झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रोमा (रमा) तिवारीको हत्या प्रकरणमा पाँच दिन बितिसक्दा पनि प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन सकेको छैन । रतुवा खोलामा बोराभित्र शव फेला परेपछि सुरु गरिएको अनुसन्धान अझै निष्कर्षमा नपुग्दा प्रहरीमाथि दबाब बढेको छ ।

गत जेठ १६ गते शनिबार बिहान दमकको सेतुमारी क्षेत्रमा रतुवा खोलाको पुलमुनि सेतो प्लास्टिकको बोरामा राखिएको अवस्थामा उनको शव फेला परेको थियो। प्रारम्भिक अनुसन्धानले उनलाई हत्या गरी अन्यत्रबाट शव ल्याएर खोलामा फालिएको हुनसक्ने निष्कर्ष निकालेको छ ।

झापा प्रहरीका अनुसार शव भेटिएको स्थान घटनास्थल नभई शव फालिएको ठाउँ मात्र हो । हत्या कहाँ र कसरी भयो भन्ने विषय अझै खुल्न नसकेको इन्स्पेक्टर सुमन बानियाँले बताए ।

प्रहरीका अनुसार रमा गत बुधबार राति घरबाट साथीलाई भेट्न निस्किएकी थिइन् । त्यसपछि उनको मोबाइल दमक बजार क्षेत्रमा अन्तिम पटक सक्रिय देखिएको र राति करिब ११ बजे बन्द भएको पाइएको छ । सीसीटीभी फुटेज, डिजिटल प्रमाण र सम्भावित घटनास्थलको खोजी जारी छ ।

प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरे पनि प्रमाण नपुगेपछि छाडिएको जनाएको छ। घटनामा योजनाबद्ध रूपमा धेरै व्यक्ति संलग्न हुनसक्ने आशंका गरिए पनि पुष्टि भएको छैन ।

अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले अपुष्ट सूचना नफैलाउन आग्रह गरेको छ। स्थानीयले छिटो, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। प्रहरीले अनुसन्धान निरन्तर जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्