मोरङको मिक्लाजुङ गाउँपालिकाले किसानलाई आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गर्ने उद्देश्यले ३ सय ४३ थान कृषि सामग्री वितरण गरेको छ ।

गाउँपालिकाले यस आर्थिक वर्षमा २७ वटा सिँचाइ बोरिङ, ६५ थान चापाकटर, ६७ थान मकै छोडाउने मेसिन, १ सय ६ थान मकै रोप्ने मेसिन तथा १ सय ५ थान बाली गोड्ने फलामे हलो किसानलाई हस्तान्तरण गरेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष बबिकुमार राईका अनुसार परम्परागत खेती प्रणालीलाई यान्त्रिकीकरण गर्दै उत्पादन वृद्धि र किसानको आम्दानी बढाउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत तेजिन्द्र गौतम ले कोशी प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा करिब ४० लाख रुपैयाँ बराबरको बजेटमार्फत ५० प्रतिशत अनुदानमा सामग्री वितरण गरिएको जानकारी दिए ।

वडा नम्बर ९ का अध्यक्ष सेमन्तराज दहालले आधुनिक कृषि उपकरण प्रयोगले कम जनशक्तिमा धेरै काम गर्न सकिने तथा उत्पादन लागत घट्ने विश्वास व्यक्त गरे ।

स्थानीय किसानहरूले पनि मकै रोप्ने तथा छोडाउने मेसिन, चापाकटरलगायत सामग्रीले खेतीपाती र पशुपालनमा सहजता थपिएको बताएका छन् ।

प्रतिक्रिया

यस समाचारमा आफ्नो विचार राख्नुहोस्।

आफ्नो प्रतिक्रिया लेख्नुहोस्