सुजाता लिम्बू
विराटनगर ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा दिनहुँ हजारौँ युवाहरूको भीड लाग्छ । कसैका आँखामा सपनाको चमक हुन्छ त कसैका गाला आँसुले भिजेका हुन्छन् । अभाव र स्वदेशमा अवसर नदेख्ने एउटा ठूलो जमात यतिबेला खाडीको रापदेखि युरोप, अमेरिकाको चिसो पालुवासम्म आफ्नो श्रम बेचिरहेका छन् । शैक्षिक प्रमाणपत्र सिरानीमा राखेर पासपोर्ट कुरिरहेका युवाहरूको भीडमा २६ वर्षीय एक ठिटो भने व्यावसायिक यात्रामा नयाँ गन्तव्यहरू पछ्याइरहेका छन् । उनी हुन्, अभिषेक गौतम । उनी वैदेशिक यात्राको सपना देख्ने युवाहरूको भीडभन्दा अलिक पर छन्, जसले युरोपको पिआर र डलरको सपनालाई तिलाञ्जली दिएर विराटनगरको माटोमा अर्गानिक घरको जग बसाले ।

आज उनको यो यात्राले पाँच वर्ष पूरा गरिसकेको छ र यो अवधिमा उनले केवल व्यवसाय मात्र गरेनन्, सयौँ किसानको आशा र हजारौँ उपभोक्ताको विश्वाससमेत जितेका छन् । ‘कृृषि खाद्य उत्पादनको विक्री कक्ष भनेर सुरुवात गरेको पनि ५ वर्ष भइसकेको छ,’ उनी भन्छन्, ‘विगत २ वर्षदेखि सिजनल फलहरु वित्री गर्न थालेपछि सहज महसुस भएको छ । यो सँगै विदेश भन्दा पनि यहाँ नै भविष्य अझ उज्जवल देख्न थालेको छु ।’ धेरैलाई लाग्न सक्छ अभिषेकले अवसर नपाएर नेपालमै बसेका होलान् । तर, यथार्थ फरक छ । उनका सहपाठीहरू अष्ट्रेलिया र युरोपका तस्बिर सामाजिक सञ्जालमा राख्दा अभिषेक भने संखुवासभाको जडीबुटी र मुस्ताङको सिमीको बोरा मिलाउँदै हुन्थे । सुरुका दिनमा उनलाई पनि नपिरोलेको होइन, साथीहरूले विदेशमा महिनाको लाखौँ कमाउँदा ‘म यहाँ खुद्रा व्यापारमा किन अल्झिरहेको छु?’ भन्ने प्रश्नले उनलाई पनि बेलाबेला झस्काउँथ्यो । तर, उनको मनमा एउटा दृढ अठोट थियो, देशमा केही छैन भन्नेहरूलाई केही गरेर देखाउनु छ । त्यही हुटहुटीले उनलाई युरोप जानबाट रोक्यो । ‘अर्काको देशमा १२ घन्टा पसिना बगाउनुभन्दा आफ्नै माटोमा १४ घन्टा खटिएर किन रैथाने स्वादलाई ब्राण्ड नबनाउने ? यही प्रश्न सँगै आफूलाई अगाडी बढाए,’ उनी भन्छन् ।

त्यसो त अभिषेकले सञ्चालन गरेको अर्गानिक घर एउटा पसल मात्र होइन, यहाँ नेपालको भूगोल जोड्ने एउटा पुल जस्तै महसुस हुन्छ । उनले कोशी प्रदेशका पहाडी जिल्लाहरू संखुवासभा, सोलुखुम्बु, इलाम, धनकुटा र खोटाङदेखि लिएर पश्चिमका मुस्ताङ र जुम्लासम्मका कृषकहरूसँग सिधा सम्पर्क जोडेका छन् । पहाडमा फलेका सिमी, जुम्लाको मार्सी चामल, धनकुटाको शुद्ध घ्यू, र संखुवासभाको लेकाली जडीबुटीलाई उनले विराटनगरका उपभोक्ताको भान्सासम्म पुर्याएका छन् । ‘बजारमा अखाद्य र मिसावटयुक्त खानेकुराको बाढी छ,’ अभिषेक भन्छन्, ‘मानिसहरू स्वस्थ रहन चाहन्छन् तर कहाँको सामान शुद्ध छ भन्नेमा झुक्किन्छन् । हामीले त्यही रिक्ततालाई पूर्ति गर्ने प्रयास गरेका हौँ ।’

अहिले उनको पसलमा सिजनअनुसारका फलफूलहरूको छुट्टै रौनक हुन्छ । धनकुटा र तेह्रथुमको किवी, सिन्धुलीको जुनार, रामेछापको फलफूल र धनकुटा तमोर करिडोरका आँपहरू उनले उपभोक्ताको हातमा थमाइरहेका छन् । अभिषेकले यो व्यवसाय सुरु गरेको ५ वर्ष भयो । सुरुका दुई वर्ष उनले अनलाइनमार्फत मात्र काम गरे । स्नातक तह पढ्दै गर्दा उनले व्यापारलाई पनि सँगसँगै डोर्याए । त्यसपछि उनले विराटनगरमा व्यवस्थित रूपमा आउटलेट सञ्चालनमा ल्याएका थिए, जुन अहिले विस्तार हुँदै गइरहेको छ । ‘सुरुमा सामान संकलन गर्न निकै गाह्रो हुन्थ्यो । दुर्गम गाउँबाट सामान ल्याउन सवारी साधनको समस्या, कानुनी झन्झट र बजारको अनिश्चितताले धेरै पटक निराश बनायो । तर, हार मान्नु मेरो स्वभावमा थिएन,’ उनले भने ।

आज उनी गर्वका साथ भन्छन् उनले केवल सामान मात्र बेचेका छैनन्, स्थानीयस्तरमा उत्पादित वस्तुलाई भ्यालु एड समेत गरेका छन् । उनले अहिले कोदोको पास्ता, फापरको चिउरा र नुडल्स जस्ता आधुनिक स्वादका स्वस्थकर खानेकुराहरू बजारमा ल्याएका छन् । विशेषगरी विदेशबाट फर्किएकाहरूले गाउँमा सुरु गरेका साना उद्योगका उत्पादनलाई उनले बजार दिने काम गरिरहेका छन् । ‘अहिले त स्वस्थकर खानेकुराको ब्राण्ड बढ्दै गएको छ, विदेशबाट फर्किनुभएको दाजुभाइ, दिदिबहिनीहरुले गाउँघरमा उत्पादन भएको कोदो,फापर लगायतको अन्नहरुबाट नुडल्स विभिन्न परिकार बनाएर हामीलाई सम्पर्क गर्नुहुन्छ जसले हाम्रो व्यवसायमा उत्पादन पनि थपिएको छ,’ उनले भने । अभिषेकको यो सफलतामा उनको परिवारको ठूलो हात छ । अहिले यो व्यवसायमा उनी एक्ला छैनन् । परिवारसहित ३ जनाले यसैमा प्रत्यक्ष रोजगारी पाएका छन् । एकजना युवाले रोजगारी दिनु र परिवारलाई सँगै राखेर व्यवसाय गर्नुलाई उनी आफ्नो ठूलो उपलब्धि मान्छन् । ‘धेरैलाई लाग्छ, नेपालमा काम छैन । तर काम सानो वा ठूलो हुँदैन,’ उनी भन्छन्, ‘गुन्द्रुकै बेचेर भए पनि आफ्नै देशको उत्पादनलाई बजारीकरण गर्दा जुन आत्मसन्तुष्टि मिल्छ, त्यो डलरको कमाइमा सायदै पाइन्छ ।’

त्यसो त उनको यो कथा अध्ययन सकेर देशमा केही गर्न सकिन्न भन्नेहरुका लागि एउटा ऐना हो, जो पासपोर्ट र भिसालाई मात्र सफलताको साँचो ठान्छन् । ‘नेपालको बजारले के खोजेको छ, त्यो बुझ्नुपर्छ । अरूले क्याफे खोले भनेर हामीले पनि क्याफे नै खोल्नुपर्छ भन्ने छैन,’ उनी भन्छन्, ‘केही फरक गरौँ, समाजका लागि लाभदायक काम गरौँ, प्रतिफल पक्कै मिल्छ ।’अभिषेक अब आफ्नो व्यवसायलाई अझै विस्तार गर्ने योजनामा छन् । २२ वर्षको ऊर्जाशील उमेरदेखि व्यवसायिक यात्रामा अभिषेकले जुन बाटो रोजे, त्यो त्यति सजिलो थिएन । तर, उनको निरन्तरता र पसिनाले ती अप्ठयाराहरुलाई छिचोल्दै अहिले सफलताको गन्तव्य भेटिरहेका छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्