काठमाडौं ।
सम्पत्ति सुद्धीकरण अनुसन्धानको हिरासतमा रहेका संदिग्घ ब्यापारी दिपक भट्टसँगको व्यवासायिक साझेदारी विवादमा परेपछि गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन बाध्य भएका छन् ।
बुधबार गुरुङले सामाजिक सञ्जाल फेसबुकबाट आफ्नो राजीनामा घोषणा गरेका हुन् ।
विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका उनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् ।
सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने मन्त्रीका रूपमा गरेको सम्पत्ति सार्वजनिक र पोखरास्थित फेवाताल क्षेत्रमा रहेको जग्गा प्रकरण, आलोचनाको निशाना परेका थिए ।
उच्च स्रोतका अनुसार, रास्वपा सभापति रवि लामिछानेसँगको छलफलपछि गुरुङले प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएका हुन् ।
फेसबुकमा सार्वजनिक भएको उनको राजीनामामा भनिएको छ, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट नदेखियोस् र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु ।’
२१ फागुनमा सम्पन्न निर्वाचन पछि बनेको बालेन्द्र शाह नेतृत्वको मन्त्रि परिषद्मा उनले चैत १३ गते गृहमन्त्रीका रूपमा शपथ लिएका थिए ।


प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।