बेसार खेतीमा आबद्ध माङसेबुङ-१ का किसान । बेसार बारीमा ।


साप्ताहिक बहस
माङसेबुङ ।

माङसेबुङ २ का किसान हरि राईले बेसार खेती सुरु गरेको चार वर्ष भयो । उनले बेसार खेती सुरु गर्दा माङसेबुङ क्षेत्रमा व्यवसायिक बेसार खेती नै भएको थिएन । उनीसहित माङसेबुङ–२ रत्नबस्तीका २० घर परिवारले सामूहिक बेसार खेती सुरु गरेका थिए ।

माङसेबुङ गाउँपालिकाले पनि त्यो क्षेत्रमा बेसार पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरेर किसानलाई सहयोग ग¥यो । गाउँपालिकाले पहिलो वर्ष ६ लाख र दोस्रो वर्ष ३ लाख तथा मेसिनरी सामग्री सहयोग गरेको थियो । पकेट क्षेत्र कार्यक्रमअन्तर्गत रत्न बस्तीका स्थानीयले १४० रोपनी क्षेत्रमा बेसार खेती गरेको माङसेबुङ गाउँपालिकाले जनाएको छ । स्थानीयले सनराइज कृषि तथा पशुपालन समूह नै बनाएर बेसार खेतीको सुरुवात गरेका थिए । खेती सुरु भएको तेस्रो वर्षसम्म बेसार प्रशोधन गरेर आफैँ बेच्न थालेका थिए । तर, पछिल्ला वर्ष गाउँपालिकाका अन्य क्षेत्रमा पनि व्यापक बेसार खेती वृद्धि भएपछि प्रशोधन केन्द्र बन्द भएको छ । ‘अरूतिर ठुला मेसिन ल्याएर प्रशोधन गर्न थालेपछि हामीले प्रतिस्पर्धा गर्न सकेनौँ । अहिले प्रशोधन चाहिँ गर्दैनौँ । तर, बेसार खेती भने लगाएका छौँ,’ राई भन्छन्, ‘विगतको जस्तो सामूहिक खेती पनि छैन । अहिले व्यक्तिगत रूपमा खेती लगाएका छौँ ।’

राईसहित स्थानीय सुरुमा अधुवा खेती गर्दै आएका थिए । तर, अधुवा छिट्टो कुहिने भएको र बजार पनि राम्रो नभएका कारण बेसार खेतीको सुरुवात गरिएको उनी बताउँछन् । बेसार खेतीमा राम्रो सम्भावना भए पनि बजारीकरणको भने समस्या रहेको राईको भनाइ छ । ‘बेसार खेतीमा राम्रो सम्भावना छ । बेसार खेतीको लागतभन्दा तेब्बर आम्दानी पनि हुन्छ । किसान व्यवसायिक बन्न सक्छन् । तर, बजारको समस्या छ ।

गाउँपालिकाले बजार व्यवस्थापन गरिदिए किसानलाई सहज हुने थियो । हामीले प्रशोधन गरेर दमकका बजारसम्म लग्यौँ । प्रतिक्रिया पनि राम्रो आएको छ,’ उनी भन्छन्, ‘तर, भारतबाट आयत हुने बेसारसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो छ । यसमा सरकारी तबरबाट किसानलाई सहयोग हुनुपर्छ ।’

बेसार स्वादका लागि मात्र हैन मानिसलाई शारीरिक रूपमा समेत फाइदाजनक भएका कारण अहिले बजार बढ्दो छ । जसका कारण यसको खेती पनि बढ्दै गएको हो ।

माङसेबुङ २ का किसान रामभक्त निरौलाले पनि यसपटकदेखि बेसार खेती लगाएका छन् । उनकी श्रीमती खडमाया महिला जगुरमुखी बहुउद्देश्य सहकारी संस्थाकी सदस्य भएका कारण सहकारीबाट बीउ ल्याएर एक रोपनी क्षेत्रमा बेसार खेती लगाएका छन् । धेरै वर्षअघि बेसार खेती गरेका उनले बजार नपाएकै कारण बेसार खेती गर्न छाडेका थिए । तर, यसपटक भने गाउँमै सहकारीले बेसार प्रशोधन केन्द्रसमेत स्थापना गरेकाले बेसार खेती सुरु गरेको बताए । ‘पहिला बेसार खेती लगाएको थिएँ । बजार नपाएर लगाउन छाडेँ । अहिले फेरि यो वर्षदेखि बेसार खेती सुरु गरेको छु । बोट हेर्दा राम्रो भएको छ,’ उनी भन्छन्, ‘गाउँमा सहकारीले नै बेसार खरिद गरिदिने भएका कारण सजिलो पनि भएको छ । अब बजारको चिन्ता छैन । गाउँका कृषकहरु बेसार खेतीतर्फ आकर्षित भएका छन् ।’ विगतमा अधुवा खेती गर्दै आएका किसान पनि अहिले बेसार खेतीतर्फ आकर्षित भएको उनी बताउँछन् । ‘बेसार खेती अधुवा जस्तो झन्झटिलो छैन । एकपटक गोड्मेल गरेपछि हुन्छ । अहिले सहकारीले मनको २ हजारले खरिद गर्ने पनि भनेको छ,’ उनी भन्छन्, ‘तर, गाउँमा अर्गानिक खेती गर्नुपर्ने हो । झार मार्नका दुःखले विषादी हाल्ने चलन बढेको छ । यसमा चाहिँ स्थानीय सरकारले सचेतनाको काम गर्नुपर्छ ।’

माङसेबुङ–२ स्थित महिला गजुरमुखी बहुउद्देश्य सहकारी संस्थामा आवद्ध ७२ जना किसान अहिले बेसार खेतीमा अवद्ध भएको सहकारीकी अध्यक्ष डिकमाया लुवागुनले बताइन् । सहकारीले कृषकलाई निःशुल्क बीउ उपलब्ध गराउँदै आएका छ । तर, त्यसवापत बेसार उत्पादन भएपछि लगेको बीउको आधा सहकारीलाई फिर्ता गर्नुपर्ने हुन्छ । यसपटक मात्रै ३६ क्विन्टल बीउ किसानलाई वितरण गरिएको उनी बताउँछिन् । केही वर्षयता बेसार खेतीमा किसानलाई प्रोत्साहन गर्दै आएको सहकारीले हाल आफैँ बेसार प्रशोधन गरेर बजारसम्म पु¥याउँदै आएको उनी बताउँछन् । बेसार प्रशोधनका लागि सहकारीले मेसिन खरिद गरेको छ । गाउँपालिकाको ६ लाख ७५ हजार अनुदान र सहकारीको ३० प्रतिशत लगानीमा मेसिन खरिद गरिएको उनले बताइन् । अहिले सहकारीले ‘माङसेबुङको बेसार’ ब्रान्ड बनाएर बेसार बजारसम्म पु¥याएको छ । ‘अहिले हामी परीक्षण कालमा पनि छौँ । त्यसकारण पनि स्थानीय क्षेत्रमै खपत भइरहेको छ,’ उनी भन्छिन्, ‘अब हामीले बजार खोज्नुपर्ने छ । तर, बजार पाउँछौँ भन्ने अपेक्षा गरेका छौँ ।’
सबैको घरघरमा अत्यावश्यक हुने भएका कारण पनि बेसारले बजार पाउने अपेक्षा गरिएको उनी बताउँछन् । विगतमा घरमै खानका लागि किसानले समान्य खेती गर्दै आएको बेसार अहिले व्यवसायिक बन्दै गएको उनी बताउँछिन् । ‘पहिला घरघरमा प्रयोगका लागि हुँदै आएको थियो । अहिले व्यवसायिक खेती हुँदै आएको छ । बेसारको सम्भावना पनि राम्रो छ,’ उनी भन्छिन्, ‘किसानले बजारको समस्या पनि झेल्नु पर्दैन । उत्पादन भएको बेसार सहकारीले सबै खरिद गरिदिन्छ । प्रशोधन पनि सहकारी आफैँले गर्छ ।’

माङसेबुङ १ का किसान पछिल्लो समय व्यवसायिक बेसार खेतीमा आकर्षित भएको माङसेबुङ १ का वडाध्यक्ष भुपाल योङहाङ बताउँछन् । मकैसँगै लगाउन मिल्ने भएका कारण पनि किसानले अहिले बेसार खेती लगाउँदै आएको उनी बताउँछन् । यसमा माङसेबुङ गाउँपालिकाले पनि सहयोग गरिरहेको उनको भनाइ छ । ‘अन्य खेतीमा जस्तो बेसार खेतीमा बाँदरले पनि दुःख दिँदैन । सहजै उत्पादन हुन्छ । अहिले गाउँमै सहकारीले प्रशोधन केन्द्र खोलेका कारण किसानलाई बिक्दैन कि भन्ने चिन्ता पनि छैन,’ उनी भन्छन्, ‘तसर्थ अहिले किसानहरु बेसार खेतीमा अकर्षित भएका छन् । मैले आफैँ पनि बेसार खेती लगाएको छु । आम्दानी पनि राम्रो हुँदै आएको छ ।’

माङसेबुङ क्षेत्रको आधार नै कृषि भएका कारण कृषिलाई प्रवद्र्धन गर्न स्थानीय सरकार लागिपरेको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राई बताउँछन् । कृषि क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए । ‘कृषि क्षेत्रलाई प्रवद्र्धन गर्ने गाउँपालिकाको मुख्य उद्देश्य हो । नजिकै झापाका बजार भएका कारण पनि कृषि क्षेत्रमा माङसेबुङको भविष्य राम्रो छ,’ उनी भन्छन्, ‘उत्पादन भएका कृषिउपजको बजारीकरणमा पनि स्थानीय तहले कृषलाई सहयोग गर्छ । हामीले कृषिलाई प्राथमिकतामा राखेर नीति बनाइरहेका छौँ ।’

आयुर्वेदमा बेसारलाई औषधिको राजा मानिएको छ । त्यसैले बेसारलाई बहुऔषधीय गुण भएको जराबाली मानिन्छ । घरेलु रूपमा तेलबेसार मिलाएर सामान्य घाउचोटको उपचार गरिन्छ । हरेक घर र भान्सामा बेसारको उपस्थिति मसलाका रूपमा हुने हुनाले पनि यसको उपयोगिताले मानव स्वास्थ्यलाई फाइदा गर्ने बताइएको छ । बेसारमा मुख्य सक्रिय तत्व करक्युमिन हुने हुनाले एन्टिअक्सिडेन्ट, एन्टी–इन्फ्लेमेटरी, एन्टीब्याक्टेरियल र एन्टी–क्यान्सर गुण प्रदान गर्ने मानिएको छ ।

बलौटे दोमटदेखि कालो, रातो र चिम्ट्याइलो माटोमा समेत बेसार खेती गर्न मिल्ने हुनाले बेसारका लागि २०–३० डिग्रीको तापक्रम उपयुक्त हुने मानिन्छ । बेसारका लागि २–३ पटक खनजोत गरेर माटो तयार गरिन्छ । ड्याङ बनाएर बेसार रोप्दा बढी उत्पादन हुन्छ । गोबर मलको प्रयोगले यस खेतीमा बढी फाइदा हुनेगरेको सम्बद्ध किसान बताउँछन् । बेसार रोपिसकेपछि यसलाई माटोलाई सुखा हुन नदिन बेलाबेला सिँचाइ गर्नुपर्ने तर पानी जम्न नहुने बाली विज्ञहरुको भनाइ छ । साथै, झार पलाउने हुनाले बेलाबेला गोडमेल गर्न आवश्यक हुन्छ । यसो गर्दा माटो खुकुलो हुने र बेसार उत्पदानलाई फाइदा पुग्दछ ।

बेसार खेती नेपालको तराईदेखि पहाडी क्षेत्र (१५०० मिटर उचाइसम्म) मा गर्न सकिन्छ । बेसार खेतीका लागि किसानले कम मेहनत गरे पुग्छ । बेसारको बीउ वा माउबाट यसको खेती गरिन्छ । चैत–वैशाख महिनामा रोपेपछि यो बाली पुष–माघ महिनामा तयार हुन्छ । बेसारको बोट र पात पहेँलो भएर सुकेपछि यसलाई खनिन्छ र बेसार निकालिन्छ ।

रोग नलागेको रैथाने बेसारको बीउ रोप्न सक्दा यसबाट बढी अािर्थक लाभ लिन सकिन्छ । साथै, बेसारमा ढुसीजन्य (फंगस) ले दुःख दिन सक्ने हुँदा संक्रमित हुँदाको अवस्थामा नै यसको उपचार गरिहाल्नु पर्छ । अन्यथा बोट सुक्ने र गानो कुहिन सक्ने हुन्छ । बेसारको ड्याङमा पानी जम्न गएको खण्डमा ढुसीले आक्रमण गर्न सक्ने हुनाले पानी जम्न नदिनुनै यस बालीलाई रोगबाट जोगाउने मुख्य आधार हो भन्न सकिन्छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्