आजको मिति: शुक्रबार, जेठ १, २०८३
११:३७ बजे (बिहान)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

Below Ticker Ad

बादलमाथिको बस्ती र होमस्टे: पूर्वको नयाँ गन्तव्य जेफाले

तेजन खड्का

मोरङ । मोरङको उत्तरी भेगमा पर्ने केराबारी गाउँपालिका–२ स्थित जेफाले डाँडा अहिले पूर्वी नेपालकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनिन थालेको छ ।

केही वर्षअघिसम्म दुर्गम र ओझेलमा रहेको यो ठाउँ अहिले मौसमको अनौठो स्वभाव, प्राकृतिक दृश्य, सांस्कृतिक विविधता र स्थानीय होमस्टे सेवाका कारण पर्यटकको रोजाइमा पर्न थालेको हो ।

मोरङ र सुनसरीको सीमाक्षेत्र नजिक रहेको जेफाले डाँडा समुद्री सतहबाट करिब एक हजार ९ सय ७० मिटर उचाइमा अवस्थित छ । यहाँ पुगेपछि केही मिनेटमै घाम लाग्ने, त्यसको केहीबेरमै बाक्लो हुस्सु लाग्ने र फेरि मौसम खुल्ने दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । स्थानीयका अनुसार यही कारणले जेफालेलाई ‘हावेचौर’ भनेर पनि चिनिन्छ ।

यहाँ ४२ फिट अग्लो चारतले भ्यू टावर निर्माण गरिएको छ । त्यसपछि यो क्षेत्रको चर्चा अझ बढेको स्थानीय बताउँछन् । भ्यू टावरमा चढेर पूर्वका १६ जिल्लाको दृश्य अवलोकन गर्न सकिन्छ । मौसम खुलेको दिन विश्वको सर्वोच्च शिखर सगरमाथासहित कञ्चनजंघाको दृश्य समेत देख्न सकिने स्थानीयको दाबी छ ।

जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीका अनुसार पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको छ । पहिला यो ठाउँको नामसमेत धेरैलाई थाहा थिएन,” उनले भने, “अहिले सामाजिक सञ्जाल र भ्यू टावर निर्माणपछि दैनिकजसो पर्यटक आउन थालेका छन् ।

साविक सिंहदेवी गाविस–५ मा पर्ने जेफाले अहिले केरावारी गाउँपालिका–२ अन्तर्गत पर्छ। केराबारीबाट बिहीबारे बजारबाट करिब तीन सय मिटर उत्तर लागेर झन्डै एक हजार सिँढी चढेपछि भ्यू टावर पुग्न सकिन्छ ।

कोशीहरैँचा नगरपालिकाको खोर्सानेबाट करिब ३४ किलोमिटर उत्तरमा रहेको यो स्थानमा पुग्न दुईवटा मुख्य मार्ग छन् । एक, सुनसरीको भेडेटार–राजारानी हुँदै सम्बेवा चोकबाट पुग्ने बाटो र अर्को मोरङको केरावारी हुँदै पुग्ने सडक ।

स्थानीयका अनुसार सडक पहुँच अझ व्यवस्थित भए जेफालेको सम्भावना धेरै ठूलो छ । यहाँको समस्या र सम्भावना विषयमा समाचार उठान गरिरहनुभएका अग्रज पत्रकार हरि कोईरालाका अनुसार जेफालेलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय केन्द्र बनाउन सकिने आधार बलियो छ ।
“प्राकृतिक सुन्दरता, धार्मिक महत्व र सांस्कृतिक विविधता एउटै ठाउँमा भेटिने भएकाले यसको सम्भावना ठूलो छ,उनले भने, “सडक पूर्वाधारलाई अझ सहज बनाउन सकिए भेडेटारजस्तै चर्चित गन्तव्य बन्न सक्छ ।

भ्यू टावरको दक्षिण–पश्चिम क्षेत्रमा रहेको पाथीभरा देवी मन्दिरले धार्मिक पर्यटकलाई समेत आकर्षित गरिरहेको छ । त्यसैले यहाँ प्रकृति, धर्म र संस्कृतिको संगम देखिन्छ । जेफाले आउने पर्यटकलाई खान र बस्न सहज होस् भन्ने उद्देश्यले सिंहदेवीको बिहीबारे क्षेत्रमा सामुदायिक होमस्टे सञ्चालन गरिएको छ ।

हाल नौ घरमा होमस्टे सेवा उपलब्ध छ । भीम ठकुरी, युवराज खड्का, मायास्वरी शर्मा, ललितबहादुर लिम्बू, गंगाप्रसाद लिम्बू, खगेन्द्र जमर कट्टेल लगायतको घरमा पर्यटक बस्न सक्ने व्यवस्था गरिएको छ । करिब ३० घरपरिवार रहेको बिहीबारेमा सञ्चालन गरिएको सामुदायिक होमस्टेले स्थानीयलाई आम्दानीको नयाँ आधार दिएको छ ।

होमस्टे सञ्चालकहरूले पाहुनालाई स्थानीय उत्पादनबाट तयार गरिएका परिकार खुवाउने गरेका छन् । लोकल कुखुराको मासु, ढिँडो, सिस्नुको तरकारी यहाँका विशेष परिकार हुन् । पाहुनाको चाहनाअनुसार अन्य खानेकुराको व्यवस्था पनि गरिने स्थानीय बताउँछन् ।

साँझपख मगर समुदायको हुर्रा नाच र लिम्बू समुदायको धान नाच प्रस्तुत गरिन्छ । यसले पर्यटकलाई स्थानीय संस्कृति नजिकबाट बुझ्ने अवसर दिएको छ ।

एक पटक आएका पाहुना फेरि फर्केर आउने वातावरण बनाउने हाम्रो प्रयास हो,होमस्टे सञ्चालक भिम ठकुरीले भने, अतिथिलाई आफ्नै परिवारजस्तो महसुस गराउने प्रयास गर्छौं । उनका अनुसार एकैदिन करिब १०० जनासम्मलाई खान र बस्न व्यवस्थापन गर्न स्थानीय सक्षम छन् ।

कुनै समय सञ्चार, शिक्षा र सडक पहुँचबाट पछि परेको जेफाले क्षेत्र अहिले पर्यटनकै कारण आर्थिक रूपमा चलायमान बन्दै गएको स्थानीय बताउँछन् । घुम्न आउने पर्यटकले स्थानीय उत्पादन खरिद गर्ने, होमस्टेमा बस्ने र स्थानीय खाना खाने क्रम बढेपछि गाउँलेको आम्दानीमा सुधार आएको छ । विशेषगरी फागुनदेखि असारसम्म पर्यटकको चाप बढी हुने गरेको छ। यो समयमा होमस्टे प्रायः भरिभराउ हुने गरेको स्थानीय बताउँछन् ।

होमेस्टे सन्चालकका अनुसार अनुसार पर्यटन सिजनका पाँच महिनामा एक होमस्टे सञ्चालकले मासिक एक लाखदेखि डेढ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् ।
“पहिले आम्दानीका धेरै विकल्प थिएनन्,” होमेस्टे सन्चालकहरु भन्छन“अहिले पर्यटनकै कारण गाउँमै बसेर कमाउने वातावरण बनेको छ । हाल जेफाले क्षेत्रमा विभिन्न तालिम, गोष्ठी र सामुदायिक कार्यक्रमहरू पनि आयोजना हुन थालेका छन् । यसले स्थानीय व्यवसायलाई थप सहयोग पुगेको छ ।

स्थानीयवासीका अनुसार सडक स्तरोन्नति, सञ्चार सुविधा विस्तार र सुरक्षाको भरपर्दो व्यवस्था हुन सके जेफाले पूर्वी नेपालको प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित हुन धेरै समय लाग्ने छैन । बादलले छोपिने डाँडा, आँखै अगाडि फैलिएको हिमालको दृश्य, स्थानीय संस्कृतिको आत्मीयता र गाउँलेको आतिथ्य—यी सबै कारणले जेफाले अहिले पूर्वको नयाँ गन्तव्यका रूपमा विस्तारै चिनिँदै गएको छ ।

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *