दमक ।
मंगलबार एकैदिन झापा, बर्दिया र ललितपुरमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।
प्रहरी स्रोतका अनुसार झापाको दमक नगरपालिका–९ अडियामलकी ३८ वर्षीया लिलामाया धिमालको करेन्ट लागेर मृत्यु भएको हो ।
घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते धिमालको स्थानीय निम्स अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान नै बर्दियाको बारबार्दिया नगरपालिका–२ नारायणपुर बस्ने २९ वर्षीय अनमोल चौधरीको करेन्ट लागेर मृत्यु भएको हो ।
चौधरीको आफ्र्न घरमा रहेको विद्युतीय मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएपछि उपचारका क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा मृत्यु भएको हो ।
यस्तै मंगलबार बिहान नै ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोको नख्खु खोलास्थित बिजुलीको पोल निकाल्ने क्रममा हाइटेन्सन लाइनको तारमा फलामको रडले छुँदा बागमती गाउँपालिका–४ प्युटारका ७३ वर्षीय युद्धप्रसाद बजगाईंको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।




