दमक ।
अन्तर्राष्ट्रियस्तरमा चर्किएको अमेरिका–इरान द्वन्द्वको प्रत्यक्ष असर नेपालको राष्ट्रिय गौरवको आयोजनामा देखिन थालेको छ । इन्धनको अचाक्ली मूल्यवृद्धि र कालोपत्रेका लागि नभई नहुने बिटुमिनको हाहाकार भएपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गतको काँकडभिट्टा–लौकही सडक विस्तार कार्य संकटमा परेको हो ।
निर्माणको मुख्य सिजनमै कच्चा पदार्थ र इन्धनको अभाव चुलिएपछि आयोजनाको काम सोचेअनुरूप अघि बढ्न सकेको छैन । एसियाली राजमार्गसँग जोड्ने लक्ष्यका साथ सुरु गरिएको यो चारलेन सडक आयोजना अहिले इन्धन अभावका कारण कछुवा गतिमा झरेको छ । निर्माण व्यवसायीहरूका अनुसार बजारमा मागको तुलनामा आधा मात्रै डिजेल उपलब्ध छ भने भारतबाट आयात हुने बिटुमिनको आपूर्ति पूर्ण रूपमा ठप्प प्रायः छ ।
सामान्यतया फागुनदेखि जेठसम्मको समयलाई सडक निर्माणको ‘स्वर्ण समय’ मानिन्छ । तर, यही बेला आयोजनाका दुवै खण्ड (पूर्वी र पश्चिम) मा उत्साहजनक प्रगति देखिनुको साटो निराशा छाएको छ । काँकडभिट्टा–लौकहीअन्तगर्त पूर्वी खण्डका आयोजना प्रमुख सुनीलबाबु पन्तका अनुसार दैनिक १५ हजार लिटर डिजेल खपत हुने ठाउँमा व्यवसायीले ५० प्रतिशत मात्रै तेल पाइरहेका छन् । जसका कारण जुन रफ्तारमा मेसिनहरू चल्नुपर्ने हो, त्यो चल्न सकेका छैनन् । ‘बिटुमिन चाहिँ १५ दिनलाई पुग्ने स्टक छ । हाम्रो खण्डमा दैनिक १५ हजार लिटर डिजेल खपत हुन्छ । यसको मूल्यवृद्धि त छँदैछ । तर, मागको ५० प्रतिशत मात्रै डिजेल पाएको निर्माण व्यवसायीले जानकारी दिएका छन् । हामीले सिफारिस गरेपछि डिजेल पाइन्छ भनेर निर्माण व्यवसायीले भनेपछि सिफासिरको तयारीमा छौँ’, उनले भने, ‘मूल्यवृद्धिको असर त देखिएको छ । जुन रफतारमा काम हुनुपर्ने हो त्यो रफतारमा काम हुन सकेको छैन । अहिले काम गर्ने सिजन हो । यो सिजनमा ५० प्रतिशत पु¥याउने लक्ष्य थियो । तर, पुग्ने अवस्था देखिएन ।’
४५ किलोमिटर सडक निर्माणको ठेक्का भने १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले लिएको हो । यो सडक निर्माणको काम ठेक्का लागेको अढाई वर्षमा बल्ल ४० प्रतिशत काम भएको छ ।
पश्चिम खण्डको अवस्था झन नाजुक छ । त्यहाँ बिटुमिनको मौज्दात शून्यमा झरेको छ । पश्चिम खण्डका प्रमुख जगत प्रजापतिले चैत महिनामा लक्ष्यको आधा मात्रै प्रगति भएको बताउँदै असारसम्मको निर्धारित लक्ष्य भेट्टाउन असम्भव देखिएको स्वीकार गरे । यो सिजन कामले रफ्तार लिनुपर्ने भए पनि मूल्यवृद्धि, इन्धन अभाव र बिटुमिन अभावले काम सुस्त भएको उनी बताउँछन् । यो खण्डमा मासिक ४ प्रतिशत काम हुनुपर्ने हो । तर, चैत महिनामा दुई प्रतिशत मात्रै भएको उनले बताए । ‘यो समय विगतमा काम ढिला भएको पनि रिकभर गर्ने समय थियो । तर, अहिले बिटुमिन अभाव र मूल्यवृद्धिले काम सुस्त छ । असारसम्म ६० प्रतिशत पुर्याउने लक्ष्य थियो । तर, पुग्ने अवस्था देखिएन,’ उनी भन्छन्, ‘मूल्यवृद्धिले निर्माण कम्पनी पनि टिक्ने अवस्था छैन । फागुनदेखि जेठसम्म सबैभन्दा धेरै काम हुनुपर्ने हो । तर, यही समयमा काम अपेक्षित हुन सकेन ।’
निर्माणको जिम्मा लिएका निर्माण कम्पनीहरूले अहिलेको मूल्यवृद्धि र अभावलाई थेग्न नसक्ने भन्दै काम नै स्थगित गर्ने चेतावनी दिएका छन् । सिआरएफजी–टुन्डी जेभीका प्रोजेक्ट मेनेजर डोरमनी पौडेलले भारतबाट बिटुमिन ल्याउन एलसी खोले पनि पैसा फिर्ता आएको र एक महिनादेखि कालोपत्रेको काम ठप्प भएको बताए ।
‘हामीसँग बिटुमिनको एउटा थोपो पनि बाँकी छैन,’ पौडेलले भने, ‘इन्धनको मूल्य पनि आकाशिएको छ । अहिले बर्खामा बाटो नबिग्रियोस् भनेर सिमेन्टको सामान्य काम मात्रै गरिरहेका छौँ । यस्तै अवस्था रहे आगामी दुई महिना काम नै रोक्नुपर्ने अवस्था छ ।’
एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन यो सडक ०८३ माघभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौता छ । तर, अन्तर्राष्ट्रिय बजारको बढ्दो महँगी र अभावको कारणले विकासको यो गतिलाई ब्रेक लगाइदिएको छ, जसले गर्दा सर्वसाधारणले अझै केही वर्ष धुलो र हिलोको सास्ती खेप्नुपर्ने जोखिम बढेको छ ।
काँकडभिट्टादेखि लौकहीसम्मको १२० किलोमिटर सडक ठेक्कामा लगाउने योजना भए पनि सुनसरीको लबीपुरसम्मको ९५ किलोमिटर मात्रै ठेक्का लागेको हो ।
९५ किलोमिटर सडक विस्तार र यसमा पर्ने पुल निर्माणका लागि २ कार्तिक ०८० मा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार सम्पन्न मिति भने १९ माघ ०८३ छ । ठेक्का २ कात्तिक ०८० मा लागेको भए पनि सम्झौता मितिले काम माघदेखि सुरु भएको हो । पूर्वीखण्ड अर्थात झापा काँकभिट्टादेखि झापाकै कमल गाउँपालिकास्थित केर्खासम्मको ४५ किलोमिटर सडक पर्दछ । ४५ किलोमिटर सडक निर्माणको ठेक्का भने १० अर्ब ६ करोडमा एभरसकोन–कालिका जेभीले लिएको हो । यो सडक निर्माणको काम ठेक्का लागेको अढाई वर्षमा बल्ल ४० प्रतिशत काम भएको छ । यस्तै, यो खण्डमा कन्काई, निन्दा र बिरिङ नदीको पुलको काम २१ प्रतिशत मात्र सम्पन्न भएको छ । यी तीन पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले ५ अर्ब ९७ करोडमा ठेक्का लिएका छन् । पुल निर्माणको काम २६ प्रतिशत मात्र भएको काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वीखण्ड)ले जनाएको छ ।
यस्तै, पश्चिम खण्डमा केर्खादेखि पश्चिम सुनसरीको लबीपुरसम्म पर्छ । केर्खादेखि पश्चिम मोरङको गोठगाउँसम्मको ४० किलोमिटर सडक सिआरएफजी–टुन्डी जेभीले ९ अर्ब १३ करोडमा ठेक्का लिएको छ । गोठगाउँदेखि लबीपुरसम्मको १० दशमलव ७६ किलोमिटर कोभेक–सिआरइजिसी–टुन्डी जेभीले ४ अर्ब ७ करोडमा ठेक्का लिएको छ । पश्चिम खण्डमा पर्ने रतुवा, बक्राहा र लोहेन्द्र नदीमा पुल निर्माण भइरहेको छ । यो पुल निर्माणका लागि कोभेक–सिआरइजिसी–टुन्डी जेभीले ५ अर्ब ६५ करोडमा ठेक्का लिएको छ । यस खण्डमा सडक निर्माणको काम ३६ प्रतिशत र पुल निर्माणको काम ३२ प्रतिशत मात्रै भएको काँकडभिट्टा–लौकही सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ ।




