झापाको दमकस्थित हिमालय माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार दुवै जनाले आपसी मिलेमतोमा करिब एक करोड रुपैयाँ बराबरको भ्रष्टाचार गरेका छन् । आरोपपत्रअनुसार नमुना विद्यालय भवन निर्माणका क्रममा खर्चभन्दा बढी बिल–भर्पाइ तयार गरी प्रधानाध्यापक र लेखापालले ५९ लाख २६ हजार ६८६ रुपैयाँ भुक्तानी लिएको पाइएको छ ।
त्यसैगरी विद्यालयको नाममा रहेको १७ लाख ९६ हजार ५२१ रुपैयाँ नगदसमेत हिनामिना गरिएको उल्लेख छ । साथै आर्थिक वर्ष २०७७/७८ देखि देखिएको १६ लाख ६० हजार १०१ रुपैयाँ बेरुजु रकमसमेत हिनामिना गरिएको आरोपपत्रमा जनाइएको छ ।
