लालबहादुर विष्ट (एलबी) झापाको कमल गाउँपालिका वडा नं. ५ को वडाध्यक्ष हुन् । विष्ट आफूलाई नागरिकसँग घुलमिल भएर काम गर्ने वडाध्यक्ष भएको दावी गर्छन् । नागरिकका सुख, दुःखमा सँधै साथमा हुने उनको भनाइ छ । विकास निर्माणका काममा विशेष रुची राख्ने वडाध्यक्षका रूपमा आफूलाई चिनाउन चाहने विष्टसँग कमल ५ को गतिविधि, विकास निर्माणलगायतका विषयमा सप्ताहिक बहसले गरेको कुराकानी
तपाईंको वडामा के कस्ता समस्या छन् ?
हाम्रो वडा सचेत र शिक्षित समुदाय बसेको वडा हो । यो वडा भौतिक पूर्वाधारका दृष्टिले पनि उन्नत रहेको छ । सुगम छ । पूर्वपश्चिम राजमार्गमै सटेको छ । दमक शहरबाट नजिकै छ । तर, पनि यहाँ विभिन्न समस्याहरू रहेका छन् । जस्तै लागुऔषध दुव्र्यसनीहरूको बाक्लो अखडा रहेको क्षेत्रका रूपमा यो वडा पर्दछ । यो विडम्बनाको कुरा हो, तर पनि यथार्थ लुकाएर लुक्दैन । लागुऔषध दुव्र्यसनको समस्या छ । अर्कातर्फ वडाको उत्तरी भेगमा जंगली हात्तीले बर्सेनि दुःख दिन्छ । यहाँ हात्ती प्रवेश गरेर आतंक नै मच्चाउँछ । बालीनाली नष्ट गर्छ । घर र धनमाल नष्ट गरिदिन्छ । यस्तै रतुवा र चाँजु खोलाले कटान गर्ने समस्या पनि छ । वर्षाको समयमा बाढीको समस्याले पनि सताउँछ । सुकुम्बासीको समस्या पनि यो वडामा बिगत लामो समयदेखि रहेको छ ।
यी समस्याको समाधानका लागि कसरी अगाडि बढिरहनुभएको छ ?
लागुऔषध दुव्र्यसनको नियन्त्रण र रोकथामका लागि सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ । कतिपय दुव्र्यसनीहरूलाई बानी सुधारका लागि सुधार केन्द्रमा पठाउन प्रोत्साहन र सहयोग पनि गरिन्छ । लागुऔषध कारोबार नियन्त्रण र कारोबारीहरूको पहिचान गरी कानुनी कारबाही गर्न प्रशासन र प्रहरीसँग सहकार्य र समन्वय गर्दै आएका छौँ । तर, यसका लागि सिङ्गो परिवार, समाज र सरोकारवालाहरूको ऐक्यबद्ध पहल आवश्यक हुन्छ ।
त्यस्तै, हात्ती आतंक कम गर्न वडाले टर्चलाइट र साइरनहरू बाँड्ने गरेको छ । प्रशासन र प्रहरीबाट सकेको सहयोग लिइने गरिएको छ । तर, यसको दीगो समाधान हुन सकेको छैन । रतुवा र चाँजु खोलाको बाढी र कटान रोक्न तटबन्धको काम भएको छ । यसबाट नदी नियन्त्रणमा केही आंशिक सफलता मिलेको छ ।
तपाईं वडाध्यक्ष भएपछि वडाको विकासमा के गरिरहनुभएको छ ?
म वडाध्यक्ष भएर आएको पनि साढे ३ वर्षभन्दा बढी भइसक्यो । यसबीचमा हामीले साधुहोली सिमसार पर्यटकीय क्षेत्रलाई आन्तरिक पर्यटकको रोजाइएको गन्तव्य बनाउन सफल भएका छौँ । गुह्येश्वरीमा खुला व्यायमशाला निर्माण सम्पन्न भएको छ । बालबालिका, युवा र ज्येष्ठ नागरिकका लागि यो महत्वपूर्ण योजना हो । त्यस्तै, पाडाजुँगी–गुह्येश्वरी कालोपत्रेको काम सम्पन्न भई उपभोक्ताहरू लाभान्वित भइसकेका छन् । वडामा पालिकाको सहयोगमा रेडक्रस भवन बनेको छ । पाडाजुँगी र मंगलबारेमा सौन्दर्यकरणको काम भएको छ । मुख्य सडकहरूमा विद्युतीकरण गर्ने काम भएको छ ।
लखनपुर खानेपानी आयोजनाको कामले विशेष फड्को मारेको छ । आदिवासी रंगशालामा कम्पाउण्ड वाल लगाउने काम भएको छ । चाँजु खोलामा झोलुङ्गे पुल प्रदेश सरकारको क्रमागत बजेट मार्फत ठेक्का लागेर काम यसै आवमा सुरु भइरहेको छ । जसअन्तर्गत झुलुङ्गे पुल पूर्णरूपमा सम्पन्न हुनेछ । पाडाजुँगी, मङलबारे बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित चुलाचुलीबासीलाई यहाँको बजारसँग जोड्न प्रदेश सरकारको सहयोगमा सडक सञ्जाल निर्माणमा पाडाजुँगीदेखि चुलाचुली खत्री चोकसम्म कालोपत्रे सडक निर्माण धमाधम भइरहेकोछ ।
सिँचाइ तथा खानेपानी मन्त्रालय कोशी प्रदेशको क्रमागत बजेटअन्तर्गत सिम्ले खानेपानीको पूर्वाधार निर्माण अघिल्लो वर्षदेखि सुुरु भएको छ जुन योजनासमेत निर्माण सम्पन्न हँुदा सम्मको लागि ठेक्का लागेको हो । यी कामहरू संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट भएका हुन् ।
अबका योजना चाहिँ के छन् ?
साधुहोली सिमसार सुधारको काम आगामी योजनाको काम हो । त्यस्तै सुकुम्बासी बस्तीमा ब्लक बिछ्याउने काम पनि गर्नुछ । रतुवा खोलामा थप तटबन्धन गर्नुपर्ने छ । गेउरिया खोलाको पुल निर्माणको कार्यका लागि संघ र प्रदेश सरकारको सहयोग चाहिन्छ । गेउरिया खोलाको पुल भने निर्माण भइरहेको अवस्थामा छ । यी योजनाका कामहरू स्थानीय सरकारको एक्लो प्रयासबाट नहुने अवस्थामा रहँदा संघ र प्रदेश सरकारसँग सहकार्य र समन्वय हुनेछ । बजेटको अभावमा जति काम गर्नुपर्ने हो, त्यति गर्न सकिएको छैन । त्यसैले अहिलेसम्म भएका कामहरूबाट आंशिक सन्तुष्ट भए पनि पूर्ण सन्तुष्ट भने हुन सकेको छैन ।
तपाईंको कामप्रति वडावासीहरूको प्रतिक्रिया चाहिँ के छ ?
विकास निर्माणका काममा वडावासीको साथ सहयोग र समर्थन रहेको पाएको छु । तर, सामाजिक काममा भने जति प्रतिफल प्राप्त हुनुपर्ने हो त्यति हुन सकेको छैन । जस्तो कि लागुऔषध दुव्र्यसनको समस्यामा हामीले भनेजति उपलब्धि हासिल गर्न सकेको छैनौँ । यसमा सबैको साथ सहयोगको जरुरी छ ।
जनप्रतिनिधिबीचको समन्वय चाहिँ कस्तो छ ?
वडाको विकास र समृद्धिका लागि काम गर्ने सवालमा हामी जनप्रतिनिधिहरू एकढिक्का छौँ । स्थानीय वडावासी जनताको पनि साथ सहयोग नै रहेको छ । वडावासीको हितमा काम गर्न हामी जनप्रतिनिधि एकढिक्का रहेका छौँ ।




