आफ्नो कार्यकालको ४ वर्षे अवधिमा वडामा विकासको नयाँ इँट्टा थपेका छन् । बिजुली बाल्न नपाएको गाउँमा बिजुली पु¥याएका छन् । बाटो, खानेपानीलगायत काममा उनको अग्रसरता रहेको छ । उनै वडाध्यक्ष लिम्बूसँग साप्ताहिक बहसले गरेको कुराकानी :
कार्यकालको ४ वर्ष पूरा भयो । यो अवधिमा के अनुभव गर्नुभयो ?
चार वर्षमा सहज र असहज दुवै अनुभव गर्न पाइयो । सहज यो अर्थमा कि जनताको काम गर्न गएको, जनताकै काम गर्न पाइयो । असहज यो अर्थमा कि जताका अपेक्षा असीमित हुन्छन् । पूरा गर्न स्थानीय तहको स्रोत साधनले मात्र सम्भवन हुँदैन । कतिपय स्थानीय तहबाट नहुने कामहरू गर्न सकिएन । समन्वय गर्दागर्दै पनि कतिपय कुरा पूरा हुन सकेनन् । तर, यो अवधिमा सन्तुष्ट हुने गरी केही काम भने पूरा गर्न सकेँ । समग्रमा म यो अवधिमा सन्तुष्ट नै छु ।
तपाईंको कार्यकालमा भएको राम्रो काम के हो ?
हामी माङसेबुङबासीलाई इलामको ‘कर्णाली’ का रूपमा चिनिन्छ । अझ मेरो वडा त चुलाचुली र दमकदेखि नजिक भए पनि धेरै समस्याबाट गुज्रिएको वडा थियो । वर्षा लागेपछि गाउँमा यातायात चल्ने कुरा कल्पना मात्र गर्न सकिन्थ्यो । तर, यो अवधिमा दमकदेखि गाउँसम्म पुग्न सहज हुने अवस्था बनेको छ । दमकदेखि चिसोपानीसम्मको बाटो लामो समयदेखि योजनामा पर्दथ्यो, तर काम हुन सकेको थिएन ।
अहिले हामीले पहल गरेर वडाको झण्डै आधाभन्दा बढी भाग कालोपत्रे गरेका छौँ । बाँकी रहेको ठाउँमा पनि ग्राभेल गरेर सहज बनाएका छौँ । अब दमकदेखि ४५ मिनेटमै वडाको सबैभन्दा माथिल्लो बिन्दुमा पुग्न सक्ने अवस्था आएको छ । हाम्रा नागरिक दिनभर दमकमा काम गरेर साँझ घर फर्कन सक्ने अवस्था छ । गाउँका अन्य भित्री बाटाहरू पनि ग्राभेल गरेर सहज आवतजावत गर्न सक्ने बनाएका छौँ । जस्तोसुकै अवस्थामा पनि अब हाम्रो वडाका नागरिक बाटोकै कारण रोकिनुपर्ने अवस्था छैन ।
०७९ को निर्वाचनअघि बिजुली बलेको हेर्नका लागि दमक वा चुलाचुली आउनुपर्ने बाध्यता थियो । गाउँमा पोल त आएको थियो, तर बिजुली थिएन । अघिल्लो ४ वर्ष हामीले बिजुलीको पोल मात्रै हेरेर बिताएका थियौँ । हामी निर्वाचित भएपछि आवश्यक पहल ग¥यौँ र गाउँमा बिजुली आयो । अहिले वडाका सबै घरधुरीमा बिजुली बलेको छ । यो सबैभन्दा ठूलो उपलब्धि हो । अन्य धेरै काम गरे पनि यो काम मेरो कार्यकालको गर्व गर्न लायक काम हो ।
चुरे क्षेत्रमा पर्ने वडा भएका कारण खानेपानीको सबैभन्दा ठूलो समस्या थियो । हामीले खानेपानी योजनामा राम्रो काम गरेका छौँ । झिल्के खानेपानीलाई सौर्य ऊर्जामार्फत् गाउँ र विद्यालयसम्म पु¥याएका छौँ । गाउँमा शुद्ध पिउने पानी पु¥याउन अझै पनि हामीले नयाँ योजनाको तयारी गरेका छौँ । अहिले ३ वटा खानेपानी योजना सञ्चालनमा छन् । यी योजनाबाट करिब दुई सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन् ।
लक्षित वर्गका लागि कस्ता कार्यक्रम गर्नुभएको छ ?
हाम्रो सबैभन्दा पहिलो प्राथमिकता महिला हुनुहुन्छ । उहाँहरूलाई उद्यमशील बनाउने हाम्रो उद्देश्य हो । यसका लागि हामीले ढाका बुनाइ, सिलाइकटाइ तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौँ । तालिमपछि अहिले महिलाहरूले गाउँमै ढाका बुन्नुहुन्छ र दमकमा ल्याएर बेच्ने गर्नुहुन्छ । उहाँहरू अहिले गाउँमै बसेर आत्मनिर्भर हुने चरणमा हुनुहुन्छ । यस्ता तालिमहरू आदिवासी जनजाति, दलितलगायतका समुदायका लागि पनि आयोजना गरेर आत्मनिर्भर बनाउने प्रयत्न गरेका छौँ । कृषकहरूका लागि हामीले समय–समयमा आवश्यक पर्ने ज्ञान अभिवृद्धिका तालिमहरू आयोजना गरेका छौँ । अर्गानिक खेती उत्पादनका लागि पनि तालिम आयोजना गरिएको छ । कसैले कल्पना नगरेको ‘बाघमारा—सिङफेरे—मार्चेबुङ’ सिँचाइ योजना गाउँमा ल्याएका छौँ । बाख्रा पालनमा साझेदारी कार्यक्रम पनि सञ्चालन गरेका छौँ ।
तपाईंको वडामा अव्यवस्थित बसोबासी र भूमिहीनको संख्या धेरै छ । यसका लागि के गर्नुभएको छ ?
हाम्रो वडामा ५६ घरधुरीको मात्र नम्बरी कित्ता छ । त्यसबाहेक ४ सयको हाराहारीमा अव्यवस्थित बसोबासी र भूमिहीन छन् । उनीहरूको फारम भरेर निस्सा वितरणको काम सकिसकेका छौँ । गाउँपालिकामा नै सबैभन्दा पहिला यहीँबाट निस्सा वितरणको काम सुरु गरिएको हो । हामीले स्थानीय सरकारको तहबाट गर्ने सम्पूर्ण काम पूरा गरेका छौँ । तर, सङ्घीय सरकार स्थिर नहुँदा भूमिहीनहरूले अझै पनि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) पाउन सक्नुभएको छैन ।
तपाईंको वडा त पर्यटकीय सम्भावना बोकेको वडा हो, पर्यटन प्रवद्र्धनमा के गरिरहनुभएको छ ?
हाम्रो वडामा ‘अन्धाराजा अन्धारानी’ धार्मिक तथा पर्यटकीय क्षेत्र पर्छ । यहाँ पर्यटकीय सम्भावना बोकेका केही झरनाहरू पनि छन् । अन्धाराजा अन्धारानी जाने पदमार्ग निर्माण गरेका छौँ । यसलाई हामीले ‘किरात पदमार्ग’ का रूपमा विकास गरेका छौँ, जुन ५ किलोमिटरको छ । दमकबाट सहजै गाडीको यात्रामा सिङफेरे पुगेर त्यहाँबाट पदयात्रा गर्दै जान सकिने भएकाले यो निकै सम्भावना बोकेको पदमार्ग हो । यसका लागि प्रचार–प्रसारको खाँचो छ र हामी प्रचारको काममा लागिपरेका छौँ ।
यो पदमार्गलाई सफल बनाएर पर्यटनमार्फत् गाउँको समृद्धि गर्ने बाटोमा अघि बढेका छौँ । सबै कुरा एकैपटक सम्भव छैन, तर क्रमशः हामी यो काममा लागिपरेका छौँ र यसका लागि हरेक वर्ष बजेट विनियोजन गरेर काम गरिरहेका छौँ । यस्तै, वडामा अँधेरी झरना, अम्बरबाँसे झरनालगायत सम्भावना बोकेका झरनाहरू छन् । गर्मी बढेपछि त्यहाँ दमक, चुलाचुलीलगायतका क्षेत्रबाट जाने मानिसहरूको भीड नै लाग्छ । यसका लागि बाटो निर्माण लगायतका कामहरू भइरहेका छन् ।
वडामा स्वास्थ्य र शिक्षाका लागि के काम गरिरहनुभएको छ ?
विगतमा सामान्य ज्वरो आउँदा पनि दमक नै जानुपर्ने बाध्यता थियो । त्यसमा पनि वर्षाको समयमा आवतजावत नै बन्द हुँदा नागरिकले साह्रै दुःख पाएका थिए । तर, अहिले गाउँमै आधारभूत स्वास्थ्य सेवा पु¥याएका छौँ र स्वास्थ्यकर्मीहरू उपलब्ध हुनुहुन्छ । अहिले आधारभूत स्वास्थ्य उपचारका लागि दमकसम्म धाउनुपर्ने बाध्यता हटेको छ । नागरिकका लागि दैनिक आवश्यक पर्ने सुगर, प्रेसरलगायतका औषधि स्वास्थ्य केन्द्रमै उपलब्ध छन् । यस क्षेत्रका लागि यो सेवा ठूलो उपलब्धि हो । आधारभूत स्वास्थ्य केन्द्रका लागि हामीले नयाँ भवन बनाइरहेका छौँ ।
गाउँमा एउटा माध्यमिक विद्यालय र ४ वटा आधारभूत विद्यालय गरी ५ वटा सामुदायिक विद्यालय छन् । हामीले भवन मर्मतका साथै नयाँ भवन निर्माण गरेर विद्यार्थीहरूलाई सहज वातावरणमा पढ्न सक्ने अवस्था सिर्जना गरेका छौँ । विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि लगानी भइरहेको छ । माध्यमिक विद्यालयका लागि आइसिटी ल्याब, खेलमैदानलगायतको व्यवस्थापन गरिएको छ । गाउँमै गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि हामी निरन्तर प्रयासरत छौँ ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।