तेजन खड्का
भुवन केसी अर्थात नेपाली फिल्म क्षेत्रका सदावहार अनिभेता । फिल्म क्षेत्रकै एउटा यस्तो नाम, जसले पुराना पुस्तालाई सुनौलो इतिहास सम्झाइदिन्छ भने नयाँ पुस्तालाई अभिनयको गहिरो परिभाषा दिन्छ ।
२०३० को दशकदेखि आजसम्म पनि उनी अभिनयको केन्द्रमा छन्– कहिले परम्परागत प्रेमीको रूपमा त कहिले समाजलाई ऐना देखाउने भूमिकामा । भुवन केसीले झण्डै पाँच दशक लामो फिल्मी यात्रामा सय भन्दा बढी फिल्ममा अभिनय गरेका छन् ।
उनी अभिनित कुसुमे रुमाल, चिनो, नेपाली बाबु, सम्झना, म तिमी बिना मरिहाल्छु जस्ता फिल्महरू नेपाली फिल्म इतिहासकै माइलस्टोन मानिन्छन् । तर जब उनीसँग ‘तपाईंलाई मनपर्ने पाँच नेपाली फिल्म कुन–कुन हुन् ?’ भन्ने प्रश्न गरिन्छ, उनी केही छिन गम्भीर हुन्छन् । ‘फिल्म छनोट गर्नु भनेको इतिहासका पानाहरू पल्टाउनु हो’, उनी भन्छन् – ‘तर, म केही त्यस्ता फिल्मको नाम लिन चाहन्छु, जसले मलाई कलाकार मात्र नभएर नागरिकका रूपमा पनि छोएको छ ।’
कन्यादान– परम्पराभित्रको विद्रोह
त्यो फिल्मले मलाई र आम दर्शकलाई पनि झस्कायो । बाल विवाह, विधवाको पुनर्विवाहजस्ता मुद्दालाई उठाएर बनेको फिल्म ‘कन्यादान’ सामाजिक क्रान्तिको ज्वालामुखी जस्तै थियो। निर्देशक प्रकाश थापाको संवेदनशील निर्देशन र कलाकारहरूको गम्भीर अभिनयले फिल्मलाई कालजयी बनाएको हो । व्यापारिक हिसाबले पनि हिट, र सामाजिक दृष्टिले पनि गम्भीर। त्यसैले कन्यादान मलाई विशेष लाग्छ ।
नुमाफुङ– मौलिकताको सुगन्ध
लिम्बू संस्कृति, परम्परा तथा पहिचानलाई नयाँ नजरबाट हेरेको फिल्म ‘नुमाफुङ’ मेरो मन छोएको अर्को फिल्म हो ।
गीत बिनाको शुद्ध कथा, वास्तविक परिवेश तथा निर्देशक नविन सुब्बाको समर्पणले यो फिल्मलाई कलात्मक बनाएको छ । कलाकार भएकोले म मौलिकपनामा झल्किने संवेदना महसुस गर्छु, नुमाफुङ त्यसको उत्कृष्ट उदाहरण हो ।
बुलबुल– विदेशको सपना र घरको पीडा
बुलबुल सस्तो ड्रामाभन्दा फरक छ । यहाँ कथा छ, चुपचाप बोल्ने पीडा छ । वैदेशिक रोजगारीमा गएकाहरूको मनोदशा, उनीहरूको सपना र घरेलु चित्तबुझाइ फिल्मको मेरुदण्ड हो । कहिलेकाहिँ सादा देखिने फिल्मले गहिरो असर गर्छ, बुलबुल त्यस्तै हो ।
पशुपति प्रसाद– आर्यघाटभित्रको जीवन
यो फिल्मले मरेका मात्रै होइन, बाँचेका मानिसहरूको संघर्ष पनि देखायो । पशुपति प्रसादले नेपाली समाजको नीतिगत असमानता, गरीवी, संघर्ष, र आशालाई फिल्मको पर्दामा बाँच्न सक्ने शैलीमा देखाएको छ । बागमतीको छेउमा चिता बालिँदा देखिने त्यो जीवनको मूल्य, त्यसमा बोलिएका संवाद तथा कलाकारहरूको आत्मीय अभिनय म सधैं सम्झिन्छु ।
जेरी– युवाका आँखाबाट फिल्म
पुरानो पुस्ताका अभिनेता भए पनि म नयाँ पुस्ताको स्वाद र चाहना बुझ्ने प्रयास गर्छु । फिल्म जेरीलाई मैले युवा दर्शकलाई सिनेमा हलतिर फर्काएको उदाहरणका रूपमा लिन्छु । नेपाली सिनेमा हेर्दैनन् भन्ने युवालाई आकर्षित गर्न जेरी सफल भयो। नयाँ कलाकारहरूको कामले आशा जगाएको छ ।
भुवन केसीको यो फेहरिस्तले देखाउँछ– उनी मात्र स्टार होइनन्, संवेदनशील दर्शक पनि हुन् । वास्तवमा अभिनेता केसीलाई कुनै फिल्म अभिनयका लागि मन परेको छ, कुनै विचारका लागि, त कुनै सामाजिक असरका लागि । यी पाँच फिल्महरू उनले छनोट गरेका छन्– अभिनेताको आँखाबाट, नागरिकको मनबाट ।




