आजको मिति: मंगलबार, जेठ २६, २०८३
१०:२८ बजे (राति)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

‘खेलकुदमार्फत लागू पदार्थविरुद्ध युवालाई सकारात्मक दिशामा लैजाने लक्ष्य हो’

Infinite Scroll Ad

स्पर्श सामाजिक क्लब, गौरादह १ ले ‘लागू पदार्थ विरुद्ध खेलकुद’ भन्ने नारासहित वडास्तरीय फुट्सल प्रतियोगिताको आयोजना गर्ने भएको छ । युवाहरूलाई लागू पदार्थ दुर्व्यसनबाट टाढा राख्दै खेलकुदमार्फत सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताले स्थानीय स्तरमा उत्साह थपेको छ । प्रतियोगिताको उद्देश्य, तयारी, चुनौती र क्लबका आगामी योजनाबारे स्पर्श सामाजिक क्लबका अध्यक्ष उज्ज्वल दाहालसँग गरिएको कुराकानी प्रस्तुत गरेका छौँ ।

केहि महिना अघि मात्रै स्थापना भएको क्लबले छोटो समयमै वडास्तरीय फुट्सल प्रतियोगिता आयोजना गर्ने सोच कसरी आयो ?

हाम्रो क्लब स्थापना नै सामाजिक परिवर्तन र युवाको सकारात्मक ऊर्जालाई सही दिशामा लैजाने उद्देश्यले गरिएको हो । समाजमा पछिल्लो समय युवाहरू लागू पदार्थ दुर्व्यसन, गलत संगत र निष्क्रिय गतिविधिमा फसिरहेका छन् भन्ने कुरा हामीले नजिकबाट देखिरहेका थियौं ।

Sidebar Premium Ad

त्यसैले, केवल कुरा गरेर होइन, व्यवहारमै केही गरेर देखाउनुपर्छ भन्ने सोचले हामीले खेलकुदलाई माध्यम बनायौं । फुट्सल युवाहरूबीच अत्यन्त लोकप्रिय खेल भएकाले यसलाई माध्यम बनाएर सचेतना फैलाउने निर्णय गरेका हौं ।


‘लागू पदार्थ विरुद्ध खेलकुद’ भन्ने नारालाई प्राथमिकता दिनुको मुख्य कारण के हो ?

यो नारा हामीले केवल प्रचारका लागि होइन, वास्तविक सामाजिक आवश्यकताका आधारमा चयन गरेका हौं । खेलकुदले अनुशासन, आत्मनियन्त्रण, आत्मविश्वास र समूहमा काम गर्ने क्षमता विकास गर्छ ।

जब युवा खेलकुदमा व्यस्त हुन्छन्, उनीहरू गलत बाटोतर्फ आकर्षित हुने सम्भावना कम हुन्छ । त्यसैले खेलकुदलाई नै सकारात्मक विकल्पका रूपमा प्रस्तुत गर्न यो नारा राखिएको हो । हाम्रो उद्देश्य युवालाई डर देखाउने होइन, अवसर देखाउने हो ।

Sidebar Premium Ad

प्रतियोगिताबाट क्लबले कस्तो प्रभावको अपेक्षा गरेको छ ?

हामीले यो प्रतियोगिताबाट धेरै तहको प्रभावको अपेक्षा गरेका छौं । पहिलो, युवाहरूबीच आपसी मित्रता र खेल भावना विकास होस् भन्ने चाहन्छौं । दोस्रो, समुदायमा लागू पदार्थको दुष्परिणामबारे स्पष्ट सन्देश जाओस् भन्ने अपेक्षा छ ।

तेस्रो, स्थानीय प्रतिभाहरूले आफ्नो क्षमता देखाउने अवसर पाऊन् भन्ने हाम्रो उद्देश्य हो । यदि एकजना युवा पनि गलत बाटोबाट रोकिए भने, हाम्रो प्रयास सफल भएको मान्नेछौं ।


यस प्रतियोगितामा कति टोलीको सहभागिता रहनेछ ?

गौरादह नगरपालिका भित्रका ९ वटै वडाबाट टोलीहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरेका छौं । प्रत्येक वडाबाट प्रतिनिधित्व हुने भएकाले प्रतियोगिता निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने विश्वास छ ।

Above Content Ad
Header Top Ad

साथै, यसले स्थानीय स्तरमै खेलाडी पहिचान गर्ने राम्रो अवसर पनि प्रदान गर्नेछ । हामी भविष्यमा यी प्रतिभाहरूलाई थप प्रशिक्षण र अवसर दिने योजनामा पनि छौं ।


नयाँ स्थापित क्लबका रूपमा यस्तो कार्यक्रम सञ्चालन गर्दा कस्ता चुनौतीहरू सामना गर्नुपर्‍यो ?

नयाँ क्लब भएकाले सुरुमा आर्थिक व्यवस्थापन सबैभन्दा ठूलो चुनौती रह्यो । आवश्यक खेल सामग्री, मैदान व्यवस्थापन, प्रायोजक जुटाउने काम सजिलो थिएन ।

त्यसैगरी, अनुभवको कमीले व्यवस्थापकीय पक्षमा पनि चुनौती थियो । तर, क्लबका सदस्यहरूको एकता, स्थानीय समुदायको सहयोग र शुभेच्छुकहरूको समर्थनले हामीलाई धेरै सहज बनायो । अहिले हामीले यी चुनौतीलाई अवसरमा बदल्ने प्रयास गरेका छौं ।


प्रतियोगिताका विजेता तथा सहभागीका लागि के व्यवस्था गरिएको छ ?

उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीहरूलाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । प्रथम पुरस्कारस्वरूप नगद रु १५,००० र द्वितीय पुरस्कारस्वरूप नगद रु १०,००० रहेको छ ।

साथै, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र अनुशासित टोलीलाई विशेष सम्मान पनि प्रदान गरिनेछ । हाम्रो उद्देश्य केवल जितहार होइन, समग्र खेल भावना र अनुशासनलाई प्रोत्साहन गर्नु हो ।


क्लबको आगामी योजना के छन् ?

यो प्रतियोगिता हाम्रो सुरुवात मात्र हो । आगामी दिनमा खेलकुदसँगै सामाजिक सचेतना, स्वास्थ्य, शिक्षा र युवामुखी कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना छ ।

विशेषगरी लागू पदार्थ विरुद्ध नियमित अभियान, विद्यालयस्तरका कार्यक्रम र प्रशिक्षण शिविरहरू सञ्चालन गर्ने लक्ष्य राखेका छौं । समाज रूपान्तरणमा युवाको सक्रिय भूमिका स्थापित गर्नु हाम्रो दीर्घकालीन उद्देश्य हो ।


अन्त्यमा गौरादहका युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ ?

युवाशक्ति देशको भविष्य मात्र होइन, वर्तमान पनि हो । त्यसैले आफ्नो समय र ऊर्जा सही दिशामा लगाउनु अत्यन्त आवश्यक छ । लागू पदार्थजस्ता दुर्व्यसनबाट टाढा रही खेलकुद, शिक्षा र सकारात्मक सामाजिक गतिविधिमा सक्रिय हुन सबै युवालाई आग्रह गर्दछु । स्वस्थ युवा नै समृद्ध समाज र उज्ज्वल भविष्यको आधार हो ।

Above Content Ad
Header Top Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *