आजको मिति: आइतबार, जेठ १०, २०८३
०५:३२ बजे (बेलुका)

साप्ताहिक बहस

साप्ताहिक बहसको आधिकारिक अनलाइन संस्करण

बादल माझी : आफै कोच, आफै व्यवस्थापक

एक्लो प्रयासमा एकेडेमी सञ्चालन

Infinite Scroll Ad

सजन राई

बिहान र बेलुका दमक ५ दिपिनी आधारभूत विद्यालय भन्दा पश्चिमतिरको प्लटिङ जग्गामा एउटा जमात देखिन्छ । जहाँ युवा, युवती र स–साना नानीबाबुहरू सपना, भविष्य र उर्जा लिएर एकसाथ दौडिरहेका देखिन्छन् । त्यहाँ अरु केही नभएर फुटबल प्रशिक्षण भइरहेको हुन्छ । दमक ५ को फुटबल टिमका टिम क्याप्टेन बादल माझीलाई कोच भन्नेको जमात ठूलो छ त्यहाँ । उनी एन्फाको लाईसेन्स प्राप्त प्रशिक्षक समेत हुन् । उनकै एकल प्रयासमा यहाँ फुटबलको प्रशिक्षण हुन थालेको २ वर्ष भइसक्यो ।

०८१ वैशाखमा ध्रुवतारा क्लबको आयोजनामा दमक ३ दुम्सेमा भएको वडास्तरीय खेलको लागि अभ्यास गर्नुपर्ने भयो । तर, आफ्‌नै वडाभित्र अभ्यास गर्नलाई मैदान थिएन । समस्यालाई सफलतामा परिणत गर्नुपर्ने चुनौती थियो । दमक ५ का टिम क्याप्टेन बादलले प्लटिङलाई सुविधा सम्पन्न मैदान देखे र सुरु गरे फुटबल ट्रेनिङ । त्यसपछि भने ट्रेनिङ अनिवार्य र निरन्तर गर्नु पर्छ भन्ने सोच आएको उनी बताउँछन् । डी फाइभ एकेडेमी नामाकरण गरेर निरन्तरता दिएको यस प्रशिक्षण केन्द्रमा हाल ११ जना किशोरी र ४५ किशोर खेलाडीले प्रशिक्षण लिइरहेका छन् ।

अहिले एकेडेमीको कोच भने पनि व्यवस्थापक भने पनि बादल आफैँ हुन् । सहयोगी दाताहरू नहुनु हो भने एकेडेमी चलाउन गाह्रो हुने बताउँछन् उनी । भन्छन् –‘एक्लै नै लागिरहेको छु । जे होस् वडाले चाहिँ सहयोग गर्दैछ । केही सामानहरू पनि खरिद गरिदिएको छ वडाले । अन्य त व्यक्तिगत तथा संस्थागत सहयोगहरू पाएका छौँ । वडाले ३ महिना वडा भित्रका अन्य खेलाडीहरूलाई ट्रेनिङ गराएबापत सेलरी दिने गरेको छ । यसैले सामान्य जिविकोपार्जन भइरहेको छ ।’

एकेडेमीमा प्रशिक्षण लिए बापत केही शुल्क भने तिर्नुपर्ने बादलले बताए । `हामीले पहिला महिनाको १ हजार शुल्क लिने गरेका थियौँ । नयाँ वर्षदेखि ५ सय थप गरेर जर्सी पनि दिने गरेका छौँ,’ उनले भने, ‘विभिन्न प्रतियोगितामा सहभागिता जनाउन जाँदा अन्य सहयोग नपाएमा यही खेलाडी शुल्कबापत जम्मा भएको रकम खर्च गर्ने गरेका छौँ ।’

स्थायी रूपमा एउटा खेलमैदान व्यवस्थापन गर्न सके वडामा राम्रो प्रशिक्षण गराउन सकिने आशा राख्छन बादल । तर, उनको त्यो सोचाइ अनुसारको सफलता कति टाढा छ ? उनैलाई थाहा छैन । भन्छन्, `यो जग्गाधनी विदेशमा छ । स्विकृति लिएर नै खेलाउन सुरु गरेको हो । तर बर्खामा हिलो, हिउँदमा धुलोले बिजोक बनाउँछ ।’ वडाको छुट्टै खेलमैदान भइदिए अहिले भन्दा उत्कृष्ट टिम उत्पादन हुने उनको तर्क छ ।

एकेडेमीलाई व्यवस्थित रूपमा बढाउँदै लैजाने सोचमा छन् बादल । सबैबाट साथ सहयोग पाएसम्म प्रशिक्षण कार्यलाई निरन्तरता दिने उनले बताए । अग्रज कोचहरूसँग परामर्श लिएर एकेडेमीलाई उत्कृष्ट बनाउँदै लैजाने योजना रहेको छ । ‘सकेसम्म दीर्घकालीन रूपमा लैजाने हो । एक्लै त गाह्रो हुन्छ,’ उनले भने । सकेसम्म आफ्‌नै देशमा दुख गर्ने बादलको सोच रहेको छ । भविष्यको विषयमा बादलको योजना भने अन्य खेलाडीहरूको जस्तै छ । ‘अन्त्यमा भएन नै भने त विदेश पलायन नै विकल्प हो । परिवारको लागि भए पनि कमाउन त जानु पर्ने हुन्छ,’ उनी भन्छन् ।

फुटबलको नशा लागेकोले छाड्न गाह्रो हुने बादल बताउँछन् । दमकबाट सकेसम्म धेरै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उनको लक्ष्य छ । आफूले त्यो अवसर नपाए पनि अबको पुस्ताले पाउनुपर्छ र त्यसको लागि आफूले सक्दो सहयोग गर्नुपर्छ भन्ने उनको भनाइ हो । `तर, खेलाडीहरूले पनि पैसाकै लागि मात्र नभएर आफ्‌नो नाम र ठाउँको लागि खेल्नुपर्छ । विदेशमा पनि त खेलाडीहरू पार्टटाइम जब गरेर ट्रेनिङ लिइरहेको हुन्छ,’ बदल भन्छन् ।

स्थानीय खेलाडीहरूले पनि काम गर्दै ट्रेनिङ गरे आर्थिक भार कम हुने उनको सुझाव छ । सरकारको मात्र मुख ताकेर नहुने तर्क गर्ने बादलको आफ्‌नै पारिवारिक अवस्था मजबुद्ध छैन । ‘अन्य आयस्रोत केही छैन । सुकुम्बासी बस्तीमा बसोबास छ । मेरो बुबा अहिले पनि ठेला चलाउनु हुन्छ,’ उनी भन्छन् ।

Above Content Ad
Sidebar Premium Ad

भर्खरै सम्पन्न दोस्रो दमक खेलकुद महोत्सवमा पुनः उपविजेता बनेको दमक ५ का क्याप्टेन बादल यस्ता खेलकुद गतिविधिहरू वर्षमा २–३ पटक आयोजना हुनु पर्नेमा जोड दिन्छन् । खेलकुदका कार्यक्रम निरन्तर भइरहेमा नगरको उत्कृष्ट टिम तयार हुने उनको बुझाइ छ ।

माझीसँग नियमित फुटबल प्रशिक्षण लिइरहेकी दमक ९ की १३ वर्षीया ममता बस्नेत दैनिक प्रशिक्षणमा आउने गर्छिन् । ट्रेनिङ राम्रो हुने भएकोले समय निकालेर आउने गरेको ममताको भनाई छ । `म प्रतियोगिताहरूमा सहभागी नहुँदा सधैँ ट्रेनिङमा आउने गर्छु । मैले जहिले पनि कोचको कुरालाई फलो गर्ने हो । म यहाँकै उत्पादन हुँ । यस एकेडेमीको लागि र अन्य क्लबहरूबाट समेत धेरै प्रतियोगिताहरू खेलेकी छु,’ दुःखले प्रशिक्षण गर्न पाएको बारे उनी भन्छिन्, ‘अन्य ठाउँमा जाँदा हामिले ट्रेनिङ चाहीँ एकदम दुःखले गरेका रहेछौँ भन्ने आभास हुन्छ । मैदानको बिजोक छ । के मैदान भन्नु र प्लटिङको जग्गा त हो । मलाई लाग्छ राम्रो खेल मैदान भइदिए त हाम्रो ट्रेनिङ धेरै राम्रो हुने थियो ।’

खेलमैदान नजिकै घर भएका १५ वर्षीय निश्चल अधिकारी अहिले कक्षा १० मा अध्ययनरत छन् । तर उनीसँग धेरै वटा उमेर समूहका खेल खेलेको अनुभव छ । यहीँको उत्पादन भएर अवसर पाएको बताउने निश्चल भन्छन्, `मेरो त घर छेउमै छ ट्रेनिङ सेन्टर । सधैँ आउँछु । यो मैदान स्थायी भइदिए त झन कति राम्रो हुने थियो । दुःख गरेर भए पनि एकेडेमीले यहाँ ट्रेनिङ गराएर हामीलाई विभिन्न उमेर समूहको प्रतियोगिताहरूमा सहभागी गराएको छ । हामी पनि मिहिनेत गरिरहेका छौँ ।’

खेललाई माया गर्नु पर्नेमा जोड दिँदै निश्चल भन्छन्, ‘पढाइसँगै खेलकुद अनिवार्य हो । अनुशासित भएर आत्मविश्वासका साथ कोचको कुरालाई मान्ने हो भने सफल खेलाडी बन्न सकिन्छ,’ उनी भन्छन्, `खेलपछि खेलको समीक्षा गर्नु असल खेलाडीको गुण हो । फुटबल खेलाडी बन्न फुटबल खेल्नु भन्दा पहिले फुटबल बुझ्‌न आवश्यक छ ।’

Above Content Ad
Sidebar Premium Ad

टिप्पणी दिनुहोस्

Your email address will not be published. Required fields are marked *