काठमाडौं ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रलाई सुदृढ बनाउँदै सुशासन र जनमुखी शासन व्यवस्थातर्फ अघि बढ्नुपर्ने बताएका छन् ।
लोकतन्त्र दिवसको अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै अध्यक्ष यादवले ०६२/६३ को जनआन्दोलनले निरङ्कुश शासनको अन्त्य गर्दै जनतालाई सार्वभौम बनाएको स्मरण गराएका छन् ।
उनले बैशाख ११ को सो दिनलाई नेपाली राजनीतिक इतिहासको महत्वपूर्ण मोडका रूपमा व्याख्या गर्दै नागरिक स्वतन्त्रता, न्याय र समानताको सुनिश्चितता व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिएका हुन् ।
यादवले परिवर्तित राजनीतिक व्यवस्थालाई वास्तविक अर्थमा जनमुखी बनाउन आवश्यक रहेको उल्लेख गर्दै सुशासन र समृद्धिको दिशामा अघि बढ्नु अहिलेको प्रमुख राजनीतिक दायित्व भएको बताएका छन् ।
लोकतन्त्रका ऐतिहासिक उपलब्धिलाई संस्थागत गर्दै नागरिकको जीवनस्तरमा सुधार ल्याउन र कानुनको शासन सुदृढ बनाउन उनले सबै पक्षलाई प्रतिबद्ध हुन सुझाएका छन् ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।