दिनेश दंगाल
माङसेबुङ।
इलामको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचान बोकेको माङसेबुङ गाउँपालिकाका ६ वटै वडामा परापूर्वकालदेखि मुख्य खाद्यान्न बालीका रूपमा मकै खेती गरिँदै आएको छ । अनुकूल भूगोल, परम्परागत सीप र रैथाने बीउको उपलब्धताका कारण यहाँको जनजीवनसँग मकै बाली गहिरोसँग जोडिएको छ । तर, पछिल्लो समय एकातिर बाँदरको बढ्दो आतंक र अर्कोतिर स्थानीय सरकारको नीतिगत प्राथमिकतामा नपर्दा पुस्तौँदेखि चल्दै आएको रैथाने मकै खेती गम्भीर संकटमा परेको छ । लागत अनुसारको प्रतिफल नहुनु, फौजी किराको प्रकोप र सिँचाइको अभावका कारण किसानहरू अहिले वर्षौँदेखिको मकै खेती छाडेर विकल्प खोज्न वा जमिन बाँझो राख्न बाध्य भइरहेका छन् ।
इलामको माङसेबुङ गाउँपालिकाका १ देखि ६ सम्मका सबै वडाहरूमा मकै बाली नै मुख्य प्राथमिकतामा पर्ने गर्दछ । परम्परागत रूपमा यहाँका किसानहरूले फागुनको अन्तिम सातादेखि चैतको पहिलो सातासम्म मकै छर्ने गर्दछन् । लामो समयको हेरचाह, गोडमेल र मलजलपछि भदौदेखि असोज महिनामा यो बाली पूर्णरूपमा पाकेर थन्क्याउने गरिन्छ ।
मकै बाली बहुउपयोगी छ । यसको दाना मानव स्वास्थ्यका लागि पोषणयुक्त र स्वस्थ्यकर मानिन्छ भने यसको बोट, ढोड र पातहरू गाईभैँसीका लागि पोसिलो भुस र घाँसका रूपमा प्रयोग हुन्छ । यसरी पशुपालन र कृषिलाई एकसाथ जोड्ने कडीका रूपमा मकै बाली रहँदै आएको छ । उत्पादनका हिसाबले उर्वर र बजारका हिसाबले राम्रो सम्भावना हुँदाहुँदै पनि कृषकहरू यस पेसाबाट विस्थापित हुने क्रम तीव्र बनेको छ ।
माङसेबुङ गाउँपालिका वडा नम्बर २ का खड्कबहादुर कार्कीले पुस्तौँदेखि मकै खेती गर्दै आएका छन् । उनले विगत लामो समयदेखि स्थानीय जातको रैथाने मकै १० रोपनी क्षेत्रफलमा लगाउँदै आएका छन् । उनको यो खेती बाउबाजेको पालादेखि हस्तान्तरण हुँदै आएको हो । तर, अहिले उनी निकै निराशाजनक अवस्थामा पुगेका छन् ।

‘हामीले पुस्तौँदेखि यो माटोमा रैथाने मकै फलाउँदै आयौँ । मकै खेती सबै हिसाबले राम्रो छ, स्वास्थ्यका लागि हितकर छ र बजारमा यसको माग पनि उच्च छ । तर, अचेल बाँदरका कारण हामी किसानको उठिबास लाग्ने अवस्था सिर्जना भएको छ,’ कार्कीले भने, ‘बिहान उज्यालो भएदेखि बेलुका घाम नडुब्दासम्म मकै बारीमा लौरो लिएर गोठालो बस्नुपर्छ । एकैछिन आँखा छले भने महिनौँको मिहिनेत एकैछिन सखाप पारिदिन्छन् । अब त मकै खेतीको विकल्प खोज्नैपर्ने बाध्यता आइलाग्यो । बाँदरले नखाने खालको अरू कुनै खेती गर्नुपर्ने अवस्थामा हामी किसान पुगेका छौँ ।’
कार्कीको जस्तै व्यथा माङसेबुङ गाउँपालिका वडा नम्बर १ गजुरमुखीका कृषक लोकेन्द्र लिम्बूको पनि छ । लिम्बूले आफ्नो कुल ४० रोपनी विशाल क्षेत्रफलमा मकै बाली लगाउँदै आएका छन् । समयमा पानी पर्दा र पर्याप्त मलजल पुग्दा उनको खेतबाट वार्षिक सरदर ५० मुरीसम्म मकै उत्पादन हुने गर्छ । बजारमा रैथाने मकैको मूल्य पनि निकै आकर्षक छ । हाल प्रतिपाथी ४०० रुपैयाँका दरले सहजै बिक्री हुन्छ । यति राम्रो बजार भाउ हुँदाहुँदै पनि बाँदरले क्षति पु¥याउँदा समस्या भएको उनी बताउँछन् ।
लिम्बूका अनुसार समस्या बाँदरको मात्रै छैन, पछिल्ला वर्षहरूमा देखा परेको फौजी किराका कारण सुरुवाती चरणमै बोटहरू नष्ट हुने गरेका छन् । ‘हामीले हाइब्रिड (उन्नत) बीउ पनि प्रयोग गरेर हेर्यौँ, तर हाइब्रिड बालीमा पुतली लाग्ने र रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले हामी पुनः रैथाने बीउकै शरणमा पुगेका छौँ,’ लिम्बू भन्छन्, ‘तर सिँचाइको अभाव, फौजी किरा र बाँदर नियन्त्रणमा स्थानीय सरकार वा कुनै निकायले सहयोग नगर्दा ४० रोपनीमा खेती गर्ने जाँगर मर्दै गएको छ । रैथाने बालीलाई अझ उन्नत र व्यवस्थित गर्न पालिकाले आवश्यक तालिम र अनुदानमूलक कार्यक्रमहरू सञ्चालन गरे हामीलाई ठूलो राहत हुने थियो ।’
माङसेबुङ गाउँपालिकाकी नायब प्राविधिक सहायक निरूपा राईका अनुसार पालिकाभित्र कुल खेतीयोग्य जमिन २८ प्रतिशत मात्र रहेको छ । उक्त खेतीयोग्य जमिनमध्ये झण्डै २० प्रतिशत हिस्सामा मकै खेती लगाइने उनी बताउँछिन् । यो बाली पालिकाको धानपछिको दोस्रो ठूलो मुख्य खाद्यान्न बाली हो । तर, रैथाने जातका मकैको संरक्षण हुन नसक्दा विगत केही वर्षदेखि हाइब्रिड बीउको प्रयोग ह्वात्तै बढेको छ । हाल पालिकाभित्र हुने कुल मकै खेतीको आधाभन्दा बढी हिस्सा हाइब्रिड जातले ओगटिसकेको उनको भनाइ छ ।
माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद नेम्बाङले मकै खेतीलाई पालिकाले नीति र बजेटमा उचित प्राथमिकता दिन नसकेको स्वीकार गरे । यद्यपि रैथाने मकैलाई पनि समेट्दै लैजाने उनले बताए । ‘लागत अनुसारको उचित प्रतिफल नहुँदा मकै खेतीतर्फ कृषकहरूको आकर्षण दिनप्रतिदिन घट्दो छ । यही कारणले गर्दा हामीले यसलाई पालिकाको मुख्य अनुदान कार्यक्रमहरूमा समावेश गर्न सकेका थिएनौँ,’ उनले भने, ‘भदौ महिनामा मकै पाक्ने बेला यहाँ बाँदरको समस्या यति भयावह हुन्छ कि किसानले अन्न भित्र्याउनै पाउँदैनन् । त्यसैले किसानहरू मकै बालीको विकल्प खोज्न वा जमिन बाँझो छाड्न बाध्य भएका हुन् ।’
तर, रैथाने मकैको संरक्षणका लागि गाउँपालिकाले नयाँ रणनीति बनाएर अघि बढ्ने उपाध्यक्ष नेम्वाङ बताउँछन् । ‘अब हामी अनुदानको विषयमा पनि एउटा ठोस मापदण्ड बनाएर अघि बढ्दै छौँ,’ उनले भने,‘विशेष गरी रैथाने जातको मकै खेती गरिरहेका पुराना र रैथाने किसानहरूसँग प्रत्यक्ष परामर्श गरी सो बीउको संरक्षण, ब्रान्डिङ र उत्पादकत्व वृद्धिका लागि गाउँपालिकाले विशेष कार्ययोजना ल्याउने तयारी गरिरहेको छ ।’

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।