गौरादह ।

गौरादह उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि यही ९ जेठमा निर्वाचन हुँदैछ । निर्वाचन नजिकिँदै जाँदा गौरादह क्षेत्रमा चुनावी गतिविधि पनि तीव्र बन्दै गएको छ । यसैबीच सदस्य पदका उम्मेदवारका रूपमा गौरादह ६ मा रहेको स्मार्ट लुब्रिकेन्ट्सका सञ्चालक मोहन बराइली चुनावी मैदानमा उत्रिएका छन् ।

लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय बराइली आफूलाई व्यवसायीहरूको समस्या नजिकबाट बुझेको उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् । सामान्य अवस्थाबाट संघर्ष गर्दै व्यवसायिक क्षेत्रमा स्थापित भएका उनले आफ्नो यात्रा काठमाडौँस्थित एक लुब्रिकेन्ट्स कम्पनीमा मासिक ५ हजार रुपैयाँको जागिरबाट सुरु गरेका थिए । बिहानदेखि रातिसम्मको मेहनत, सीमित तलब र असीमित सपना बोकेर अघि बढेको त्यो समय उनका लागि संघर्षको कठोर पाठशाला थियो । उनि सम्झिन्छन– ‘तर कहिल्यै हार मानिनँ ।’ इमानदार परिश्रम गर्ने मान्छे कहिल्यै असफल हुँदैन भन्ने विश्वासका साथ उनले निरन्तर आफ्नो सीप र अनुभव बढाउँदै लगे ।

सानो अवसरबाट सुरु भएको यात्रा आज उद्योग सञ्चालनसम्म आइपुगेको छ । हाल उनले सञ्चालन गरिरहेको उद्योगमा करिब ५० जनाले रोजगारी पाइरहेका छन् । नेपालमै गुणस्तरीय लुब्रिकेन्ट उत्पादन तथा वितरण गर्ने उद्देश्यसहित उद्योग क्षेत्रमा लगानी गरेको बराइली बताउँछन् ।

गुणस्तरीय लुब्रिकेन्टको ब्राण्डका रूपमा स्थापित हुने लक्ष्य बोकेर कडा मेहनतका साथ अघि बढेका बराइली आज पनि त्यही आत्मविश्वास र समर्पणका साथ उद्योग क्षेत्रमा लगानी गरिरहेको बताउँछन् । व्यवसायिक अनुभवसँगै अहिले उनी गौरादह उद्योग वाणिज्य संघमार्फत व्यवसायीहरूको साझा आवाज बन्ने अभियानमा छन् । गौरादह क्षेत्रका उद्योगी, व्यवसायी तथा उद्यमीहरूको हकहित संरक्षण गर्दै स्थानीय व्यापारलाई व्यवस्थित, सुरक्षित र प्रतिस्पर्धी बनाउने उद्देश्यले उम्मेदवारी दिएको उनले बताए ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्