तेह्रथुमको छथर गाउँपालिका अध्यक्ष शन्तवीर लिम्बू (सन्तोष तिगेला) स्थानीय तहमा दोस्रो कार्यकालको नेतृत्व सम्हालिरहेका अनुभवी जनप्रतिनिधि हुन् । सङ्घीयता कार्यान्वयनको सुरुवाती चरणदेखि नै पालिकाको बागडोर सम्हालेका लिम्बूको ९ वर्षको कार्यकालमा छथरले सडक पूर्वाधार, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाका क्षेत्रमा ठूलो रुपान्तरण महसुस गरेको छ । हिजो चरम अविकासको शिकार भएको छथर आज जिल्लाकै प्रतिस्पर्धी पालिका र उज्यालो पालिकाका रूपमा स्थापित हुँदैछ ।
नेकपा एमालेबाट निर्वाचित अध्यक्ष लिम्बूसँग पालिकाको ९ वर्षे विकास यात्रा, स्थानीय सरकार सञ्चालनका संवैधानिक तथा व्यवहारिक जटिलता, अधुरा योजनाको व्यवस्थपनलगायत विषयमा साप्ताहिक बहसले गरेको कुराकानी :
अहिले छथर गाउँपालिकाको अवस्था के छ ?
छथर गाउँपालिकामा अहिले बजेट निर्माणको काम अगाडि बढिरहेको छ । गाउँसभाको अधिवेशन, बैठकहरु नियमित रूपले भइरहेका छन् । चालु आर्थिक वर्षको क्लोजिङको व्यस्तता छ । नयाँ योजना निर्माणको काम अगाडि बढिरहेका छन् । समग्रमा व्यस्ततासहित नियमित कामहरु भइरहेका छन् ।
स्थानीय तह के हो ? ९ वर्षको तपाईको अनुभवले के भन्छ ?
स्थानीय तह भनेको नागरिकहरुको नजिकको सरकार हो । नागरिकहरुको अभिभावक र नजिकको सारथि पनि हो । स्थानीय सरकारले नागरिकहरुको मर्दाको मलामी र जिउँदाको जन्तीको भूमिका खेलिरहेको हुन्छ । नागरिकहरुको हरेक सुख दुःखको साथीको रूपमा रहन्छ । संविधानतः नै आधारभूत क्षेत्रहरु स्थानीय सरकारको अधिनमा रहेको छ एकातिर भने अर्कोतिर सेवा प्रवाहको मूल जिम्मेवारी पनि छ । त्यसो भएकोले हिजोका जे असजिला थिए, जे अप्ठ्यारा थिए, त्यसलाई सहज बनाउनका निम्ति सङ्घीयताको संरचनाअन्तर्गत स्थानीय तहले नागरिकहरुको मूलतः सेवा प्रवाहको काममा भूमिका खेल्ने र विकास निर्माणको कार्यलाई ठीक ढङ्गले नेतृत्व गर्दै सम्पन्न गराउने जिम्मेवारी बोकेको सरकार हो ।
के के कुराले स्थानीय तह र यसको अस्तित्वलाई बोध गराउने रहेछ । तपाईको अनुभवले के भन्छ ?
बिगतमा एउटा मात्रै सरकार थियो । जसका कारण नागरिकहरुको विभिन्न समस्या समाधान गर्न सहज थिएन । सबै वर्ग र समुदायका मानिसहरुको आवश्यकतालाई पूरागर्न सकेको स्थिति थिएन । चौतफी विकासका कार्यमा आँखा पुगेन । सङ्घीयता आइसकेपछि तीन तहका सरकार बने । खासगरी जब स्थानीय तहमा जनप्रतिनिधिहरु निर्वाचित भएर आइसकेपछि नागरिकहरुको आवश्यकता, चाहना, मागअनुसारका विकास निर्माणले गति लिएको छ । स्थानीय तहको अस्तित्व वोध पछिल्ला विकास निर्माण र सेवा प्रवाहका कामहरुले गराएको छ ।

स्थानीय सरकार सञ्चालनमा के–के समस्या देख्नु हुन्छ ?
स्थानीय सरकार सञ्चालन गर्न समस्या भनेको मूलतः संविधान, कानूनअनुसार प्राप्त अधिकारको उपयोग गर्न नसक्नु, माथिलो तहले अधिकार तलसम्म दिन नचाहनु, धेरै भन्दा धेरै अधिकार आपैमा केन्द्रित गर्न चाहनुले जटिलता बढाएको छ । अर्को कुरा कानून निर्माण, कार्यान्वयनलगायत जे जति अधिकार र जिम्मेवारी स्थानीय तहलाई तोकिएको छ, त्यो अनुसारको स्रोत साधन उपलब्ध नहुनुले समस्या छ । आजको दिनमा पनि राजश्वको प्रक्षेपण सङ्घ सरकारले गरेर सिलिङ दिने तर पछि गएर प्रक्षेपणअनुसार रकम निकासा गर्न नसक्दा कतिपय योजनाहरु अलपत्र पर्ने अवस्था छ । वित्तीय समानीकरण अन्तर्गतका कतिपय योजनाहरु पनि पछि कटौतीमा पर्ने गर्नाले खासगरी पहाडी र हिमाली क्षेत्र र ग्रामीण भेगका स्थानीय सरकारहरुलाई समस्या परिरहेको छ । त्यसले गर्दा नागरिकले पाउने विकास, सेवा सुविधामा पनि असर परेको छ ।
ग्रामीण पहाडी भेगको पालिका हो छथर गाउँपालिका । विकास निर्माणका कठिनाईहरुलाई चाहिँ कसरी सहजीकरण गर्दैहुनुहुन्छ ?
ग्रामीण भूगोलका बस्तीहरु छरपष्ट छरिएर रहेका हुन्छन् । घरधुरीहरु दुदराजमा बसेका हुन्छन् । एउटा घरबाट अर्को घर पुग्न कतिपय ठाउँमा त आधा घण्टादेखि १ घण्टा लाग्ने दुरीमा पनि छन् । त्यहाँ पनि शिक्षा, स्वास्थ्य, कृषि, विद्युत, खानेपानीलगायतका सेवा सुविधा स्वाभाविक रूपमा पुर्याउनै पर्दछ । किनकि त्यो उपभोग गर्न पाउने उसको पनि नैसर्गिक अधिकार हो । त्यसैले यसरी टाडा–टाढा छरिएर रहेका मानव वस्तीहरुमा सानो अंकको स्रोतलाई ती बस्ती र नागरिकहरुमा महसुस हुने गरी पुर्याउने कुरा नै कठिन र मुख्य चुनौतीको विषय हो । तर पनि छथर गाउँपालिकाको हकमा आज विकासको हिसाबले सबै टोलहरुमा सडक पुग्ने, सडक पहुँचले नजिकबाट छुने, शिक्षा र आधारभूत स्वास्थ्यको पहुँच पुर्याउने, आधारभूत रूपले खानेपानीको परिपूर्ति गर्ने जस्ता कार्यको नेतृत्व गर्दै अगाडि बढेका छौँ ।

स्थनीय संस्कृति, कृषि, व्यापार आदिको प्रवर्द्धनमा पालिकाले कस्तो भूमिका खेलेको छ ?
स्थानीय उत्पादित चिजबस्तुको बजारीकरणको लागि मूलतः ग्रामीण भेगमा सडकको पहुँचबाट टाढा हुनुबित्तिकै सम्भव छैन । त्यसले गर्दा हामीले सडकको विस्तार कार्यलाई पहिलो प्राथमिकतामा राखेका छौँ । हामीले विस्तार गरेका सडकलाई ‘अल वेदर’ बनाउने प्रयास भइरहेको छ । ‘अल वेदर’ सडकलाई हामीले अझ व्यवस्थित सडक बनाउनतर्फ लागेका छौँ । जब सडक पुहँचले बस्तीलाई छुन्छ, तब त्यहाँ उत्पादित चिज वस्तुको निर्यात र बजारीकारणको लागि पनि त्यसले सघाउ पुर्याउँछ । त्यसो भएकोले हामी बजारीकरणमा पूर्वाधारको हिसाबले सहयोग गर्ने कामलाई निरन्तर नेतृत्व गरेर अगाडि बढेकाछौँ । कृषिलाई अझ व्यवसायिक बनाउन प्रविधिमैत्री किसिमले अगाडि बढाएका छौँ । नयाँ–नयाँ विकल्पका खेतीका बारेमा कृषकहरुमाझ निरन्तर छलफल अन्तरक्रिया गरिरहेका छौँ । माग, आवश्यकता र चासोअनुसार हामीले विभिन्न फलफूलका पकेटहरु बनाउने, तरकारीका जोनहरुको विकास गर्ने, उत्पादित चिज वस्तुहरु (जस्तो : अलैँची, अकबरे) लाई प्रोमोट गर्ने र यहाँका उत्पादित वस्तुहरुलाई थप व्यवस्थित र व्यवसायिक कसरी बनाउन सकिन्छ त्यस हिसाबले निरन्तर प्रयास गरिरहेका छौँ ।
छथर गाउँपालिकाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रहरुको विकासमा पालिकाको योगदान ?
अन्यत्र भन्दा छथर गाउँपालिकामा बढी मेला पर्वहरु लाग्ने गर्दछन् । यहाँको सांस्कृतिक पक्ष, धार्मिक पक्षको विकास, यहाँका सीप, कला, स्थानीय रैथाने पुरातात्विक सम्पदाहरुको संरक्षण गर्ने जिम्मेवारी पालिकाको हो । त्यसो हुनाले यहाँको लोपोन्मुख मेला पर्वहरुलाई संरक्षण गर्ने हिसाबले हामीले वार्षिक मेलाहरुलाई प्रवर्द्धन गरिरहेका छौँ । मेलाको माध्यमबाट यहाँका लुकेर रहेका लोपोन्मुख कला संस्कृतिहरुको जगेर्ना गरिरहेका हुन्छौँ । र, हिजोका सांस्कृति र आस्थासँग जोडिएका विषयहरुलाई प्रवर्द्धन गर्नुपर्दछ, यो हाम्रो सम्पत्ति हो भन्ने हिसाबले हरेक समुदायको कुलघरहरु निर्माण गर्ने, कुलघरहरु सभ्यता हो भन्ने मान्यताका साथ देवालीहरुको प्रोमोट गर्ने र त्यसलाई प्रोत्साहन गर्ने काम गरिएको छ । यहाँस्थित गढीहरुको संरक्षण गर्ने, गुम्बाहरुको संरक्षण गर्ने, लोपोन्मुख कला, संगीत, संस्कृतिहरुको संरक्षणका लागि विभिन्न कार्यक्रम आयोजना गरेर प्रवर्द्धन गरेका छौँ । डकुमेन्ट्रीहरु तयार गर्ने, प्रचारमा ल्याउने, प्रवर्द्धनात्मक कार्यका लागि आवश्यक स्रोतहरुको परिचालन गर्ने कामहरु भइरहेका छन् ।
नेतृत्वका हिसाबले तपाईको अघिल्लो कार्यकाल र यो कार्यकालमा जनताले चाहिँ कस्तो महसुस गरेका छन् ?
आजको दिनबाट ठीक ९ वर्ष अगाडि (अब १ वर्षत व्यतित हुन बाँकी छ) सिधुवाबाट शुक्रबारे बजार आइपुग्दा खुट्टा सुर्केर, हातमा जुत्ता चप्प्ल बोकेर, भएको आफ्नो झोलाझम्टी कुम्लोमा बाँधेर हिँड्नुपर्ने अवस्था थियो । यदि सवारी साधन चढ्नस पर्दा पनि ट्याक्टरले तान्दै, घिसार्दै, ठाउँठाउँमा खन्दै घण्टौ यात्रा गरेर पुग्नु पर्दथ्यो । आज यहाँका नागरिकहरु १० मिनेटको यात्रा तय गर्छन् र कालोपत्रे सडकमा आवतजावत गर्छन् । ९ वर्ष अगाडि यहाँका नागरिकहरु खानेपानी पैँचो माग्दथे, पैँचोमा बस्दथे । १ गाग्री पानीले गाईवस्तु र मानिससमेत बाँच्नु पर्दथ्यो । त्यसो भएकोले आजको मितिमा ती त्यस्ता घरधुरीहरुमा नागरिकको कोठेबारीमा साग फलिरहेको छ र त्यो उसको जिविकोपार्जनको माध्यम बनेको छ । विकल्पको हिसाबले यो गर्विलो विषय हो भन्ने लाग्छ । हिजो बाँच्नलाई खानेपानीसँग संघर्ष गर्नुपर्दथ्यो । आज जिविकोपार्जनको खोजीका काम अगाडि बढेको छ । ठीक ९ वर्ष अगाडि धेरै घरधुरी अन्धकारमा बस्दथे । आज सबै घरधुरीहरुमा बिजुली बत्ति पुगेको मात्रै होइन, बिजुली बालेको शुल्कसमेत स्थानीय सरकारले तिरिदिन्छ, निःशुल्क विद्युत सुविधा उपलब्ध छ । ९ वर्ष अगाडि बिरामीलाई डोकोमा बोकेर, डोलीमा बोकेर उपचार गराउन लानु पर्थ्यो । आज एम्बुलेन्सले निःशुल्क उपचारमा लैजान्छ । ज्येष्ठ नागरिकलाई यहिँको अस्पतालले घरघरमा उपचार सेवा दिएको स्थिति छ । स्थानीयले पालिकामै अस्पताल र उपचार पाएका छन् । स्थानीय अस्पतालमै सुत्केरी गराउने सुविधा उपलब्ध छ । ९ वर्षको अघिको शिक्षाको अवस्था नाजुक थियो भने आज हामी जिल्लाको सदरमुकामका विद्यालयसँग नतिजा र गुणस्तर दुवैमा प्रतिस्पर्धा गर्न सक्ने भएका छौँ । खेलकुदमा पनि जिल्लामा अन्य पालिकाहरुसँग प्रतिस्पर्धी रूपले उभिने सक्ने भएका छौँ । भनेपछि हिजो र आजको तुलना गर्दा नागरिकहरुले पक्कै परिवर्तन र रूपान्तरणको महसुस गर्न पाएका छन् भन्ने लाग्छ । सूचना प्रविधिको द्रुततर विकास र विस्तारले आम जनमानसमा आफ्नो ठाउँ पनि युरोप र अमेरिका जस्तो भए हुन्थ्यो भन्ने मानसिकताका कारण कतिपयमा फरक बुझाइ रहन सक्लान् । तर, ग्रामीण परिवेशमा हाम्रो गाउँपालिकाका नागरिकहरुले ९ वर्ष पहिले र अहिलेको अवस्थालाई तुलनात्मक अध्ययन गर्दा पक्कै परिवर्तन भएको भन्न सक्छन् ।
स्थानीय तहको नेतृत्व गरेर आजको दिनसम्ममा उल्लेख गर्न लायक कुनै ५ ओटा काम ?
पहिलो काम, सिधुवा–शुक्रबारे सडक कालोपत्रे भएको छ, जसले यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याएको छ । त्यो सडककै कारण किसाका दुग्ध उत्पादनदेखि बारीमा फलेका सागसब्जी फर्सीसमेतले बजार पाएको छ । दोस्रो, खानेपानीको हिसाबले जति काम सम्पन्न भयो, यसले मानिसलाई बचाउने काम गरेको छ । हामीले छथर अस्पताल आफैँले स्थापना गरेका छौँ । त्यहाँबाट दिने सेवाले स्वास्थ्यको दुष्टिकोणले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको राडरभित्र ल्याइएको छ । शिक्षामा हामीले जुन मेहनतका साथ काम थालेका छौँ, आजको मितिमा नतिजामुखी बन्दै गएको छ । जुन अवस्थामा छ हाम्रो परिवेश, त्यो अवस्थालाई हेर्दा हामीले केही नतिजा पाउँदै गएका छौँ, प्रतिस्पर्धी बन्दै गएका छौँ । खेलकुदमा हामी सबै हिसाबले प्रतिस्पर्धी अवस्थामा उत्रिएका छौँ र नतिजा पनि आइरहेको छ । लगानी पनि त्यही ढंगले अगाडि बढिरहेको छ । नागरिकहरुको सामाजिक क्षेत्रमा जन्मिँदै गर्दा स्वागत उपहार कार्यक्रम, जन्मिएपछि बच्चाको जीवन सुरक्षाको लागि ५ हजार मुद्दती बचत कार्यक्रम जस्ता कामदेखि लिएर मलामी खाजा कार्यक्रम दिएर आज गाउँपालिका सहाराका रूपमा उभिएको छ । एकल पुरुष, जो एक्लै भएर बाँचिरहेको छ, उसले मासिक प्रोत्साहन भत्ता पाएको छ । दीर्घरोगीहरुलाई नियमित औषधि उपलब्ध गराउनेदेखि उज्यालो छथर घोषणा कार्यक्रम सम्पन्न भएका छन् । आज तपाई छथर गाउँपालिकाको कुनै पनि घरधुरीमा पुग्दा गाउँपालिकासँग सम्बन्ध विस्तार भएको कुनै न कुनै वस्तु वा सुविधाका चिज वस्तु देख्न सक्नु हुन्छ । चाहे ट्वाइलेट हुन सक्छ, हिलटेक हुन सक्छ, जस्तापाता हुन सक्छ वा कोठेबारीमा फलेका सब्जी तरकारीको बीउविजन हुन सक्छ वा घर अगाडिको बाटो हुन सक्छ ।
जनतासँग मत माग्दा व्यक्त गरेका प्रतिवद्धता कति पूरा भए ? कति बाँकी छन् ?
मैले र म आबद्ध पार्टीले जनताका घरदैलोमा मत माग्न जाँदा बाँढेको प्रतिबद्धतापत्र अहिले पनि मेरो सिरानीमा छ । पहिलो चुनावमा जे जस्ता प्रतिवद्धता गरेका थियौँ, खासगरी सडक निर्माणको थालनीका कुरा थिए । ती काम सम्पन्न गरेकै थियौँ, त्यसैले गर्दा दोस्रो पटक पनि जनताले निर्वाचित गराएका हुन् । दोस्रो पटकको हाम्रो प्रतिवद्धता हो, वडादेखि पालिकाको केन्द्र जोड्ने सडकहरुलाई ‘अल वेदर’ बनाउने । वडा कार्यालय भवनहरु निर्माण गर्दै जाने, वडाका स्वास्थ्य चौकीहरु पक्की बनाउँदै अगाडि बढाउने, एक टोल एक विकासको कामलाई प्राथमिकताका साथ अगाडि बढाउने । हरेक टोललाई प्रविधिसँग जोडेर कृषिलाई यन्त्रीकरण र व्यवसायिकीकरणसहित अगाडि बढाउने । स्रोत भएका ठाउँमा सिँचाइका आयोजना पूरा गरेर सञ्चालनमा ल्याउने, अधुरो रहेका खानेपानी आयोजनालाई सम्पन्न गर्ने । बजार र केन्द्रमा रहेका अव्यवस्थित चिजहरु व्यवस्थित गर्दै अगाडि बढाउने, सरकारी पर्ति जग्गा उपभोग गरेको हकमा कानुनी प्रक्रियाअनुसार व्यवस्थित गर्दै लैजाने, शिक्षा, स्वास्थ्यको क्षेत्रमा आवश्यकताअनुसार पूर्वाधार विकास गर्दै अगाडि बढ्ने यी मुख्य प्रतिवद्धता थिए । आज यी सबै विषय पूरा हुने चरणमा छन् ।
अन्त्यमा, अबको बजेट कस्तो आउँदैछ ?
अबको बजेट अधुरा योजनालाई पूरा गर्ने किसिमले आउँछ । किनभने यो फिनिसिङ चरण हो । किनभने यो १० वर्षको कामको रिपोर्ट तयार गर्ने बेला हो । त्यसैले अधुरा योजना पूरा गर्ने हाम्रो पहिलो प्राथमिकता हो । दोस्रो, हामी यो पालिकालाई भोकमुक्त पालिका घोषणा गर्ने महत्वकांक्षी योजना छ । यसका लागि प्रत्येक घरको सर्भे हुन्छ । राज्यको कुनै पनि स्रोतमा नजोडिएको परिवार, वैदेशिक रोजगार, निजी र सरकारी रोजगारीमा नजोडिएका, सामाजिक सुरक्षामा पनि नजोडिएका विशुद्ध बनीबुतो गरेर खाने, ज्याला मजदुरी गरेर खाने परिवारको हकमा गाउँपालिका स्वरोजगार कार्यक्रम सञ्चालन गर्छौं । गाउँको खानेपानी, कृषि कार्य, पूर्वाधार विकासलगायतका काममा ती जनशक्तिलाई परिचालन गरेर कम्तिका क्यालोरीको हिसाबले खान पाउने परिस्थितिको निर्माण गरेर भोकमुक्त पालिका घोषणा गर्छौं । त्यसपछि हामी यो पालिकालाई डिजिटलमैत्री पालिका बनाउँदै सेवा प्रवाहमा जान्छौँ । संवेदनशीलस्थलहरुमा सिसिक्यामेरामार्फत भरपर्दो सुरक्षा व्यवस्थाका लागि पहल गर्छौं । कृषि क्षेत्रको विकासका लागि आवश्यकताअनुसार कुटानी पिसानीका मिल तथा प्रशोधन केन्द्रहरुको स्थापना गर्नेतर्फ केन्द्रित हुन्छौं ।

प्रतिक्रिया
यस समाचारमा आफ्नो विचार राख्नुहोस्।