प्रजापति सापकोटा दमकका परिचित जनप्रतिनिधि हुन् । उनी दोस्रो कार्यकालका लागि दमक नगरपालिका–२ को वडाध्यक्ष बनेका छन् । जनतासँग नजिक भएर काम गर्ने भएका कारण पनि उनी आफू सबैमाझ परिचित भएको बताउँछन् । पहिलो कार्यकालदेखि नै उनी दमकको यातायात व्यवस्थापनको नेतृत्व गर्दै आएका छन् । वडाध्यक्ष सापकोटासँग दमक २ को वडाकार्यालयले गरेको सेवा प्रवाह, दमक २ को विकास, सुशासनलगायत सन्दर्भमा सप्ताहिक बहसका लागि समाचार प्रमुख सन्तोष विष्टले गरेको कुराकानी :
दमक– २ को वर्तमान अवस्था र मुख्य चुनौतीहरू के–के छन् ?
दमक – २ मा विकास निर्माण तथा योजनासम्बन्धी कामहरू अगाडि बढाइएका छन् । केही योजनाको थालनी पनि गरिएको छ । विशेषगरी विभिन्न सडक तथा बाटो निर्माणका कामहरू सञ्चालनमा छन् । तर, धेरैजसो बाटाहरूको अवस्था अझै असहज रहेकाले आवतजावतमा समस्या भइरहेको छ । जसलाई सुधार गर्नु आवश्यक देखिन्छ । यसका साथै, बढ्दो महँगीका कारण छुट्याइएको बजेट पर्याप्त नहुन सक्ने चिन्ता पनि छ । केही योजनामा काम तीव्र रूपमा अघि बढिरहेको भए पनि कतिपय योजनामा केबल सुरुवात मात्र भएको छ र वास्तविक प्रगति न्यून छ । केही स्थानमा ५ देखि १० प्रतिशत मात्र काम सम्पन्न भएको अवस्था छ ।
अब आर्थिक वर्ष सकिन करिब दुई महिना मात्र बाँकी रहेकाले समयमै काम सम्पन्न गर्नु प्रमुख चुनौती बनेको छ । त्यसैले निर्माण कार्यलाई तीव्रता दिनु, बजेटको प्रभावकारी व्यवस्थापन गर्नु र योजनाहरू समयमै सम्पन्न गर्नु अहिलेको मुख्य आवश्यकता हो ।
तपाईंले नौ वर्षको नेतृत्वकालमा गरेका सबैभन्दा महत्त्वपूर्ण विकास कार्यहरू कुन–कुन हुन् ?
मेरो नेतृत्वकालमा सबैभन्दा महत्वपूर्ण कार्य शिक्षा क्षेत्रको सुधारलाई प्राथमिकतामा राख्नु थियो । वडाअध्यक्ष बनेलगत्तै यहाँको हिमालय माध्यमिक विद्यालयलाई नमूना विद्यालयका रूपमा विकास गर्न पहल गरिएको थियो । त्यसका लागि विद्यालयका शिक्षकहरूसँग समन्वय गरी आवश्यक विधान, प्रस्तावना तथा नियमावली तयार पारियो र सरकारसमक्ष पेश गरियो । फलस्वरूप विद्यालयलाई नमूना विद्यालयको मान्यता दिलाउन सफल भयौँ । यस पहलसँगै विद्यालयका लागि प्रत्येक वर्ष करिब डेढ करोड रुपैयाँ बजेट आउने व्यवस्था पनि सम्भव भयो । हाल सो विद्यालयको भौतिक तथा शैक्षिक सुधारका कामहरू हाम्रो पहुँच र क्षमताअनुसार अगाडि बढाइरहेका छौँ ।
तर, शिक्षा क्षेत्रमा अझै पनि विभिन्न चुनौतीहरू छन् । सरकारको नीति र व्यवस्थापन पक्ष प्रभावकारी हुन नसक्दा विद्यालय सञ्चालनमा कठिनाइ देखिएको छ । उदाहरणका लागि, विद्यालयमा ३४ जनाको मात्र दरबन्दी भए पनि १२० जना शिक्षक कार्यरत छन् । अतिरिक्त शिक्षकहरूको तलब व्यवस्थापन कसरी गर्ने भन्ने समस्या रहेको छ ।
त्यस्तै, नगरपालिकाले निःशुल्क शिक्षा घोषणा गरे पनि विद्यालय भवन निर्माण, शिक्षक तलब व्यवस्थापन तथा समग्र शैक्षिक पूर्वाधार सुदृढीकरणमा अपेक्षित ध्यान पुग्न सकेको छैन । त्यसैले शिक्षा क्षेत्रलाई व्यवस्थित, गुणस्तरीय र दिगो बनाउन अझै धेरै काम गर्नुपर्ने अवस्था छ ।
आम्दा रोड पहिले धेरै खाल्डाखुल्डी भएको बाटो थियो, मोटरसाइकल चलाउँदा मानिस लड्ने र भैँसीसमेत पस्ने अवस्था थियो । क्याम्पस मोडदेखि पाङ्मी चौकसम्मको सडक हामीले पहिलो प्राथमिकतामा राखेर निर्माण ग¥यौँ । त्यसपछि हिमावि–ढुकुरपानी तथा हिमावि–खजुरगाछी हुँदै मधुमल्लासम्मका सडक पनि निर्माण ग¥यौँ, जुन अहिले राम्रो पिच सडक बनेका छन् । पुराना सडकमा अहिले खाल्डाखुल्डी परेकाले मर्मतका लागि नगरपालिकामा बजेट छुट्याएका छौँ । तर, ठेक्का प्रक्रिया र महँगीका कारण काम ढिलाइ भएको छ ।
वडाभित्र रहेका ८ वटा टोल विकास संस्थामा धनीपूर्जा नभएका र ऐलानी जग्गामा बसोबास गर्ने सुकुम्बासी परिवारलाई बर्खायाममा बाढीको जोखिम थियो । त्यसलाई ध्यानमा राख्दै रतुवा क्षेत्रमा बाँध निर्माण गरेका छौँ । साथै, वडाध्यक्ष हुँदा कार्यालय भवन नभएकाले पहिलो कार्यकालमा पुरानो भवन मर्मत गरी प्रयोग ग¥यौँ भने दोस्रो कार्यकालमा नयाँ वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गरेका छौँ । हामीले धेरै काम गरेका छौँ । उदाहरणका लागि, लादे सिमसार क्षेत्रमा केन्द्रीय सरकारबाट ५० लाख रुपैयाँ ल्याएर पोखरी निर्माण गरेका छौँ । प्रदेश सरकारमार्फत इन्टरलक टायल बिछ्याउने काम भएको छ । त्यहाँ सक्रिय महिला समूह पनि छ, जसले अहिले पनि विभिन्न काम गरिरहेको छ ।
यति मात्र होइन, बाटाघाटा लगायतका थुप्रै विकास निर्माणका कामहरू आफ्नै पहलमा सम्पन्न गरेका छौँ । यसै कार्यकालमा मात्र सङ्घीय सरकारबाट २७ करोड रुपैयाँ बजेट ल्याउन सफल भएका थियौँ । पछि कटौती भएर १४ करोड रुपैयाँ आए पनि त्यसअन्तर्गत अहिले काम भइरहेको छ । तर, यी योजनाहरू वडाध्यक्षको पहलमा आएका हुन् भन्ने कुरा जनताले स्पष्ट रूपमा बुझ्न सकेका छैनन् ।
जनप्रतिनिधिहरूले काम गर्दा प्रशंसाभन्दा आलोचना बढी किन हुन्छ ?
विकास निर्माणका कार्य गरिरहँदा हामीले प्रभावकारी रूपमा प्रचारप्रसार गर्न सकेनौँ । गरेका कार्यक्रम, वडाध्यक्षले गरेका पहल र उपलब्धिहरू जनताको मनसम्म पुग्ने गरी प्रस्तुत गर्न सकेनौँ । पत्रकारहरूलाई जानकारी गराउने, मिडियामार्फत समाचार प्रवाह गर्ने तथा जनतासम्म सन्देश पु¥याउने पक्षमा हाम्रो कमजोरी रह्यो । त्यसैले काम धेरै हुँदा–हुँदै पनि त्यसको उचित मूल्यांकन हुन सकेन ।
आफ्नो नौ वर्षे कार्यकाललाई समग्रमा कसरी मूल्यांकन गर्नुहुन्छ ?
मैले अब्बल काम गरेको छु । म आफूलाई १०० मा १०० दिन्छु । सकेसम्म कुनै किसिमको कमीकमजोरी गरेको छैन । मैले ४० वर्षदेखि यातायात क्षेत्रबारे बुझेको छु र पर्याप्त अनुभव पनि छ । म नगरको यातायात व्यवस्थापन समितिमा पनि छु ।
मैले समितिमा उठाएका विषयहरूमा मेयर साबले कहिलेकाहीँ ‘समिति ठूलो कि मेयर ठूलो ?’ भन्ने गर्नुहुन्छ । कतिपय बैठकमा मैले नोट अफ डिसेन्टसमेत लेखेको छु । मैले जबजरस्ती एकतर्फी सवारी पार्किङको अवधारणा ल्याएँ । जसले राम्रो प्रभाव पारेको छ ।
एउटा सफल जनप्रतिनिधि बन्न के के कुरा आवश्यक रहेछ ?
सफल जनप्रतिनिधि हुन अहिले मैले देखेको कुरा के हो भने, आफ्ना अगाडि–पछाडिका साथीभाइलाई सन्तुष्ट राख्नुपर्छ भन्ने सोच हाबी भएको छ । आफ्नो प्रचार आफैँ गर्न सक्नुप¥यो, खाएको, हिँडेको फोटो सबैलाई देखाउन सक्नुप¥यो भन्ने प्रवृत्ति बढेको छ । कुनै निर्णय गर्नुप¥यो भने आफू जुन समितिको संयोजक छ, त्यसैको अधिकार प्रयोग गरेर आफ्नै ठाउँका लागि मात्र गर्नुप¥यो भन्ने मानसिकता देखिन्छ । जस्तै, पूर्वाधार समितिमा भए सबै बजेट आफ्नै वडामा खन्याउनुप¥यो भन्ने सोच छ । तर, मैले सधैँ भन्दै आएको कुरा के हो भने काम आवश्यकताका आधारमा हुनुपर्छ, पहुँचका आधारमा होइन ।




