झापा । झापाको कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि भद्रपुर–दलकी सडकखण्डमा बिहीबार बिहान करिब ९:२५ बजे स्कुल बस दुर्घटना हुँदा चालकसहित १३ जना घाइते भएका छन् ।
दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४८२ नम्बरको विद्यापानी सेकेन्डरी स्कुलको बसले घरबाट सडकमा निस्किएको प्र १-०१-०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि बस अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बसमा करिब १८ देखि २० जना विद्यार्थी सवार रहेका थिए । दुर्घटनामा मोटरसाइकल चालक कचनकवल–३ बस्ने ५२ वर्षीय ओमप्रसाद तिम्सिनाको मुख, टाउको र बाँया खुट्टामा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको बताइएको छ ।
दुर्घटनामा बसमा सवार विद्यार्थीहरू अभिषेक राजबंशी, अर्जुन राजबंशी, धर्मेन्द्र राजबंशी, खुश्बु श्रेष्ठ, करण राजबंशी, प्रतिक्षा राजबंशी, बर्तिका राजबंशी, सुमन राजबंशी, श्रृजना राजबंशी तथा अर्का एक बालक घाइते भएका छन् । अधिकांशको टाउको, हातखुट्टा तथा शरीरका विभिन्न भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पठाइएको छ । दुई जना विद्यार्थीलाई भने अभिभावकले अन्यत्र उपचारका लागि लगेको बुझिएको छ ।
दुर्घटनापछि बस चालक फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बस र मोटरसाइकल दुवै प्रहरी चौकी पथरियाको नियन्त्रणमा रहेका छन् ।
